टेनीसीको नाइटक्लबमा आइस छापा, ठूलो मात्रामा अवैध आप्रावासी
मेम्फिस, टेनेसी / इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट ( आइस) ले अमेरिकाको टेनेसी राज्यस्थित एक टाइटक्लबमा छापा मार्दामा ठूलो मात्रामा अवैध आप्रवासी पक्राउ परेको जनाएको छ ।
यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरेटी (डीएचए) द्वारा बिहिवार जारी विज्ञप्तीमा टेनेसीको मेम्फिसमा आप्रवासनसम्बन्धी कारबाहीमा एक सय २१ जना पक्राउ परेको जनाइएकोछ ।
डीएचएसका अनुसार अगस्ट ३० मा आइसको न्यू अर्लिन्स कार्यालयले मेम्फिसस्थित ‘एल कोरालोन’ नाइटक्लबमा ‘अपरेसन कोराल लाइट’ नामक बहु–एजेन्सी लक्षित कारबाही सञ्चालन गरेको थियो।
डीएचएसले पक्राउ परेकाहरूलाई अमेरिकामा अवैध रूपमा रहेका विदेशी नागरिक भनेको छ। पक्राउ परेकामध्ये चोरी, लागूऔषध ओसारपसार तथा प्रयोग, घरेलु हिंसा, मादक पदार्थ सेवन गरी सवारी चलाएको, कुटपिट, बालबालिकालाई जोखिममा पारेको तथा वेश्यावृत्तिसम्बन्धी लगायतका अपराधका मुद्दा वा पक्राउ अभिलेख रहेका छन्।
डीएचए सचिव मार्कवेन मुलिनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा मेम्फिसमा अपराध घटिरहेको दाबी गर्दै आइसको कारबाहीले समुदायलाई सुरक्षित बनाउन सहयोग गरेको बताएका छन्।
“अपरेसन कोराल लाइटअन्तर्गत आइसले एकै दिनमा एक सय २० भन्दा बढी अवैध आप्रवासीलाई पक्राउ गरेको छ,” मुलिनले भनेका छन्।
आइसको इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन्स न्यू अर्लिन्सका कार्यवाहक फिल्ड अफिस निर्देशक स्कट लाडविगले लागूऔषध गतिविधि नियन्त्रण तथा अवैध रूपमा रहेका व्यक्तिमाथि कानुन कार्यान्वयन गर्नु कारबाहीको प्रमुख उद्देश्य रहेको बताएका छन्।
डीएचएसले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेकामध्ये होन्डुरस, मेक्सिको लगायतका नागरिक धेरै रहेको जनाइएको छ।














