ओरेगनको स्कुलमा गोली चल्दा तीन विद्यार्थी र एक शिक्षकको निधन, आक्रमणकारी पनि मारिए
बेन्ड, ओरेगन / अमेरिकाको पश्चिमी राज्य ओरेगनको बेन्ड सहरको सिल्भर रेल प्राथमिक स्कुलमा बिहीबार गोली चल्दा तीन विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ।
गोली चलाउने १६ वर्षीय किशोरको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन्। घटनामा अर्का एक बालक र एक शिक्षक गम्भीर घाइते भएको प्रहरीले बनाएको छ ।
एसोसिएटेड प्रेसले मृत्यु भएका बालबालिकाको उमेर पाँच, आठ र ११ वर्ष रहेको उल्लेख गरेको छ ।
बेन्ड प्रहरीले घाइते सात वर्षीय बालक र ५४ वर्षीय शिक्षकलाई उपचारका लागि अस्पताल लगिएको र उनीहरूको अवस्था गम्भीर रहेको जनाएको छ ।
विद्यालय प्रवेश गर्न बन्दुकबाट ढोका फुटाए
प्रहरीका अनुसार आक्रमणकारीले बन्द ढोकाहरूमा गोली चलाएर विद्यालयभित्र प्रवेश गरेका थिए। उनी बेन्ड सहरकै बासिन्दा रहेको बताइएको छ। घटनाको समयमा विद्यालयमा चार सय ५९ विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।
प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार घटनाबारे पहिलो आपत्कालीन फोन दिउँसो १२ बजेर ५९ मिनेटमा आएको थियो। विद्यालयबाहिर गाडीमा रहेका एक व्यक्तिले लामो बन्दुक बोकेको व्यक्तिले आफूलाई गोली हानेको जानकारी दिएका थिए। त्यसपछि विद्यालयभित्रबाट पनि गोली चलेको भन्दै थप फोन आएका थिए।
प्रहरी दिउँसो १ बजेर २ मिनेटमा घटनास्थल पुगेको थियो। प्रहरी पुगे लगत्तै आक्रमणकारी विद्यालयभित्र गोली लागेर ढलेका थिए।
स्थानीय व्यक्तिले आक्रमणकारीलाई रोके
प्रहरीका अनुसार घटनास्थलमा रहेका एक स्थानीय व्यक्तिले आक्रमणकारीलाई पछ्याउँदै विद्यालयभित्र पुगेपछि गोली हानेका थिए। त्यसपछि आक्रमणकारीको मृत्यु भएको थियो। ती व्यक्तिले थप मानवीय क्षति हुनबाट रोक्न भूमिका खेलेको भन्दै ओरेगनकी गभर्नर टिना कोटेकले प्रशंसा गरेकी छन्।
बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा गभर्नर कोटेकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आक्रमणकारीलाई रोक्न हस्तक्षेप गर्ने व्यक्तिप्रति पनि सहानुभूति व्यक्त गरेकी थिइन्।
आक्रमणकारीको विद्यालयसँग कुनै व्यक्तिगत सम्बन्ध थियो वा उनी पहिले त्यही विद्यालयमा अध्ययन गरेका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















