नाता ढाँटेर ग्रीन कार्ड र नागरिकता लिएको आरोपमा अमेरिकी एयरफोर्सका जवान पक्राउ
केस्सास सिटी मिसौरी/ नाता ढाँटेर ग्रीन कार्ड र पछि अमेरिकी नागरिकता लिएको आरोपमा फिलपिनो मुलका अमेरिकी एयरपोर्सका एक जवान पक्राउ परेका छन् ।
यूएस सिटिजन एण्ड इमिग्रेशन सर्भिस (यूएससीआइएस) द्वारा बिहिवार जारी विज्ञप्ती अनुसार ती व्यक्तिलाई ग्रीनकार्ड दिलाउन सहयोग गर्ने व्यक्ति पनि पक्राउ परेका छन् ।
यूएसीआइएसले नाता ढाँटेर ग्रीनकार्ड लिने ३० वर्षीय जोन पाउले रिभेरा र उनको आमा बनेकी ४६ वर्षीया माइरा पाउले शुलेनबर्गलाई पनि पक्राउ गरिएको जनाएको छ ।
जोन पाउले रिभेरा अमेरिकी एयरफोर्समा कार्यरत रहेको जनाइएको छ । उनी मिसौरीको ह्वाइटम्यान एयर फोर्स बेसमा कार्यरत थिए । जोनले माइरालाई नक्कली आमा बनाएर ग्रीन कार्ड र पछि अमेरिकी नागरिकता लिएको आरोप छ । त्यसका लागि फिलिपिन्सको जन्म प्रमाणपत्र नै परिवर्तन गरिएको थियो ।
युइससीआइएसले त्यसैको आधारमा आधारमा निवेदन स्वीकृत गरेपछि रिभेराले ग्रिनकार्ड पाएका थिए। ग्रिनकार्ड पाएपछि उनी अमेरिकी एयर फोर्समा भर्ती भए ।
त्यसपछि वायुसेनामा सेवा गरिरहेका बेला उनले अमेरिकी नागरिकताका लागि आवेदन दिए र ११ अक्टोबर २०२२ मा नागरिक बने।
पछि उनले आफ्नी वास्तविक आमालाई ग्रिनकार्ड दिलाउन यूएससीआइएसमा निवेदन दिए। त्यसमा उनले आफ्नो वास्तविक जन्म प्रमाणपत्र पेश गरे। यही वास्तविक प्रमाणपत्रले पहिले पेश गरिएको नक्कली प्रमाणपत्रसँग कुरा नमिलेपछि ठगी खुलेको यूएससीआइएसले जनाएको छ ।
जोनलाई ग्रीन कार्ड दिलाउन सघाउने कोलोराडो निवासी मइरा विरुद्ध संघीय ग्रान्ड जुरीले अध्यागमन ठगी गर्ने षड्यन्त्र गरेको अभियोग लगाएको छ।
यस्तै जोन पाउले रिभेरा विरुद्ध भने अध्यागमन ठगी गर्ने षड्यन्त्र, अध्यागमनसम्बन्धी कागजातमा शपथअन्तर्गत झूटा विवरण दिएको, संघीय निकायलाई झूटो विवरण दिएको, गैरकानुनी रूपमा अमेरिकी नागरिकता प्राप्त गरेको तथा नागरिकताको प्रमाण दुरुपयोग गरेको लगायतका अभियोग लगाइएको छ।
यूएसीआइएसका अनुसार मइरा फिलिपिन्समा जन्मिएकी हुन र उनी अमेरिकाको नेचुराइलेजन नागरिक बनेकी हुन् । जोन भने सन् २०१७ को मार्चमा जे-१ एक्सचेन्ज भिजिटर भिसा मार्फत अमेरिका प्रवेश गरेका थिए।
अभियोजन पक्षका अनुसार जोनले पेश गरेको वास्तविक जन्म प्रमाणपत्रमा उल्लेख भएको विवरण र यसअघि ग्रिनकार्ड प्राप्त गर्न प्रयोग गरिएको जन्म प्रमाणपत्रबीच फरक देखिएपछि उनको निवेदन अनुसन्धानका लागि फ्ल्याग भएको थियो। त्यसपछि सुरु भएको अनुसन्धानले दुई जनाले ठगी गरेको पत्ता लागेको जनाइएको छ ।
संघीय अभियोगमा मइरालाई अध्यागमन ठगी गर्ने षड्यन्त्रको आरोपमा अधिकतम पाँच वर्षसम्मको जेल सजाय हुन सक्ने जनाइएको छ। जोनमाथि लगाइएका केही अध्यागमनसम्बन्धी अभियोगमा अधिकतम १० वर्षसम्मको जेल सजाय हुन सक्ने अभियोजन पक्षले जनाएको छ। साथै, उनले प्राप्त गरेको अमेरिकी नागरिकता खारेज हुन सक्ने सम्भावना समेत औल्याइएको छ ।














