नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेको ‘सङ्कीर्णता’
टेक्सस/ नेपाली समाज टेक्सस (एनएसटी) का अध्यक्ष राजेन्द्र वाग्ले पछिल्ला दिनहरूमा अत्यन्त सङ्कीर्ण देखिएका छन्। उनले व्यक्तिगत रिसिइबिका लागि संस्थागत दुरुपयोग समेत गर्ने गरेको पाइएको छ। कतिपयले यसलाई घमन्डको उन्माद समेत भनेका छन्।
एनएसटी अमेरिकामा क्रियाशील नेपाली संस्थाहरूमा सक्रिय मध्येमा एक हो। यो डालस फोर्थ वोर्थ (डीएफडब्लु) एरियाको युलेस सिटीमा कार्यरत छ। नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (एनसीएससी) को भवनमा कार्यालय रहेको एनएसटीमा वाग्ले दोस्रो कार्यकालमा कार्यरत छन्।
तर पहिलो कार्यकालको तुलनामा वाग्ले दोस्रो कार्यकालमा बढी विवादित बनेका छन्। वाग्लेकै रवैयाका कारण धेरैले उनको साथ छोडेको बताएका छन्।
‘घमन्ड, तिकडम, नेता पल्टिनु पर्ने, आलोचना सहन नसक्ने, सबैले हस् भनिदिनु पर्ने, शून्य भिजन र ज्ञान, मान्छेलाई युज एन्ड थ्रो गर्नु पर्छ, उ मात्र जान्ने सिपालु भन्ने माइन्ड सेट होला मेरो विचारमा’ एनएसटीकै एक पदाधिकारीले आफ्नो नाम समाचारमा नलेख्ने सर्तमा समाज टाइम्सलाई पठाएको लिखित जवाफमा भने, ‘मैले त राजेन्द्र वाग्ले एनएसटीको इतिहासमा ऐतिहासिक भुल हो भनेर हिँडेको।’
हुन पनि वाग्ले कति सङ्कीर्ण छन् र उनले संस्थागत निर्णय कसरी गर्छन् भन्नका लागि संस्थाको आधिकारिक फेसबुक पेजमा पोस्ट डिलिट र रि पोस्टलाई हेर्दा प्रस्ट हुन्छ।
घटना विवरण अनुसार संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्यु योर्क आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एनएसटीको तर्फबाट भेट्ने समय मिलाउने सम्बन्धमा वाग्ले र प्रवासी नेपाल मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिचको संवाद भनाभन सम्म पुगेको बताइएको थियो।
अमेरिकामा रहेका नेपाली समुदायलाई प्रधानमन्त्री ओलीले गर्ने भनिएको सम्बोधन ‘सुरक्षा थ्रेट’ भन्दै आयोजकले स्थगित गरेका थिए।
त्यही समयमा वाग्लेले सञ्जय थापालाई प्रधानमन्त्रीको समय मिलाउन भनेका थिए। वाग्लेले धेरै नेपालीको बसोबास रहेको टेक्ससमा कन्सुलर राख्ने माग सहित आफूहरूले ज्ञापन पत्र बुझाउन चाहेको बताएका थिए।
जवाफमा थापाले धैर्य गर्न भनेका थिए। ‘तपाईँहरूले भनेकै समयमा प्रधानमन्त्रीको समय त कहाँ मिल्छ र कि तपाईँहरूले कूटनीतिक रूपमा पहिल्यै समय लिनु पर्ने थियो, अब त कुर्ने हो र जुन समय मिल्छ त्यही बेला भेट्ने हो।’
वाग्लेले भोली बिहानै आफूहरूको टेक्सस फर्किने प्लेन टिकट भएकाले भर्खरै भेट्न पाउनु पर्ने भने पछि थापाले ‘तपाई प्रधानमन्त्री भेट्न आएको कि प्रधानमन्त्रीले तपाईँलाई भेट्न आएको’ भनेर सोधेका थिए।
त्यही समयमा थापाले यस पटक कन्सुलर क्यालिफोर्नियामा स्थापना हुने कुरा लगभग अन्तिम चरणमा पुगेको आफूले सुनेको बताएका थिए।
