न्यु योर्कमा देशको प्रधानमन्त्रीलाई भेट्ने चाहाना अधुरै
तारा भट्टराई/
न्यु योर्क/ संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यु योर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवा आउने खबर न्यु योर्कका नेपाली माझ एक महिना अगाडि नै सनसनी फैलिइसकेको थियो। यस्तो कुरा सुनेपछि मलाई पनि यस पटक चाहिँ प्रधानमन्त्री ओली ज्यूलाई भेट्न मन लाग्यो।
अब कसरी भेट्ने त? को सँग कुरा गर्ने ? कसरी र कहाँ भेट्ने ? मैले न्यु योर्कका पार्टीसँग पहुँच भइरहेका व्यक्तिहरूसँग सम्पर्क गरे। एकदमै उत्साही भएर प्रधानमन्त्रीसँग भेट्ने र तस्बिर पनि खिचाउने भन्ने तानाबाना बुन्न थालेँ। यसरी सोच्दा सोच्दै म मेरो आफ्नो कलेज जीवनको सुरुवाती दिनमा पुगेछु। जुन बेला १९९० को दशकको शुरुवाती वर्षहरूमा नेपालमा प्रजातन्त्र भर्खर भर्खर आएको थियो।
म उच्च शिक्षाको लागी भनेर पाँचथरबाट झापा झरेकी थिए। झापा नेपाली राजनीतिको उर्वर भूमि मानिन्छ र आधुनिक राजनीतिक इतिहासमा झापाले निकै महत्त्वपूर्ण भूमिका खेलेको पनि छ। विशेष गरी, झापा विद्रोह (झापा आन्दोलन) नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख मोड थियो। सन् १९७० को दशकमा झापामा भएको भूमिगत सशस्त्र सङ्घर्षले नेपालमा कम्युनिस्ट आन्दोलनलाई प्रख्यात बनायो। यसै संघर्षको आधारमा विभिन्न राजनीतिक पार्टीहरू र नेताहरूको उदय भयो, जसमध्ये केपी शर्मा ओली, माधवकुमार नेपाल, र झालनाथ खनाल जस्ता प्रमुख नेताहरू झापाबाट नै उत्पादन भएका हुन्।
त्यति मात्र नभएर झापा नेपालको समग्र सामाजिक तथा आर्थिक परिवर्तनमा पनि प्रभाव पार्ने क्षेत्र को रूपमा चिनिन्छ। कम्युनिष्टहरुको गढ र लाल किल्ला भनेर पनि चिनिने झापा जिल्लामा भर्खर १६/१७ वर्ष उमेरकी मलाई नेताहरूको प्रभाव नपर्ने कुरै थिएन। ओलीज्यू लगायत प्राय: सबै नेताहरू छ्यापछ्याप्ती भेटिन्थे। भलै म तर्क गर्न र बोल्न सक्दिन थिए । तर ध्यान दिएर उहाँहरूका कुरा सुन्ने र मनन गर्ने भने गर्थे। त्यो बेलामा नेता भेट्न त्यस्तो मुस्किल पनि लागेको थिएन। पछि काठमाडौँमा पनि केही वर्ष त रिपोर्टिङ गर्ने क्रममा देख भेट हुन्थ्यो। त्यति बेला नेताहरू प्राय: निरोगी र भर्खरका नै हुनुहुन्थ्यो। प्रजातन्त्र सँगसँगै नेताहरू मोटाउँदै पनि जानुभयो। म पनि आफ्नै जिन्दगीको दौडधुपमा लागे र त्यतै व्यस्त भए। त्यसपछि नेताहरूसँग कहिल्यै सम्पर्क भएन। भेट्ने मेरो काम पनि परेन र चाहाना पनि भएन।
एकाएक प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणाको न्यु योर्क आगमन सँगसँगै मेरो भेट्ने चाहाना पुरा गर्न मैले केही व्यक्तिसँग कसरी भेट्ने भनेर कुरा गर्दा त्यति सजिलो जस्तो पाइन। म सँग प्रधानमन्त्रीसँग न त जागिर मिलाई माग्नु थियो न त प्रमोसनको लागी चाकडी नै गर्नु थियो। न त म सँग अरू कसैका लागी नै केही माग्नु वा कुनै बिन्ती बिसाउनु नै थियो। उहाँहरू नेपालमा जो जो बिसौँ वर्षदेखि नेताहरूको चाकडीमा हुनुहुन्थ्यो विदेशमा पनि उनीहरूकै घेराबन्दीमा रहेछन्।
