बीजीसीसीपीएको आयोजनामा ह्यारिसबर्गमा बहुसांस्कृतिक गाला सम्पन्न
ह्यरिसबर्ग, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ह्यारिसबर्गस्थित ड्रुक इन्टरनेसनल सितोरियो कराते एसोसिएसन (डिस्का) को हलमा अरू बेला करातेको कला र अनुशासन सिक्ने ठाउँमा अक्टोबर १७ तारिख शनिवारको माहौल केही फरक थियो।
नियमित अभ्यासमा व्यस्त रहने हलमा नेपाली मौलिक गीत गुन्जिए, विभिन्न जातजातिका भेषभूषामा सजिएका कलाकारहरुले नृत्य प्रस्तुत गरे । समुदायका स्थापित गायकले गीत पनि गाए । समुदायका अगुवा तथा सर्वसाधारण एउटै थलोमा भेला भए।
भुट्नीज गुरुङ कम्युनिटी अफ सेन्ट्रल पेन्सिल्भेनिया (बीजीसीसीपीए) द्वारा आयोजित कार्यक्रमले एउटै समुदायको सांस्कृतिक पहिचानमा मात्र सीमित नभई विविध जातजातिका कला, संस्कृति र परम्परालाई साझा मञ्च प्रदान गर्यो।
वार्षिक बहुसांस्कृतिक गाला २०२६ मा गुरुङ समुदायसँगै अन्य जातजातिका सांस्कृतिक प्रस्तुति पनि समेटिएका थिए। कार्यक्रममा विभिन्न समुदायका सदस्यले सहभागिता जनाउँदै आ–आफ्नो कला, संस्कृति र परम्परालाई प्रस्तुत गरेका थिए।

‘विविधताको उत्सव, एकताको निर्माण र सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने मूल नारासहित आयोजित कार्यक्रमको उद्देश्य गुरुङ समुदायको संस्कृति प्रस्तुत गर्नुमा मात्र सीमित थिएन।

विभिन्न समुदायका मानिसलाई एउटै कार्यक्रम स्थलमा जोड्ने, एकअर्काका संस्कृति बुझ्ने अवसर प्रदान गर्ने र नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग परिचित गराउने प्रयासका रूपमा पनि कार्यक्रमलाई हेरिएको थियो।
विशेषगरी अमेरिकामै जन्मिएका वा सानै उमेरमा यहाँ आएका बालबालिका तथा युवालाई नेपाली समाजको सांस्कृतिक विविधतासँग परिचित गराउन समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन्। ह्यारिसबर्गमा आयोजित बहुसांस्कृतिक गाला पनि त्यही प्रयासको एउटा उदाहरण बनेको थियो।

शनिवारको कार्यक्रममा विभिन्न समुदायका अगुवा तथा सर्वसाधारणको उपस्थितिले पनि यसको सामुदायिक स्वरूपलाई देखाएको थियो।
कार्यक्रममा प्रस्तुत गीत तथा नृत्यले नेपाली समाजको सांस्कृतिक विविधता झल्काएका थिए। मौलिक गीतको तालमा विभिन्न भेषभूषामा सजिएका कलाकारले नृत्य प्रस्तुत गर्दा कार्यक्रम स्थल सांस्कृतिक उत्सवमा परिणत भएको थियो। जातीय पहिचानसँग जोडिएका पहिरन, संगीत र नृत्यमार्फत कलाकारले आफ्ना समुदायका परम्परा प्रस्तुत गरेका थिए।

स्थानीय स्तरमा आयोजना हुने बहुसांस्कृतिक कार्यक्रमले विभिन्न उमेर समूहलाई एउटै ठाउँमा जोडेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भुट्नीज बुद्धिस्ट अर्गनाइजेशनका अध्यक्ष वीर बी तामाङ, विषेश अतिथि समाजसेवी डा. खेम अधिकारी लगायतले मन्तव्य दिएका थिए ।
उनीहरुले यस्ता कार्यक्रमले नयाँ पुस्तामा मौलिक कला र संस्कृति पुस्तान्तरण गर्न सहयोगी हुने धारणा राखे ।
अमेरिकामा हुर्किरहेका बालबालिकाले आफ्ना अभिभावकको जन्मभूमिसँग सम्बन्धित भाषा, गीत, संगीत, भेषभूषा र परम्परालाई नजिकबाट बुझ्ने अवसर मिल्ने बताए ।
कार्यक्रमको गर्दै भुट्नीज गुरुङ कम्युनिटी अफ सेन्ट्रल पेन्सिल्भेनियाका अध्यक्ष अर्जुन गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रम आयोजना गरिने बताए ।
















