प्रधानमन्त्री ओलीको यस पटकको अमेरिका भ्रमण र मेरो अनुभव: दीपक सापकोटा
संयुक्त राष्ट्रसङ्घ द्वारा यही सेप्टेम्बर २१-२८ सम्म संयुक्त राज्य अमेरिकाको न्यु योर्क साथै बोस्टनमा आयोजना गरिएको “समिट अफ द फ्युचर र पेरिस सम्झौतामा आधारित रहेर कमिटमेन्ट अफ द फ्युचर “कार्यक्रममा यति बेला विश्वका विभिन्न राष्ट्रका राष्ट्र प्रमुखहरू अमेरिकामा आउनुभएको छ।
कार्यक्रममा सहभागी हुन नेपालको प्रतिनिधित्व गरी पाल्नुभएका नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू र माननीय परराष्ट्र मन्त्री आरजु राणा सहित ठुलो नेपाली टोली पनि अमेरिका आउनुभएको छ।
यसै शुभ अवसर पारि अमेरिकामा रहेका नेपाली जनसमुदाय र नेपालका प्रधानमन्त्री साथै परराष्ट्र मन्त्री सँग प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यका साथ प्रवासी नेपाली मञ्च अमेरिका, नेपाली जनसम्पर्क मञ्च अमेरिका, नेपाली महावाणिज्य दूतावास न्यु योर्क, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, मधेशी एसोसिएसन ईन अमेरिका र गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका न्यु योर्क च्याप्टरको संयुक्त आयोजनामा गर्न लागिएको यो कार्यक्रम यसको कार्यक्रम स्थल सुरक्षाको दृष्टिकोणले उपयुक्त नरहेको कारण साथै बाहिर मिडिया बाजी देखिएका अनर्गल हल्लाबाजीका कारण स्थगित हुन पुगेको छ।
राष्ट्र प्रमुखहरूको लागि राखिएका कार्यक्रमहरूमा देशबाट बाहिर रहेका हरेक नागरिकले आफू आफ्नै मातृभूमि जाँदा भोग्नुपरेका समस्या, आफ्ना हक अधिकारको संरक्षण र त्यो मातृ भूमिको समुन्नत विकासका लागी आफूले गर्न सकिने सहयोग र भूमिका आदीका साथै देशमा व्याप्त व्यथिती र विसङ्गतिहरू न्यूनीकरणका लागी आवश्यक सुझावहरू सभ्य, शालीनता र मर्यादित साथै शिष्ट तवरले राख्न सकिने अवस्था हुँदाहुँदै पनि पदीय मर्यादा, प्रतिष्ठा र मान्यतालाई बिर्सेर जे जसरी नेपाली समाजको एक हिस्सा अनर्गल अफवाह गर्न उद्धत रह्यो यो अति निन्दनीय छ यस किसिमको व्यवहारबाट समस्याको हल सम्भव छैन ।
हामी सम्पूर्ण प्रवासमा रहेका हर प्रवासी नेपालीहरूले सर्वप्रथम हामी कुनै पनि गुट उपगुटमा नलागी निजी स्वार्थ भन्दा माथि उठेर वृहत् हितका सवालमा एकजुट भई सभ्य, शालीनता र इमानदारिताका साथ भविष्यमा हाम्रो मातृभूमिको सरकार प्रमुखहरू (जो कोही पक्षको होस ) आउँदा एक वृहत् कार्यक्रमहरू आयोजना गरी आफ्ना कुरा राख्ने र सरकार प्रमुखहरूको तत् तत् विषयमा धारण के छ बुझ्ने प्रयास हुन जरुरी छ ।
यो हुन नसक्नु वा गराउन नसक्नु नै यस पटक/ विगतका कार्यक्रमहरू सफल नहुनुका कारण मध्य यो पनि एक हो। कार्यक्रम आयोजकले यस किसिमको कार्यक्रम स्थल छनौट गर्दा अपनाउनु पर्ने कार्यक्रम स्थलको स्तर, स्थानीय सरकारसँग समन्वय गरी गरिनु पर्ने सुरक्षा व्यवस्था आदीबारे खासै चासो नदिएको देखियो आयोजक मध्यको प्रमुख भूमिकामा रहेको नेपाली महावाणिज्य दूतावास न्यु योर्क यस कुरामा नराम्रो सँग असफल भएको छ।
अमेरिकामा झन्डै ५ लाख को हाराहारीमा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले यस पटक आफ्नै पहलमा एक वृहत् कार्यक्रम गरी यस पटक संयुक्त राष्ट्रसंघको कार्यक्रममा पाल्नुभएका नेपाल सरकारका सरकार प्रमुख सम्माननीय प्रधानमन्त्री ज्यू र माननीय परराष्ट्र मन्त्री ज्यू सँग एक सभ्य र भव्य कार्यक्रम आयोजना गर्ने “एक पटक को नेपाली सधैँको नेपाली“ भन्ने मूल विषयमा वहाँहरूको बिचार र हाल यस विषयमा भइरहेको सरकारको तर्फबाट संविधानमा सो विषयमा भइरहेको प्रगतिबारे जानकारी लिने सोचका साथ एनआरएनए एनसीसी अमेरिकाको सचिवालयले नेपालमा प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयलाई समयमै पत्राचार गरेको थियो जसको एस/नो को जवाफ एनआरएनए एनसीसी अमेरिकाको सचिवालयलाई हाल सम्म पनि आएको छैन साथै कार्यक्रमको लागी समय उपलब्ध गराइदिन बारम्बार प्रयास हुँदा समेत समग्र नेपालीहरूको प्रतिनिधि मूलक संस्था एनआरएनए एसीसीले समय नपाउँदा अत्यन्त दुख लागेको भएको छ यसले समग्र एन आर एन प्रति जिम्मेवार सरकारी निकायबाट जिम्मेवार पूर्ण व्यवहार नगरिएको हामीले पायौ।