त्यस पछि थापा र वाग्ले बिच भनाभन भएको थियो। नेपाल देखि नै राजनीति गर्दै आएका थापा र वाग्ले एउटै पार्टी निकट हुन्। अमेरिकामा पनि दुवै जनाले प्रवासी नेपाली मञ्चमा आबद्ध हुन। प्रवासी नेपाली मञ्च एमाले निकट संस्था हो।
आफूहरू बिचमा भनाभन भएको मञ्चका अध्यक्ष थापाले स्वीकारे। वाग्ले भने पटक पटकको प्रयासमा पनि समाज टाइम्सको सम्पर्कमा आउन चाहेनन्।
भोली पल्ट बिहानै वाग्ले र एनएसटीका महासचिव विजय भुसाल टेक्सस फर्किए। दिउँसो एनएसटीका पूर्व अध्यक्ष दिनेश शर्मा, प्रवक्ता किरण पौडेल लगायतले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाए।
प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको फोटो सहितको पोस्ट एनएसटीको फेसबुक पेजमा पोस्ट भएको थियो। तर केही समयमा नै त्यो पोस्ट ‘डिलिट’ गरियो। त्यस पछि पुन भएको पोस्टमा सञ्जय थापाको नाम हटाइएको छ भने थापा देखिएको फोटो क्रप गरिएको छ।
महासचिव भुसालले यस बारेमा आफूलाई कुनै जानकारी नभएको बताए। उनले न्यु योर्कमा थापा र वाग्ले बिचमा भनाभन भएको सत्य नभएको बताए। यस्तै आफूहरू सन्केर हिँडेको भन्न नमिल्ने दाबी पनि भुसालले गरे। ‘हामीले हवाई टिकट सार्नका लागि प्रयास गर्यौ त्यो सम्भव नभए पछि साथीहरूलाई जिम्मा लगाएर हिँडेका हौ, सन्केर हिँड्यो भन्ने कुरा सरासर गत हो।’ भुसालले भने।
त्यसो हो भने फेसबुक पेजमा डिलिट र रि पोस्टमा थापालाई नै किन लक्षित गरियो भन्ने प्रश्नमा महासचिव भुसालले त्यस बारेमा आफू अनविज्ञ रहेको बताए। ‘यो बारेमा अध्यक्ष र प्रवक्तालाई थाहा होला म संलग्न छैन’
हवाई टिकट कै कारण प्रधानमन्त्रीलाई भेट्न नमिलेको भन्ने महासचिव भुसालको तर्क आफैमा हास्यास्पद भएको एनएसटीकै पदाधिकारीले टिप्पणी गरेका छन्। न्यु योर्क देखि टेक्सस दैनिक सयौँ उडान हुन्छन् र टिकट पनि केही सय डलरमा पाइन्छन्। कन्सुलर स्थापना गर्ने महान् अभियानमा लागेका सामाजिक अभियन्ताले केही सय डलर बचाउन प्रधानमन्त्री सँगको भेट मिस गरे त ? भन्ने प्रश्न पदाधिकारीले उठाएका छन्।
‘म ठुलो मान्छे हुँ, नेपालका प्रधानमन्त्रीले मलाई सोझै भेट दिनु पर्छ भन्ने दम्भ वाग्लेमा देखिन्छ।’ वाग्ले कार्यसमितिकै एक सदस्यले समाज टाइम्स सँग भने।
प्रवक्ता किरण पौडेलले यो प्रकरणमा आफू धेरै नबोल्ने बताए। ‘ मैले पहिले पनि भनेको थिए यो साधारण रूपमा बुझेको छु, यो मानवीय त्रुटि बाहेक केही होइन भनेर बुझिदिनु होला, यो सिम्पल विषय हो समाचार बन्दैन।’ पौडेलले भने।
उनले पोस्ट कसले डिलिट गरेको हो र कसले रि पोस्ट गरिएको हो भन्न चाहेनन्। प्रवक्ता पौडेल पनि प्रवासी नेपाली मञ्च निकट हुन्।
मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले फोटो र नाम हटाउँदैमा आफूलाई फरक नपर्ने बताए। ‘साथीहरूलाई कन्सुलर स्थापनाका लागि मैले क्यालिफोर्नियाको पक्षमा लबिङ गर्यो भन्ने भ्रम परे जस्तो लाग्यो मैले त आफूले सुनेको कुरा बताइदिएको हुँ म दुवै ठाउँमा कन्सुलर चाहिन्छ भन्ने अडानमा छु।’ थापाले भने।
