ट्याक्स फाइलका लागि आईआरइसले जारी गर्यो सुझाव
वासिङ्टन / इन्टरनल रेभिन्यु सर्भिस (आईआरएस) ले सन् २०२७ मा ट्याक्स रिटर्न बुझाउने समय नजिकिँदै गर्दा करदातालाई अहिलेदेखि नै आवश्यक तयारी गर्न आग्रह गरेको छ।
आईआरएसले नोभेम्बर १६ मा जारी गरेको सूचनामार्फत सन् २०२६ को आम्दानीको कर विवरण बुझाउन आवश्यक कागजात तथा विवरण अहिले नै संकलन र व्यवस्थित गर्न सुझाव दिएको हो।
समयमै तयारी गर्दा कर विवरण बुझाउने प्रक्रिया सहज हुनुका साथै विवरणमा हुने त्रुटि कम गर्न र ट्याक्स रिफन्ड प्राप्त गर्न हुने ढिलाइ रोक्न सहयोग पुग्ने आईआरएसले जनाएको छ।
आईआरएसका प्रमुख कार्यकारी अधिकृत फ्र्यांक जे. बिसिग्नानोले ट्याक्स फाइलका लागि विवरण बुझाउने समय सुरु हुन अब केही महिना मात्रै बाँकी रहेकाले करदाताले अहिलेदेखि तयारी गर्नुपर्ने बताएका छन्।
उनले रोजगार, बैंक तथा अन्य आम्दानीका कागजात संकलन गर्न, वर्षको अन्त्यसम्म गर्नुपर्ने आर्थिक कारोबार समयमै पूरा गर्न र आफ्नो अवस्थालाई असर पार्ने नयाँ कर कानुनबारे जानकारी लिन आग्रह गरेका छन्।
नयाँ कर कानुनका प्रावधानबारे जानकारी लिन आग्रह
आईआरएस र अमेरिकी अर्थ मन्त्रालयले नयाँ कर कानुनअन्तर्गत समावेश गरिएका विभिन्न सुविधाबारे जानकारी सार्वजनिक गर्ने काम जारी राखेका छन्।
नयाँ कानुनमा ग्राहकबाट प्राप्त टिप्समा कर कटौती, अतिरिक्त समय काम गरेबापत प्राप्त योग्य पारिश्रमिकमा कर कटौती, योग्य यात्रुवाहक सवारीसाधन खरिदका लागि लिएको ऋणको ब्याजमा कर कटौती तथा ज्येष्ठ नागरिकका लागि थप कर कटौतीको व्यवस्था समावेश छ।
यी सुविधाबारे थप जानकारी र अद्यावधिक विवरणका लागि आईआरएसको वेबसाइटमा रहेको ‘वर्किङ फ्यामिलिज ट्याक्स कट्स’ शीर्षकको पृष्ठ नियमित हेर्न पनि आग्रह गरिएको छ।
अनलाइनबाटै करसम्बन्धी विवरण हेर्न सकिने
करदाताले आईआरएसको व्यक्तिगत अनलाइन खातामार्फत आफ्नो करसम्बन्धी विवरण सुरक्षित रूपमा हेर्न र विभिन्न सेवा लिन सक्नेछन्।
अनलाइन खाताबाट अघिल्लो वर्षको समायोजित कुल आम्दानी लगायतका कर अभिलेख हेर्न तथा विवरण डाउनलोड गर्न सकिन्छ। त्यस्तै, कर भुक्तानी गर्ने, किस्ताबन्दी भुक्तानी योजना बनाउने वा परिवर्तन गर्ने, आफ्नो पहिचान सुरक्षित राख्न प्रयोग हुने आइडेन्टिटी प्रोटेक्सन पिन प्राप्त गर्ने तथा करसम्बन्धी कागजात डिजिटल माध्यमबाट बुझाउने सुविधा पनि उपलब्ध छ।
करदाताले मोबाइल फोनमा आईआरएस एप प्रयोग गरेर पनि केही सेवा लिन सक्नेछन्। एपबाट कर फिर्ताको अवस्था हेर्न, निःशुल्क कर विवरण बुझाउने विकल्प खोज्न र केही भुक्तानी गर्न सकिन्छ।
अनलाइन खाता खोल्न नयाँ प्रयोगकर्ताले लगइन डट जीओभी वा आईडी मीमार्फत आफ्नो पहिचान प्रमाणित गर्नुपर्नेछ।
यी कागजात अहिलेदेखि नै संकलन गर्न सुझाव
कर विवरण पूर्ण र त्रुटिरहित बनाउन आईआरएसले निम्न कागजात तथा विवरण संकलन गर्न सुझाव दिएको छ।
- बैंकको राउटिङ नम्बर र खाता नम्बर।
- आफूले काम गरेका सबै रोजगारदाताबाट प्राप्त हुने डब्लू–२ फाराम। पार्टटाइम काम गरेको भए त्यसको विवरणसमेत।
- बैंक तथा अन्य भुक्तानी प्रदायकबाट प्राप्त हुने १०९९ फाराम।
- अनलाइन बजार तथा भुक्तानी एपमार्फत भएका कारोबारको विवरण।
- डिजिटल सम्पत्ति (क्रिप्टो करेन्सी लगायत) को कारोबारसम्बन्धी अभिलेख।
सबै आवश्यक कागजात प्राप्त भएपछि मात्रै कर विवरण बुझाउन पनि आईआरएसले सुझाव दिएको छ।
कर फिर्ता छिटो पाउन बैंक खाता आवश्यक
आईआरएसका अनुसार कर फिर्ता प्राप्त गर्ने सबैभन्दा छिटो माध्यम डाइरेक्ट डिपोजिट अर्थात् रकम सिधै बैंक खातामा जम्मा हुने व्यवस्था हो।
अमेरिकी सरकारले गत वर्षदेखि कागजी चेकमार्फत कर फिर्ता दिने व्यवस्था क्रमशः हटाउन थालेको छ। त्यसैले अधिकांश करदाताले कर फिर्ता प्राप्त गर्न बैंकको राउटिङ नम्बर र खाता नम्बर उपलब्ध गराउनुपर्ने हुन्छ।
बैंक खाता नभएका व्यक्तिले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) बाट बिमा गरिएको बैंक वा नेसनल क्रेडिट युनियनको वेबसाइटमार्फत खाता खोल्ने विकल्प खोज्न सक्नेछन्।
प्रिपेड डेबिट कार्ड, डिजिटल वालेट तथा मोबाइल एपमार्फत पनि डाइरेक्ट डिपोजिट सुविधा उपलब्ध हुन सक्छ। तर त्यस्ता खातामा व्यक्तिगत राउटिङ नम्बर र खाता नम्बर हुनुपर्ने भएकाले सम्बन्धित वित्तीय संस्था वा एप प्रदायकसँग पहिले नै पुष्टि गर्न आईआरएसले आग्रह गरेको छ।



