मलाई लाग्छ यो विषयको जानकारी नत प्रधान मन्त्रीलाई छ न परराष्ट्र मन्त्रीलाई नै । मैले यसो भन्नुको कारण पनि यहाँहरू बिच शेयर गर्न चाहन्छु मैले सम्माननीय प्रधान मन्त्रीको भेटका क्रममा राखिएको एन आर एन नागरिकता र दोहोरो नागरिकता बारेको विषयमा सोधिएको प्रश्नको प्रधान मन्त्रीको सटिक र सकारात्मक जवाफ हु बहु यहाँ राख्ने प्रयास गरेको छु।
“म एनआरएनको विषयमा विगतको सुरुवात देखी हालसम्मको सम्पूर्ण अवस्थाको ज्ञान छ मैले नै म परराष्ट्र मन्त्री हुँदा १९९९ मा बेलायतमा उपेन्द्र महतो जी लाई “एक पटकको नेपाली सधैँको नेपाली“ भन्ने मूल नारा लिएर यस संस्थाको सुरुवात गर्न र त्यसको नेतृत्व वहाँ आफैले लिन राय सल्लाह दिएको थिए र सोही बमोजिम वहाँले यो संस्था गठन गरी त्यसलाई संसारभर रहेका गैर आवासीय नेपालीहरूलाई समेटेर एक वृहत् गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् समेत गठन भएको र सो नेपाल सरकारको परराष्ट्र मन्त्रालय अन्तरगत रही नेपालको विविध परिस्थिति र समग्र विकास प्रक्रियामा हातेमालो गरी सहयोग गरिरहेको छ ।
केही वर्ष यता यस संस्थामा नेतृत्वमा आएका केही व्यक्तिहरूको अमुक निजी स्वार्थका कारण बाहिर यस बारे अति नकारात्मक मेसेज गएको छ यस बारेमा गैर आवासीय नेपाली संघले आफ्नो छवि पुन स्थापित गराउन पहिले आफू सुध्रिने र संस्थालाई शुद्धीकरण गराउन आवश्यक छ ।
गैर आवासीय नेपाली संघ अहिले यो गैर आवासीय नागरिकताको पछाडि परेको छ जुन भनिन्छ नि “बाँदरको पुच्छर न लौरो न हतियार” गैर आवासीय नेपाली संघको मूल माग / मन्त्र त “एक पटकको नेपाली सधैँको नेपाली “ हो यो विषयमा हामी नेपाली नागरिकता पहिले नै प्राप्त गरेका गैर आवासीय नेपालीहरूको पुरानै नागरिकता कायम रहने तर उनीहरूलाई केवल नेपालको राजनीतिक अधिकार बाहेक कुनै पनि अधिकारबाट वञ्चित नगरिने व्यवस्था गर्न सरकार सकारात्मक छ ।
गैर आवासीय नेपाली संघले आफ्नो संस्थाको विधान बिर्सेको छ को र कस्ता व्यक्तिहरू गैर आवासीय संघको सदस्य हुन सक्छ भन्ने बारे । नेपालबाट अस्थायी कार्य अनुमति प्राप्त गरी विदेशमा अस्थायी कार्य गर्न जाने व्यक्तिहरू कसरी गैर आवासीय हुन सक्छन् ? यस संस्थाको नेतृत्व तहमा रहने हरूले चुनावी प्रयोजनको यस किसिमका नेपाली नागरिकहरूलाई सदस्य बनाई चुनाव आफ्नो पक्षमा राख्ने प्रयास गरेका कारण यो संस्था आज धरासयको अवस्थामा छ यसर्थ तपाई सम्पूर्ण गैर आवासीय संघको नेतृत्वमा रहेका हरू नै सचिनु आवश्यक छ तब नै तपाईँहरू बलियो संगठनको रूपमा खडा हुनुहुनेछ र तपाईँका माग पुरा गराउन सक्षम हुनुहुने छ। यस गैर आवासीय संघमा आबद्ध केही सदस्य / प्रतिनिधि हरू आफूलाई नेपाली समेत भन्न नरुचाउनेहरू हुनुहुन्छ। यस किसिमका व्यक्तिहरूबाट संस्थाको मर्म कसरी प्राप्त हुन्छ? “ यो भनाई सम्माननीय प्रधान मन्त्री के पी शर्मा ओलीको हो ।
यो भनाई तपाई हामी प्रवासमा रहेर आफ्नो मातृ भूमिसँगको अधिकार माग गर्ने सम्पूर्ण गैर आवासीय नेपाली हरूले वहाँको मुखबाट प्रत्यक्ष सुन्न पाउने अवसर बाट हामी यस पटक वञ्चित भयौ यसैले आगामी दिनमा हुने यस किसिमका कार्यक्रमहरूलाई शालीनताका साथ कसरी सभ्य र भव्य रूपमा सम्पन्न गर्न सक्छौ त्यस तर्फ समयमै सोचौँ पदीय मर्यादा र प्रतिष्ठाको इज्जत र सम्मान गर्न सिकौँ।
(लेखक सापकोटा एनआरएनए अमेरिकाका सचिव हुन्।)