एनएसटीका उपाध्यक्ष बलराम पौडेलले भने यो प्रकरण संस्थाको आगामी बैठकमा उठान गर्ने बताए।
‘हामीले पनि त्यसलाई मध्यनजर गरेका छौ। अब हाम्रो बैठकमा गम्भीरता पूर्वक लिन्छौ।’ थापाले भने, ‘यो कुरा बैठकमा उठाउँछौ। फोटो क्रप किन भयो। व्यक्तिगत भन्दा पनि संस्थागत रूपमा कुनै पनि संस्थामा व्यक्ति हाबी हुनुहुदैंन् सबैलाई मिलाएर जानु पर्छ। यसले समाजमा नराम्रो असर परेको छ।’ उनले भने।
उपाध्यक्ष पौडेलले प्रवक्ता महासचिव र अध्यक्ष सँग जवाफ मागिने बताए। ‘सोसाइटीको पेज हामी सबैको हो, उहाँहरूलाई चलाउन दिएको हो, व्यक्तिगत रिसिइबि संस्थागत हुन भएन।’
उनले कन्सुलर स्थापना सोचे जस्तो सजिलो नभएको र आवश्यक प्रक्रियामा पनि नगइएको बताए।
‘कन्सुलर स्थापनाका लागि लामो प्रक्रिया हुन्छ ज्ञापन पत्र बुझाएर मात्र आउने होइन। नेपालमा प्रधानमन्त्री क्षण क्षणमा फेरिन्छन्। हामी प्रक्रियामा नै गएका छैनौ।’ उपाध्यक्ष पौडेलले भने।
उनले हवाई टिकटकै कारण अध्यक्ष र महासचिवले प्रधानमन्त्रीलाई नभेटी आउनु गैर जिम्मेवारी पन भएको टिप्पणी गरे।
‘समाजमा लागिसके पछि जिम्मेवार पदमा बसेपछि त्यसो गर्न मिल्दैन, टिकटका लागि भनेर जिम्मेवार व्यक्तिले गैर जिम्मेवारी देखाउन भएन, जिम्मेवारपन पुरा गर्नु पर्थ्यो।’
खोलो तर्यो लौरो बिर्सियो
वाग्लेले एनएसटीको काममा सन्कीपन देखाएको यो पहिलो पटक भने होइन। यस अगाडि फागु पूर्णिमा अर्थात् ओलीको कार्यक्रममा पनि एनआरएनए एनसीसी अमेरिका र टेक्सस च्याप्टरको लोगो हटाएर सोझै आइसीसीको लोगो राखेका थिए।
यसै गरी विश्व कप खेल्न आएको राष्ट्रिय क्रिकेट टिमको सम्मानमा एनआरएनएले गरेको रात्रि भोज पनि उनले संस्थागत रूपमा नै बहिस्कार गर्न उर्दी दिएका थिए।
अत्यन्त व्यस्त क्रिकेट टिमलाई भोली पल्ट मन्दिर दर्शन गराउने नाममा भाषण गर्नेको ताती लगाए पछि मुख्य प्रशिक्षक मन्टी देसाईले बिचैमा उठेर ‘माफ गर्नु होला अहिले हामीलाई तपाईँहरूको भाषण सुन्ने समय छैन हामी जान्छौ’ भन्नु परेको थियो।
क्रिकेट टिमकै लागि भनेर त्योबेला उठाइएको पैसा कहाँ छ वाग्लेले अहिले सम्म सार्वजनिक रुपमा बोलेका छैनन्।
वाग्लेको रवैयाकै कारण उनलाई साथ दिएकाहरू क्रमशः टाढिँदै गएका छन्। एनएसटीका पूर्व अध्यक्ष भुवन आचार्य र दिनेश शर्मा बाहेक अन्यलाई उनले मान्छे गन्नै छोडेको उनका पूर्वसहकर्मीहरु बताउछन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका कोषाध्यक्ष सरोज सिग्देल, एनएसटीकै सचिव पुण्य पाण्डे, एनआरएनए अमेरिका टेक्सस च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईँ लगायत अहिले वाग्ले सँग छैनन्।
सिग्देल र पाण्डेले वाग्लेको विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरे। सिग्देल र वाग्लेको सम्बन्ध नेपाल देखि नै घनिष्ठ भएको बताइन्छ। तर अहिले उनीहरु बिच औपचारिक संवाद पनि पातलिदै गएको बताइएको छ।
एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईँ एनएसटी जस्तो संस्थाको अध्यक्षले सङ्कीर्ण सोच राख्नु दुखद भएको बत्ताउँछन्।
‘पाहुना जाँदा बोलाइएको मान्छेले भनेको कुरा मान्नु पर्ने थियो। मैले भनेको समय नै हुनु पर्छ भन्नु राजेन्द्र जीको गलत हो। न्यु योर्कमा धैर्य गर्ने साथीहरूले भोली पल्ट भेटेर आए। कोही कसै सँग रिस उठ्यो भन्दैमा संस्थागत रूपमा जान नहुने हो।’ गुरागाईँले समाज टाइम्स सँग भने, ‘यो हदको सङ्कीर्ण सोच राख्नु हुँदैन । संस्थाको अध्यक्ष भए पछि आलोचना पनि सुन्न सक्नु पर्छ।’
उनले वाग्लेबाट आफूहरू प्रताडित हुँदै आएको बताए। ‘सञ्जय जीको जे जस्तो भयो त्यो भन्दा बढी हामीले खेपेका छौ। क्रिकेट पछि होलीमा पनि एनआरएनएलाई बहिस्कार गरिएको छ। च्याप्टर र एनसीसीलाई बाइपास गरेर आइसीसीको लोगो राख्नु भयो। जुन समय आइसीसी पनि थिइन।’
गुरागाईँले वाग्लेले व्यक्तिगत रिसिइबिलाई संस्थागत बनाउने गरेको आरोप लगाए।
‘कोही मन परेन भने कति सम्म गर्नु हुन्छ भन्ने यसले पनि प्रमाणित गर्यो, हामी मात्र हौ अरू केही पनि होइन भन्ने छ।’ गुरागाईँले भने, ‘पहिलो कार्यकाल अन्तिम सम्म सँगै थियौ तर उहाँको व्यवहारले टुट्दै गयो।’
गुरागाईँले पनि टेक्ससमा कन्सुलर स्थापनाका लागि बाहिर हल्ला गरिए जस्तो पहल नै नभएको दाबी गरे।
‘नेपाल घुम्न गएको बेला ज्ञापन पत्र दिने फेसबुकमा फोटो टाँस्ने बाहेक अरू अगाडि बढेको देखिएन, कन्सुलर स्थापनाका लागि त प्रक्रिया हुन्छ, उहाँको कमजोरीले होला दर्ता नै गरेको रहेनछ ।’ गुरागाईँले भने ‘अब टेक्ससमा कन्सुलर राख्ने कुरा दश वर्ष पछाडि पुग्यो, अहिले क्यालिफोर्निया पुग्यो, राम्रै लबी भएको भए दुवै ठाउँमा हुन्थ्यो।’
प्रवासी नेपाली मञ्च अमेरिका अन्तर्गत टेक्सस च्याप्टरका अध्यक्ष राजु नेपालले वाग्ले सँग कुरा नगरी प्रतिक्रिया दिन नसकिने बताए।
‘नियतवशले नै गरिएको हो भने त्यस्तो गर्नु हुँदैन। अरू प्राविधिक गडबडी हो भने बुझ्न बाँकी छ। सबै जना हाम्रै साथी हुन्। किरण जी उपाध्यक्ष, राजेन्द्र राज्य कमिटीका पूर्व सचिव हो। विजय सदस्य हो। मनमुटाब हो भने मिलेर जानु पर्छ।’ नेपालले भने।
प्रवासी नेपाली मञ्च अमेरिकाका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय कमिटीका अमेरिका इन्चार्ज प्रभु थापाले वाग्लेले पनि वाग्लेमा सङ्कीर्णता देखिएको बताए।
‘कुनै पनि कुराको गलत प्रयोग गर्न हुँदैन। कि फोटो नै राख्न भएन तर क्रप गरेर राख्नु क्राइम नै हो। यो सङ्कीर्णता नै हो।’ थापाले भने।
उनले वाग्लेको नियत यो घटनाले प्रस्टाएको बताए।
‘जुन संस्थाको अन्तर्राष्ट्रिय अध्यक्ष हुनुहुन्छ सञ्जय जी त्यही संस्थाको सदस्य उहाँ आफै हुनुहुन्छ। आफ्नो अध्यक्षको फोटो क्रप गर्नु भनेको उहाँको नियत हैसियत त्यसै प्रस्ट भएन र, मैले केपी ओलीको फोटो क्रप गरे के हुन्छ म त सक्दिन।’
