सुरक्षा थ्रेट पछि न्यु योर्कमा प्रधानमन्त्री ओलीको कार्यक्रम रद्द
न्यु योर्क/ अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाली समुदाय सँग हुने भनिएको कार्यक्रम अन्तिम समयमा रद्द भएको छ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्यु योर्क आएका प्रधानमन्त्री ओली सहित परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आइतबार साँझ ६ बजे नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।
नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च लगायतका संस्थाहरूको आयोजनामा कार्यक्रम हुन लागेको थियो।
तर अन्तिम समयमा आयोजकले कार्यक्रम रद्द गरेको सूचना जारी गरेका थिए।
नेपालको पछिल्लो घटनाक्रम पछि अमेरिकामा प्रधानमन्त्री ओलीको कार्यक्रम प्रभावित भएको बताइएको छ।
प्रवासी मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले सुरक्षाकर्मीको निर्देशन पछि आफूहरूले कार्यक्रम रद्द गर्नु परेको बताए।
‘हामीले सबै तयारी गरेका थियौ, सुरक्षाकर्मीहरू आएर जाँच पनि गरेका थिए, तर उनीहरूले नेपालमा विकसित घटनाक्रम देखाउँदै सुरक्षा दिन सक्दैनौ भनेर मिसनलाई भनेछन् त्यस पछि हामीले कार्यक्रम रद्द गर्यौ।’ थापाले समाज टाइम्स सँग भने।
विशेष गरी अमेरिकामा रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकहरूले कार्यक्रमको विरोध गर्दै आएका थिए। कतिपयले कार्यक्रममा कालो झन्डा देखाउने भन्दै सामाजिक सञ्जालमा लेख्दै आएका थिए।
अझ सहकारी ठगी आरोपमा रास्वपाका अध्यक्ष रवि लामिछाने माथि पक्राउ पुर्जी जारी भएको र उनलाई पक्राउ गर्न खोजिएको भन्ने सन्देश फैलिए पछि न्यु योर्क रहेका उनी समर्थहरू समेत आक्रोशित भएका थिए।
नेपाली महावाणिज्यदूतावास न्यु योर्कले पनि सुरक्षा संवेदनशीलताका कारण कार्यक्रम स्थगन भएको जनाएको छ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघको महासभा, तथा अन्य साइडलाइन मिटिंगहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावसमेतलाई ध्यानमा राखी आज आयोजना हुने वृहत् कार्यक्रम स्थगन गरिएको ब्यहोरा सवैमा सूचित गरिन्छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यो महावाणिज्यदूत क्षमा प्रार्थी छ ।’ महावाणिज्यदूतावासको सूचनामा भनिएको छ।