पेन्सिल्भेनियाको डिस्ट्रिक्ट ४१ मा पुन मतगणना : डेमोक्रेटिक उम्मेदवार चेम्बर्स ३० मतले विजयी
ल्यान्कास्टर, पेन्सिल्भेनिया / पेन्सिल्भेनिया राज्यको हाउस डिस्ट्रिक्ट ४१ को निर्वाचनको अन्तिम नतिजामा डेमोक्रेटिक उम्मेदवार ब्राड चेम्बर्स विजयी भएका छन् ।
पुनः मतगणनापछि मंगलवार सार्वजनिक अन्तिम नतिजाले रिपब्लिकन पार्टीका निवर्तमान सांसद ब्रेट मिलरलाई पराजित गर्दै चेम्बर्स ३० मतको झिनो अन्तरले विजयी भएका हुन् ।
ल्यान्कास्टर काउन्टीका केही क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रमा चेम्बर्सले १४ हजार २९५ मत अर्थात् ५०.०२ प्रतिशत मत प्राप्त गरे। उनका प्रतिस्पर्धी मिलरले १४ हजार २६५ मत अर्थात् ४९.९१ प्रतिशत मत पाए।
नोभेम्बर ३ तारिख सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजामा चेम्बर्स ४१ मतले पछाडी परेका थिए । जुन समय विदेशबाट गरिएको र अस्थायी मत पत्र गणना हुन बाँकी थियो ।
त्यस पछि सार्वजनिक मतपरिणाममा चेम्बर्स २८ मतले अगाडि थिए। मतान्तर अत्यन्त कम भएपछि निर्वाचन क्षेत्रका मतदाताले मतपेटिका खोलेर पुनः जाँच गर्न माग गर्दै निवेदन दिएका थिए।
ल्यान्कास्टर काउन्टी निर्वाचन बोर्डले सोमबार पुनः मतगणना गरेको थियो। यस क्रममा सुरुको गणनामा प्रयोग गरिएको भन्दा फरक स्क्यानर प्रयोग गरिएको थियो।
विशेषगरी १६७ वटा ओभरभोट र अन्डरभोट भएका मतपत्र पुनः जाँच गरिएको थियो। एउटै पदमा आवश्यकताभन्दा बढी उम्मेदवारलाई मत दिएको वा केही पदमा मतदान नगरेको मतपत्रलाई ओभरभोट र अन्डरभोट भनिन्छ।
पुनः मतगणनामा दुवै राजनीतिक दलका प्रतिनिधि उपस्थित थिए। मंगलबार बिहान अन्तिम नतिजा प्रमाणित गरिएको थियो।
पुनः मतगणनापछि रिपब्लिकन उम्मेदवार मिलरले निर्वाचनको नतिजा स्वीकार गरेका छन्।
उनले मतदानमा सहभागी मतदाताप्रति आभार व्यक्त गर्दै निर्वाचन सम्पन्न गराउन खटिएका काउन्टीका कर्मचारी र मतदान केन्द्रका कर्मचारीलाई धन्यवाद दिएका छन्।
सन् २०२६ को मध्यावधि निर्वाचनमा पेन्सिल्भेनियाको राज्य संसदमा डेमोक्रेटिक पार्टीले आफ्नो बहुमत थप विस्तार गरेको छ। यसअघि तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत रहेको डेमोक्रेटिक पार्टीले माथिल्लो सदन सिनेटमा समेत नियन्त्रण कायम गरेको छ।
हाल राज्यको तल्लो सदनमा डेमोक्रेटिक पार्टीका ११४ र रिपब्लिकन पार्टीका ८९ सदस्य छन्। यससँगै गभर्नरको कार्यालयसहित राज्य संसदका दुवै सदनमा डेमोक्रेटिक पार्टीको नियन्त्रण कायम भएको छ।



