यहाँ देशका प्रधानमन्त्री तथा मन्त्रीहरू आउने होइन रहेछन्। प्रधानमन्त्री र मन्त्रीहरू पनि पार्टीका मात्र हुँदा रहेछन्।
एमालेबाट मन्त्री प्रधानमन्त्री बनेकाहरू आउँदा एमालेका कार्यकर्ता मात्र फुल माला लिएर एयरपोर्टमा जानुपर्ने अनि कांग्रेसबाट बनेकाहरू आउँदा कांग्रेसीहरु मात्र जानुपर्ने। जनजाति नेता आउँदा आफ्नै समुदायको नेताले मात्रै स्वागत गर्नु पर्ने अलिखित नियम उहिल्यै देखि चलेको रहेछ यहाँ।
मिसनको सरकारी काम कामकाजका लागि र महत्त्वपूर्ण एजेन्डाहरू बोकेर उच्च स्तरका नेता आएपनि आ आफ्नै गुट र पार्टीकै कार्यकर्ताहरूको घेराबन्दीमै एयरपोर्टमा आई पुग्ने, उत्रनासाथ यहाँ पनि उहीँ पार्टीको च्यानलले खटाएका प्रतिनिधिहरू र चम्चागिरीहरू फुल माला लिएर भेट्न लाम लागेर बस्दा रहेछन्। उनीहरूले यहाँ बसुन्जेल पनि दैनिक भेटघाट गर्ने भनेका तीनै आफ्ना पार्टी त्यो भित्र पनि उनीहरूको गुटका मानिसहरूका दुईचार वटा कुराहरू सुन्ने रहेछन्। आम सर्वसाधारण वा स्वतन्त्र व्यक्तिहरूको प्रवेश नै निषेध रहेछ।
यस्तै बाबजुद पनि मैले थाहा पाए कि न्यु योर्कको क्विन्स ज्याक्सन हाइटमा गुलसान टेरेस ( ढाका क्लब ) मा न्यु योर्क स्थित नेपाली महाबाणिज्यदूतावास, नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मञ्च अमेरिका, मधेशी एसोसिएसन अमेरिका, आदिवासी जनजाति महासंघ अमेरिका लगायतका संस्थाले संयुक्त रूपमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको स्वागतमा कार्यक्रम गर्दै छन्। म कामबाट हस्याङफस्याङ गर्दै त्यहीँ ठाउँमा पुगे। साँझ ५ः३० बजेको लागि तय भएको कार्यक्रम एकाएक रद्द भयो। न्यु योर्क वरपर लगायतका नेपाली समुदाय मात्रै नभएर भर्जिनिया, न्युहेम्पसार, क्यालिफोर्निया, टेक्ससबाट नेपाली समुदायका अगुवाहरू पनि न्यु योर्कको सो हलमा आई पुगेका थिए ।
एक त न्यु योर्कमा दिनप्रतिदिन नेपालीहरूको जनघनत्व बढ्दै गइरहेको रहेको छ र न्यु योर्कमा यति सानो हलमा केही कुर्सी राखेर मानिसहरू कसरी अटाउने ? आयोजक पक्षहरूको मानसिकता देख्दा पनि अझै यति धनी देशमा पनि हाम्रो दरिद्रता र गैर जिम्मेवारी पन गएकै छैन। समय सँगै सँगै धेरै कुरा फेरिएका छन्। त्यो ढाका क्लबमा नेपाली समुदायले आजकल जन्मदिन पार्टी मनाउन पनि साँघुरो मान्न थालेका छन् अनि त्यो हलमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको समुदाय सँग कार्यक्रम ? कम्तीमा सरकारी निकायले यस बारेमा सोच्नु पर्ने थियो। पचासौँ हजार नेपाली बस्ने न्यु योर्कमा तीन सय जना पनि अटाउन मुस्किल पर्ने हलमा कार्यक्रम गर्दा कत्तिको उचित हुन्छ?
