अनेसास बोर्ड अफ ट्रस्टीजको अध्यक्षमा तीर्थराज पाण्डेयको उम्मेदवारी
मेरिल्याण्ड, अमेरिका / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को बोर्ड अफ ट्रस्टीज (बीओटी) अध्यक्ष पदमा मेरिल्याण्ड निवासी साहित्यकार तीर्थराज पाण्डेयले उम्मेदवारी घोषणा गरेका छन्।
अनेसासको बोर्ड अफ ट्रस्टीजको निर्वाचन सन् २०२६ डिसेम्बर ११ देखि १४ तारिखसम्म अनलाइन माध्यमबाट हुँदैछ।
विश्वभर छरिएर रहेका नेपाली स्रष्टाहरूलाई जोड्दै आएको अनेसास गैरनाफामूलक, राजनीतिनिरपेक्ष तथा धर्मनिरपेक्ष साहित्यिक एवं शैक्षिक संस्था हो। सन् १९९१ मा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको संस्थाले प्रवास तथा नेपालमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ।
लेखन तथा साहित्य सिर्जनामा दुई दशकभन्दा बढी समय बिताइसकेका पाण्डेयले आफ्नो उम्मेदवारी व्यक्तिगत पद, प्रतिष्ठा वा अधिकार प्राप्तिका लागि नभई संस्थाको संस्थागत सुदृढीकरण, पारदर्शिता, सम्पत्तिको संरक्षण र दीर्घकालीन भविष्य सुनिश्चित गर्नका लागि भएको बताएका छन्।
अमेरिकामा रहेर साहित्यकार, लेखक, उपन्यासकार तथा कविका रूपमा परिचित पाण्डेयलाई अनेसासको संस्थागत गतिविधिमा लामो समयदेखि सक्रिय व्यक्तित्वका रूपमा लिइन्छ। उनले अनेसास केन्द्रीय समितिको निर्वाचनमा पटकपटक निर्वाचन संयोजकको जिम्मेवारी निर्वाह गरिसकेका छन्। त्यस्तै, बीओटीको उपाध्यक्ष तथा पुरस्कार छनोट समितिको संयोजकका रूपमा पनि उनले योगदान दिएका छन्।
अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले विभिन्न सार्वजनिक मञ्चमा पाण्डेयको योगदानको प्रशंसा गर्दै आएका छन्। यसैगरी, बीओटीका पूर्वअध्यक्ष डा. श्यामध्वज कार्कीले पनि पाण्डेयले संस्थाको नेतृत्व प्रभावकारी रूपमा सम्हाल्न सक्ने विश्वास व्यक्त गर्दै उनको उम्मेदवारीलाई समर्थन गरेका छन्।
पाण्डेयले आफ्नो उम्मेदवारीसँगै छबुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले दुई दशकभन्दा लामो समयदेखि संस्थासँग आबद्ध रहेर विभिन्न जिम्मेवारी निर्वाह गर्ने क्रममा संस्थाको इतिहास, उपलब्धि, सम्भावना र चुनौतीलाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गरेका छन्।
उनका प्रतिबद्धतामा संस्थागत एकता र विधानको सर्वोच्चता कायम गर्ने, संस्थाको भवन तथा सम्पत्तिको संरक्षण गर्ने, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने, बीओटी र केन्द्रीय समितिबीच सहकार्य तथा समन्वय बढाउने, संस्थाको दीर्घकालीन भविष्य निर्माण गर्ने तथा अग्रजको सम्मान र नयाँ पुस्तालाई अवसर दिने विषय समेटिएका छन्।
संस्थागत एकता र विधानको सर्वोच्चतासम्बन्धी प्रतिबद्धतामा उनले अनेसासको विधान, नियम र संस्थागत मूल्य–मान्यताको पूर्ण पालना गर्ने, बीओटीलाई निष्पक्ष, जिम्मेवार र मर्यादित संरक्षक संस्थाका रूपमा स्थापित गर्ने तथा व्यक्तिगत स्वार्थ, गुट वा समूहभन्दा संस्थाको हितलाई प्राथमिकता दिने बताएका छन्।
त्यस्तै, संस्थाको नाममा रहेका भवन, जग्गा तथा अन्य सम्पत्तिको सुरक्षा र उचित व्यवस्थापनमा विशेष ध्यान दिने उनको योजना छ। सम्पत्तिको वर्तमान अवस्था, स्वामित्व र आर्थिक दायित्वको पारदर्शी अभिलेख राख्ने तथा दीर्घकालीन आर्थिक स्थायित्वका लागि व्यावहारिक योजना बनाउने उनले प्रतिबद्धता जनाएका छन्।
आर्थिक पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै संस्थाको आर्थिक कारोबार व्यवस्थित बनाउने, नियमित आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण गर्ने र कोष तथा सम्पत्तिको उपयोग विधानअनुसार सुनिश्चित गर्ने उनको भनाइ छ।
बीओटी र केन्द्रीय समितिबीच आपसी सम्मान, सहकार्य र स्पष्ट जिम्मेवारीको वातावरण निर्माण गर्ने, अधिकार क्षेत्र तथा जिम्मेवारीको सीमा विधानअनुसार कायम राख्ने र संस्थाभित्र विवादभन्दा संवाद तथा सहमतिलाई प्राथमिकता दिने पनि उनले बताएका छन्।
संस्थाको दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्दै पाण्डेयले नयाँ पुस्तालाई अनेसाससँग जोड्ने वातावरण निर्माण गर्ने, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सहयोग गर्ने र संस्थाको अन्तर्राष्ट्रिय प्रतिष्ठा तथा विश्वसनीयता अभिवृद्धि गर्ने योजना अघि सारेका छन्।
त्यसैगरी, सबै सदस्य, च्याप्टर र पुस्तालाई समान सम्मान तथा अवसर दिने, निर्णय प्रक्रियामा निष्पक्षता र सामूहिक विवेकलाई प्राथमिकता दिने तथा विगतका अनुभवबाट सिकेर बलियो संस्थागत आधार तयार गर्ने उनको प्रतिबद्धता छ।
पाण्डेयले बीओटी अध्यक्षको पदलाई अधिकारभन्दा बढी जिम्मेवारी, सेवा र विश्वासको पदका रूपमा लिएको बताएका छन्।
‘म एक्लैले सबै परिवर्तन गर्न सक्छु भन्ने दाबी गर्दिनँ। तर संस्थापक सदस्यहरू, अग्रजहरू, अनुभवी व्यक्तित्वहरू, केन्द्रीय समिति, च्याप्टरहरू र सम्पूर्ण सदस्यहरूको सुझाव तथा सहकार्यलाई सम्मान गर्दै संस्थाको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्।
हाल बीओटीको उपाध्यक्ष रहेका पाण्डेयले आफूले हासिल गरेको अनुभव, ज्ञान र क्षमतालाई अनेसासको हितमा निःस्वार्थ रूपमा उपयोग गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्।
‘म हैन, हामी’ भन्ने भावनाका साथ काम गर्दै अनेसासको प्रतिष्ठा र उचाइ बढाउन आफ्नो तर्फबाट योगदान गर्ने चाहना रहेको उनको भनाइ छ।
‘म समुदाय, साहित्यकार र सर्जकहरूबाट लाभ लिन होइन, केही दिनका लागि बीओटीको अध्यक्षका रूपमा काम गर्न चाहेको हुँ,’ पाण्डेयले आफ्नो उम्मेदवारी घोषणामा भनेका छन्।



















