अमेरिकामा स्वास्थ्य बीमा विस्तार गर्ने डेमोक्र्याटिक पार्टीको योजना, मेडिकेयरको उमेर सीमा ५५ वर्षमा झार्ने प्रस्ताव
कार्लाल, पेन्सिल्भेनिया / आगामी जनवरीदेखि अमेरिकी संसदको नियन्त्रण सम्हाल्न लागेको डेमोक्र्याटिक पार्टी स्वास्थ्य बीमा कार्यक्रम मेडिकेयरको पहुँच थप नागरिकसम्म विस्तार गर्ने योजनामा एकमत हुँदै गएको छ।
पार्टीका प्रगतिशील र मध्यमार्गी दुवै धारका नेताहरूबीच सहमति जुट्न थालेपछि आगामी वर्ष ‘मेडिकेयर फर मोर’ कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने तयारी गरिएको हो।
स्वास्थ्य सेवाको लागत तत्काल घटाउने विषयमा सहमति देखिए पनि दीर्घकालीन रूपमा सबै अमेरिकी नागरिकलाई सरकारी स्वास्थ्य बीमाको दायरामा ल्याउने ‘मेडिकेयर फर अल’ कार्यक्रम अघि बढाउने वा नबढाउने भन्ने विषयमा पार्टीभित्र मतभेद कायम छ।
गत साता डेमोक्र्याटिक पार्टीले आगामी कार्यकालका लागि प्रतिनिधिसभाको सभामुख उम्मेदवार बनाएका न्युयोर्कका सांसद हाकिम जेफ्रिजले मेडिकेयर कार्यक्रममा सुधार गर्ने प्रस्ताव सार्वजनिक गरेका थिए।
उनको प्रस्तावअनुसार मेडिकेयरमा सहभागी हुन पाउने उमेर ६५ वर्षबाट घटाएर ५५ वर्ष बनाउने, १८ वर्षमुनिका बालबालिकालाई स्वास्थ्य बीमाको दायरामा ल्याउने तथा दाँत, आँखा र श्रवण उपचारसम्बन्धी सुविधाहरू विस्तार गर्ने योजना रहेको बताइएको छ ।
जेफ्रिजले रिपब्लिकन पार्टीको ‘वन बिग ब्युटिफुल बिल एक्ट’ मार्फत मेडिकेड कार्यक्रममा गरिएको बजेट कटौती उल्ट्याउने र गत वर्षको अन्त्यमा समाप्त भएको अफोर्डेबल केयर एक्ट ‘एसीए’ अन्तर्गतको अतिरिक्त स्वास्थ्य बीमा प्रिमियम कर छुट पुनःस्थापना गर्नुपर्ने विषयलाई पनि तत्कालको प्राथमिकतामा राखेका छन्।
यसअघि डेमोक्र्याटिक पार्टीभित्र ‘मेडिकेयर फर अल’का समर्थक र निजी स्वास्थ्य बीमा प्रणालीलाई कायम राख्दै क्रमिक सुधार गर्न चाहने नेताहरूबीच मतभेद रहँदै आएको थियो।
त्यस्तै, मिशिगनमा सिनेटका लागि निर्वाचित अब्दुल एल–सयदजस्ता उम्मेदवारहरूको सफलताले प्रगतिशील नेताहरूलाई थप उत्साहित बनाएको छ। आगामी कार्यकालमा प्रतिनिधिसभा र सिनेटका प्रगतिशील सांसदहरूले सबै नागरिकका लागि एउटै सरकारी स्वास्थ्य बीमा प्रणाली लागू गर्ने अभियानलाई थप जोड दिने अपेक्षा गरिएको छ।
यद्यपि तत्कालका लागि पार्टीभित्रका दुवै धारका नेताहरू साझा मध्यमार्गी योजनामा सहमत देखिएका छन्। कांग्रेसको प्रोग्रेसिभ ककस ‘सीपीसी’ मा आबद्ध सांसदहरूले जेफ्रिजको प्रस्तावलाई स्वागत गरेका छन्। उनीहरूले यसलाई सबै नागरिकलाई समेट्ने एकल सरकारी स्वास्थ्य बीमा प्रणालीतर्फको पहिलो कदमका रूपमा मात्र लिएका छन्।
