न्यू योर्कमा आइसको ‘अपरेसन रटन एप्पल’: २१ सय बढी आप्रवासी पक्राउ
न्यू योर्क / इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले न्यू योर्क राज्यमा सञ्चालन गरेको विशेष कारबाहीअन्तर्गत २१ सय ९७ जना गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासी पक्राउ गरेको जनाएको छ।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डिएचएस) का सचिव मार्कवेन मुलिनले मंगलबार न्यू योर्क सिटीमा पत्रकार सम्मेलन गर्दै ‘अपरेसन रटन एप्पल’ नाम दिइएको उक्त कारबाहीको विवरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार जुलाई २७ देखि अगस्ट २९ सम्म सञ्चालन गरिएको कारबाहीमा हत्या, बलात्कार, बाल यौन अपराध, लागुऔषध कारोबार तथा हिंसात्मक अपराधमा संलग्न वा दोषी ठहरिएका आप्रवासीसमेत पक्राउ परेका छन्।
सचिव मुलिनले कारबाहीले न्यू योर्कलाई सुरक्षित बनाउन योगदान गरेको दाबी गर्दै राज्य तथा स्थानीय तहका अधिकारीहरूलाई संघीय अध्यागमन कानून कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन्। उनले न्यू योर्कका गभर्नर क्याथी होकुल र न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीबाट आइसले सहयोग नपाएको आरोपसमेत लगाए।
डिएचएसका ‘बोर्डर जार’ टम होमनले अपरेसन रटन एप्पलमार्फत न्यू योर्कका सडकबाट हत्या, अपहरण र बलात्कारजस्ता गम्भीर अपराधमा संलग्न आप्रवासीहरूलाई हटाइएको दाबी गरे। उनका अनुसार राज्य तथा स्थानीय अधिकारीहरूले जेलभित्र रहेका आप्रवासीलाई आइसको जिम्मा लगाउन नदिँदा उनीहरूलाई पुनः सडकमा छाड्ने अवस्था सिर्जना भएको छ।
आइसको न्यू योर्क सिटीस्थित प्रवर्तन तथा निष्कासन कार्यालयका निर्देशक केनेथ जेनालोले कारबाही लक्षित, योजनाबद्ध र सार्वजनिक सुरक्षालाई केन्द्रमा राखेर गरिएको बताए। उनले संघीय अध्यागमन अधिकारीसँगको सहकार्य रोक्ने नीतिले सार्वजनिक सुरक्षा तथा कानून कार्यान्वयनमा जोखिम बढाउने दाबी गरे।
डिएचएसले अपरेसनका क्रममा पक्राउ परेका केही व्यक्तिको आपराधिक पृष्ठभूमिसमेत सार्वजनिक गरेको छ। जसमा भारतका पालविन्दर सिंह समेत छन् । उनी जर्मनीमा बलात्कारको कसुरमा दोषी ठहरिएको विवरणमा उल्लेख छ।
डिएचएसले न्यू योर्क सिटीका मेयर जोहरान ममदानीले जारी गरेको कार्यकारी आदेशले शहरलाई ‘हिंसात्मक आपराधिक पृष्ठभूमि भएका गैरकानुनी आप्रवासीलाई संरक्षण गर्ने स्थान’ बनाएको आरोप लगाएको छ।
डिएचएका अनुसार ममदानीको कदमअघि गभर्नर क्याथी होकुलले स्थानीय प्रहरी विभागलाई आइस सँग सहकार्य र समन्वय गर्न रोक्ने कानुनी प्रस्ताव अघि सारेकी थिइन्।
डिएचएसले यी नीतिका कारण १३ हजार ६२१ जना आपराधिक पृष्ठभूमि भएका गैरकानुनी आप्रवासीलाई न्यू योर्कका जेलबाट रिहा गरी पुनः समुदायमा पठाइएको दाबी गरेको छ।
(कभर फोटो बिहिवार डिपोर्ट हुदै गरेका हैटीका नागरिक ।)