थापाले प्रधानमन्त्री सँगको भेट बहाना मात्र भएको बताए। ‘सारा मान्छेले भेटेका छन्। उहाँले भनेको टाइममा नै मिलाउने भन्ने त हुँदैन जुनसुकै समयमा हुन्छ।’ थापाले भने, ‘उहाँले टाइम लिएर आउनु भएको थिएन। उहाँको आवश्यकता हो भने त तीन दिन पनि कुर्नु पर्यो नि।’
‘उहाँहरू डिसी बाल्टिमोरमा तीन चार दिन रहल्लिएर हिँड्नु भएको छ। अनि न्यु योर्कमा पुग्ना साथ प्रधानमन्त्रीले समय दिनु पर्ने ? प्रधानमन्त्री शुक्रवार आउनु भएको हो शनिवार नै भेट्न गएको हुन्थ्यो। डिसीमा किन रहलिनु भयो। उहाँको चाहाना नियत के हो?’ थापाले प्रश्न गरे, ‘डिसी र बाल्टिमोर भन्दा त प्रधानमन्त्रीको भेट महत्त्वपूर्ण थियो होला नि किन डिसी र बाल्टिमोरमा किन रहलिनु भयो।’
थापाले वाग्ले माथि खोलो तर्यो लौरो बिर्सियो रणनीतिमा लागेको आरोप लगाए।
‘चुनावमा हामीले पुरै सहयोग गरेको हो। टेक्ससको साथी रुष्ट हुँदा हुँदै पनि सहयोग गर भनेको हो।अहिले सिटी काउन्सिल हुनु छ। टीका पौडेल पछि, ओएनएफ भए चुनाव जितिँदैन भन्ने होला।’ थापाले भने, ‘त्यस्तो हो भने संस्था छोडिदिए भो नि माधवकुमार नेपालले छोड्दा पनि पार्टी चलेकै छ भीम कार्की ओएनएफको संस्थापक हो उहाँले छोड्दा पनि संगठन चलिरहेको छ। बहाना गर्नै पर्दै मैले छोडे भनिदिए भई गयो नि।’
थापाले वाग्लेको रवैया समेत ठिक नभएको बताए। ‘अन्त रहल्निनु अनि भनेकै समयमा प्रधानमन्त्रीलाई भेट्न पार्नु पर्छ भन्ने कुन चैँ रवैया हो, अनि गएर फोटो डिलिट गर्ने।’
प्रवासी मञ्चकी नेतृ तथा एनएसटीकी पूर्व उपाध्यक्ष यमुना भट्टराईले पनि राजेन्द्र वाग्लेमा सङ्कीर्णता बढेको आफूलाई महशुस भएको प्रतिक्रिया दिइन्।
‘प्रवक्तालाई दिएको जिम्मेवारी प्रवक्ताले राखी सके पछि तत्काल डिलिट नै गर्नु पर्ने अवस्था पर्दैन थियो की भन्ने मलाई पनि लागेको हो।’ भट्टराईले भनिन्, ‘त्यस पछि फोटो क्रप भएर सञ्जय थापा हराउनु भयो भन्ने आयो मलाई एकदम सङ्कीर्ण भएर केही साथीहरूले गरिदिनु भयो भन्ने लागेको छ।’
भट्टराईले कन्सुलर ल्याउन पर्छ भन्ने सबैको चाहाना रहेको र सबै सँग मिलेर काम गर्दा राम्रो हुने धारणा राखिन्।
‘कता कता अप्ठेरो लागेको छ। छोटो सोच भयो की भन्ने पनि छ।’ उनले भनिन्, ‘वाग्लेलाई वरिष्ठ उपाध्यक्ष हुँदा देखि नै ओएनएफका साथीहरूले सहयोग गर्नु भयो मैले पनि सहयोग गरेकै हो। सङ्गठनकै सहयोगबाट त्यहाँ पुग्नु भएको हो सञ्जय थापाले पनि सहयोग गर्नु भएको हो। आफ्नो धरातल नबिर्सिए हुन्थ्यो भन्ने हो।’
‘म जत्तिको ठुलो मान्छे कोही छैन भन्ने गरेको टेक्सस बासीले अनुभव गरेका छन्। घमन्ड गर्ने मान्छे धेरै टाढा जान सक्दैन।’ स्थानीय सफल व्यवसायी रहेकी भट्टराईले भनिन्।
एनएसटीका अर्का सदस्यले वाग्लेलाई अब नेपाली मान्छे नै चाहिँदैन भन्ने भ्रम देखिएको बताए। ‘उनी मूलधारको राजनीतिमा जाने सोचमा छन्, उनलाई अब नेपाली समाज किन चाहियो भन्ने पनि लागेको होला तर दिनेश शर्माको उदाहरण उनले बिर्सिए जस्तो छ। हामीले राम राम मात्र भन्न सक्छौ।’ ती सदस्यले भने।