फ्लोरिडाका डेमोक्र्याटिक सांसद तथा सीपीसी सदस्य म्याक्सवेल फ्रोस्टले जेफ्रिजको तत्कालीन मेडिकेयर विस्तार योजना कार्यान्वयन गर्न सकिने बताएका छन्।
मेडिकेयर विस्तारको क्रमिक योजनालाई सिनेटर बर्नी स्यान्डर्सले पनि समर्थन गरेका छन्। स्यान्डर्स लामो समयदेखि ‘मेडिकेयर फर अल’ अभियानका प्रमुख समर्थक रहँदै आएका छन्। आगामी कार्यकालमा उनी सिनेटको स्वास्थ्य, शिक्षा, श्रम तथा पेन्सनसम्बन्धी समितिको अध्यक्ष बन्ने अपेक्षा गरिएको छ।
निर्वाचनलगत्तै स्यान्डर्सले आफ्नै स्वास्थ्य बीमा सुधार योजना पनि सार्वजनिक गरेका थिए। उनको योजनामा मेडिकेयरमा सहभागी हुने उमेर १० वर्ष घटाउने, दाँत र आँखाको उपचारलाई पनि मेडिकेयरमा समावेश गर्ने तथा १९ वर्षसम्मका सबै बालबालिकालाई स्वास्थ्य बीमाको सुनिश्चितता गर्ने प्रस्ताव छ।
राष्ट्रपति डोनाल्ड ट्रम्प अझै दुई वर्ष पदमा रहने भएकाले आगामी दुई वर्षभित्र स्वास्थ्य सेवा प्रणालीमा ठूलो परिवर्तन गर्न कठिन हुने विश्लेषण गरिएको छ। स्वास्थ्य बीमा विस्तारका समर्थकहरूले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै अहिलेबाटै आफ्नो राजनीतिक एजेन्डा स्थापित गर्न खोजिरहेका छन्।
आगामी कांग्रेसमा मेडिकेयर विस्तारको प्रस्तावले गति लिएमा प्रगतिशील नेताहरूले मेडिकेयर फर अलतर्फ ठोस प्रगति भएको हेर्न चाहेको बताइएको छ ।
प्रतिनिधिसभाका नेता जेफ्रिज र सिनेटका डेमोक्र्याटिक नेता चक शुमरले अहिलेसम्म मेडिकेयर फर अल योजनालाई औपचारिक समर्थन गरेका छैनन्। यसले सन् २०२८ को राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्र पुनः मतभेद सिर्जना गर्न सक्ने देखिएको छ।
यद्यपि राष्ट्रपति ट्रम्पको कार्यकालमै ‘मेडिकेयर फर अल’सम्बन्धी विधेयकलाई प्रतिनिधिसभा वा सिनेटमा छलफलका लागि प्रस्तुत गर्न सके यसले सन् २०२८ को निर्वाचनमा स्वास्थ्य बीमालाई प्रमुख राजनीतिक बहसको विषय बनाउन सक्नेछ।
स्वास्थ्य उपचारको बढ्दो खर्च धान्न कठिनाइ भोगिरहेका अमेरिकी नागरिक र परिवारबीच ‘मेडिकेयर फर अल’ योजनाको लोकप्रियता बढ्दै गएको छ।
सेप्टेम्बरमा सार्वजनिक गरिएको ‘केएफएफ’को सर्वेक्षणअनुसार करिब दुईतिहाइ अमेरिकी नागरिकले एउटै सरकारी स्वास्थ्य बीमा योजनाको पक्षमा समर्थन जनाएका थिए।
यद्यपि यस विषयमा राष्ट्रियस्तरको बहस सुरु हुँदा स्वास्थ्य बीमा प्रणालीको वास्तविक लागत, उपलब्ध सुविधा र त्यसका लागि आवश्यक आर्थिक व्यवस्थापनबारे थप विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।



















