लगातारको वर्षाबाट प्रभावितको नि:शुल्क उपचार गरिने
काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो, र डुबानबाट घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने निर्णय सरकारले गरेको छ।
शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो। सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार बाढी, पहिरो, र डुबानका कारण घाइते भएकाहरूलाई निशुल्क उपचार उपलब्ध गराइनेछ।
यसका साथै, अवरुद्ध सडकहरू तत्काल खुलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्ने निर्णय पनि बैठकले गरेको छ। खानेपानी, विद्युत लगायतका सेवाहरू पुनः सुचारु गर्न सम्बन्धित मन्त्रालयहरू समन्वय गरेर आवश्यक कदम चाल्नेछन्।
प्रवक्ता गुरुङले समस्यामा परेका जनतालाई उद्धार र राहत उपलब्ध गराउन सरकारले यथासम्भव प्रयास गर्ने आश्वासन दिएका छन्।