राष्ट्रपति ट्रम्प र डेमोक्र्याटबीच स्वास्थ्य सेवामा सहकार्यको सङ्केत, ‘मेडिकेयर फर अल’ योजनामा छलफलको तयारी
गोबिन्द गुरुङ ‘लेक्स’
कार्लाल, पेन्सिल्भेनिया / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य सेवासम्बन्धी विषयमा डेमोक्र्याटहरूसँग सहकार्य गर्न सक्ने सङ्केत दिएका छन्।
आगामी वर्ष अमेरिकी संसद्का दुवै सदनमा डेमोक्र्याटहरूको नेतृत्व रहने तयारी भइरहेका बेला स्वास्थ्य सेवा दुर्लभ राजनीतिक सहमतिको विषय बन्न सक्ने देखिएको छ।
राष्ट्रपति ट्रम्पले गत शनिवार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा मिशिगनका नवनिर्वाचित सिनेटर अब्दुल एल–सयदले यसअघि सार्वजनिक गरेको स्वास्थ्य सेवा योजनासम्बन्धी पोस्ट साझा गरेका थिए।
एल–सयदले आफ्नो प्रस्तावलाई ‘मेडिकेयर फर अल’ नाम दिएका छन्। एल–सयदले आफ्नो प्रस्तावलाई ‘मेडिकेयर फर अल’ भन्दै ‘ट्रम्प केयर’ नाम दिएका छन्।
राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै स्वास्थ्य सेवासहित विभिन्न विषयमा डेमोक्र्याटहरूसँग सम्झौता गर्न आफू तयार रहेको बताएका थिए।
राष्ट्रपति ट्रम्पले विगतमा डेमोक्र्याटहरूको स्वास्थ्य सेवा योजनाको आलोचना गर्दै आए पनि सार्वभौमिक स्वास्थ्य सेवासँग मिल्दोजुल्दो प्रणालीप्रति खुला रहेको सङ्केत दिएका छन्। सन् २०१५ मा राष्ट्रपति उम्मेदवार रहँदा उनले सबै नागरिक स्वास्थ्य बीमाको पहुँचमा हुनुपर्ने बताएका थिए।
राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा घरेलु नीति निर्देशक रहेका जो ग्रोगनले ट्रम्पले एल–सयदसँग भेटघाट वा छलफल गरी सम्झौता गर्न खोज्नु आश्चर्यजनक नभएको बताएका छन्।
गत शुक्रवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याटहरूसँग सहकार्य गर्न आफू इच्छुक रहेको तर त्यसका लागि सम्झौता आवश्यक पर्ने स्पष्ट पारेका थिए।
उनले भने, “म उत्कृष्ट स्वास्थ्य सेवा चाहन्छु। उनीहरूले चाहेको जस्तो मात्रै त हुन सक्दैन, तर हामी सबैले चाहेको कुराको संयोजन हुन सक्छ। हाम्रो देशमा उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ। रिपब्लिकनहरूको मात्र सहयोगभन्दा अझ राम्रो परिणाम आउन सक्छ। यसमा रिपब्लिकनहरूको ठुलो समर्थन पनि हुनेछ,”
स्वास्थ्य सेवाका विषयमा राष्ट्रपति ट्रम्पले डेमोक्र्याटहरूसँग सहकार्य गरेको यो पहिलो पटक भने होइन। पहिलो कार्यकालमा कोरोना महामारीका लागि आर्थिक सहायता प्याकेज ल्याउने विषयमा उनको प्रशासनले हाउस डेमोक्र्याटहरूसँग सहकार्य गरेको थियो। त्यसबेला सिनेटमा रिपब्लिकनहरूको बहुमत थियो।
रिपब्लिकनहरूले औषधिको मूल्य घटाउने ट्रम्प प्रशासनको प्रयासलाई पनि सहकार्यको सम्भावित क्षेत्रका रूपमा औँल्याएका छन्।
एल–सयदले आफ्नो स्वास्थ्य सेवा योजनालाई ‘ट्रम्प केयर’ नाम दिनु राष्ट्रपतिलाई आकर्षित गर्ने रणनीति हुन सक्ने विश्लेषण गरिएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो नामलाई सरकारी तथा निजी क्षेत्रका योजनाहरूमा ब्रान्डका रूपमा प्रयोग गर्न रुचाउने भएकाले यो कदम राजनीतिक रूपमा प्रभावकारी हुन सक्ने एक रिपब्लिकन रणनीतिकारले बताएका छन्।
“यो निकै बुद्धिमानी रणनीति हो,” ती रणनीतिकारले एल–सयदले ट्रम्पको राजनीतिक रुचिलाई सम्बोधन गरेको भन्दै टिप्पणी गरे।
एल–सयदले आइतवार एक कार्यक्रममा बोल्दै आफू ‘ट्रम्प केयर’ नामको स्वास्थ्य सेवा योजना पारित गर्न तयार रहेको बताए। योजनाको नाम के राखिन्छ भन्नेमा आफूलाई खासै चासो नभएको उनको भनाइ थियो।
उनले राष्ट्रपति ट्रम्पसँग भेटेर स्वास्थ्य सेवाबारे छलफल गर्न पनि आफू तयार रहेको बताए।
“यदि राष्ट्रपति देशमा सबै नागरिकलाई स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने अधुरो वाचा पूरा गर्न गम्भीर हुनुहुन्छ भने, म सिनेटका क्रिस भान होलेन, बर्नी स्यान्डर्स, रोन वाइडेन र एलिजाबेथ वारेनजस्ता नेताहरूसँग मिलेर काम गर्न तयार छु। राष्ट्रपति ट्रम्प, मलाई फोन गर्नुहोस्। म छलफल गर्न तयार छु,” एल–सयदले भनेका छन्।
गत साता एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा सिनेटर बर्नी स्यान्डर्सले नयाँ कांग्रेसमा डेमोक्र्याटहरूको प्रमुख प्राथमिकताका रूपमा ‘मेडिकेयर फर अल’ स्वास्थ्य सेवा योजना अघि बढाउने बताएका थिए।
प्रस्तावअनुसार उक्त कार्यक्रम चार वर्षको अवधिमा कार्यान्वयन गरिनेछ। योजनामा पहिलो वर्ष मेडिकेयरमा सहभागी हुन पाउने उमेर ६५ वर्षबाट घटाएर ५५ वर्ष पुर्याउने, दाँत तथा आँखाको उपचारसमेत स्वास्थ्य सेवामा समावेश गर्ने र १८ वर्षसम्मका बालबालिकालाई स्वास्थ्य सेवाको ग्यारेन्टी गर्ने प्रस्ताव गरिएको छ।
एल–सयदले भने सबै नागरिकलाई मेडिकेयरमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने तर निजी स्वास्थ्य बीमा योजनाहरूका लागि पनि ठाउँ रहने व्यवस्थाको समर्थन गरेका छन्। साथै,सहकार्यका लागि उपराष्ट्रपति जेडी भान्सको कार्यालयले गत साता एल–सयदसँग भेटघाटमा रुचि व्यक्त गरेको जानकारी पाएपछि उनको टोलीसँग सम्पर्क गरेको जनाएको छ।
‘



