जे सुकै भए पनि हामी नेपालीहरूलाई देशको प्रधानमन्त्रीसँग साक्षात्कार गराउने कार्यक्रम आयोजना गरिनु नै खुशीको कुरा थियो। तर त्यो भएन। प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँग साक्षात्कार गराउने कार्यक्रम आयोजकहरूले रद्द भएको घोषणा गरे पछि म घर आएर टेलिभिजन खोलेँ। उता हाम्रो छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भने प्रफुल्ल मुद्रामा दशौँ हजारको भारतीय अमेरिकनहरूको विशाल उपस्थितिलाई सम्बोधन गर्दै थिए। न कुनै डर त्रास न सुरक्षा खतरा नै। निर्धक्क आफ्ना प्रधानमन्त्रीलाई सुनिरहेका थिए। मैले न्यु योर्कमा भेटेका कुनै पनि भारतीयहरूले देशका प्रधानमन्त्रीको बारेमा नराम्रो बोल्दैनन्। मनमा जे भए पनि आफ्नो राष्ट्रप्रति डिफेन्स लिइरहेका हुन्छन्। बाहिर कहिल्यै पनि देखाउँदैनन्।
हाम्रो देशका प्रधानमन्त्री चाहिँ आफ्ना मुस्किलले दुई सय जति उपस्थित हुने कार्यक्रममा पनि सुरक्षाका कारण देखाएर सुरुवाल मुतेर उपस्थित भएनन्। अझ ढाकछोप गर्नलाई भन्दै थिए अपर्झट अर्कै मिटिङमा जानु पर्ने भयो, प्रधानमन्त्रीका कत्रा कत्रा देश बनाउने एजेन्डा छन्, यहाँ तपाईँहरूलाई भेट्न आउँछन् ? कार्यक्रम स्थलमा एक जनाले भनेका थिए। यदि व्यस्त थिए भने त्यत्रो खर्च गरेर किन कार्यक्रमको आयोजना गर्नु? दिनभर ट्याक्सी चलाएर र सेभेन ईलेभेनमा उभिएर कमाएको पैसा उठाएर आयोजना गरेको कार्यक्रम थियो त्यो।
अर्का सहभागीले भने, कार्यक्रम स्थल सुरक्षित भएन रे भने, अमेरिका जस्तो ठाउँमा प्रधानमन्त्रीलाई कसले छुन चलाउन सक्ने? कति कायर प्रधानमन्त्री? अर्काले भने, ज्याक्सन हाइटमा कालो झन्डा र प्लेकार्ड देखाउँछन् भनेर हो भने त्यो कुरा प्रधानमन्त्रीले पचाउन सक्नुपर्छ।
हिजो तत्कालीन प्रधानमन्त्री सुशील कोइराला न्यु योर्क आउँदा पनि कालो झन्डा देखाइएकै हो। त्यो बेला सुरक्षा थ्रेट भन्दै कार्यक्रम स्थगन गरिएन। यस पटक कार्यक्रम रोकिदा के सन्देश गयो? ज्याक्सन हाइटमा रहेका नेपाली संघ संस्थाका केही नेताहरूको इगो र ढङ्ग नपुग्दा देशको प्रधानमन्त्रीको अमेरिकामा भ्रमण खल्लो बन्यो। अनर्गल प्रचारका लागि सामाग्री बन्यो।
नेपालमा कालो झन्डा संस्कृतिको विकास गर्ने तीनै नेता हुन्। नेताबाट जे सिके त्यही गर्ने हो। असल कर्म सिकाएको भए पो असल गर्ने त? मुखले भनेर वा लेखेर दिँदा आफ्ना कुरा नसुन्ने भएपछि राजनीतिक, सामाजिक वा आर्थिक असहमति जनाउनको लागि विरोधकर्ताहरूको आवाजलाई स्पष्ट पार्न कालो झन्डा र प्लेकार्ड देखाउने चलन छ। लोकतन्त्रमा नागरिकको अधिकार र विरोधको महत्त्वपूर्ण हिस्सा पनि हो यो । यदि जनताको नेता हो भने , नेताले तिनीहरूलाई सम्झाउन बुझाउन सक्ने र ट्र्याकमा खुइल्याउने खुबी राख्नुपर्छ।