कथा : रङहरूको इन्द्रेणी
ह्यारिसबर्गको बिहान पेन्सिलभेनियाको आकाशमा सुनौलो घाम पोखिँदै थियो। सुस्केरा हाल्दै बग्ने सस्क्वेहाना नदीका छालमा अनेक रङहरू नाचिरहेका थिए। नदीको शान्त प्रवाहझैँ यहाँको जीवन पनि आफ्नै लयमा बगिरहेको थियो। फरक भाषा, फरक भेषभूषा, फरक धर्म र फरक संस्कृतिका मानिसहरू एउटै सहरको छातामुनि आफ्ना सपना फुलाइरहेका थिए।
भर्खरै ह्यारिसबर्ग आइपुगेको नवीनलाई यो सहर कुनै जीवन्त इन्द्रेणीझैँ लाग्थ्यो। तर उसको मनको एउटा कुनामा पुरानो समाजका विभेदपूर्ण स्मृतिहरू अझै जीवित थिए। थर, जात र धर्मका आधारमा मानिसको उचाइ नापिने दृश्य उसले आफ्नै आँखाले देखेको थियो।
एक दिन सामुदायिक कार्यक्रममा उसले अनौठो दृश्य देख्यो। नेपाली, भारतीय, अमेरिकी, अफ्रिकी र ल्याटिन अमेरिकी मूलका मानिसहरू एउटै आँगनमा हाँसो साटिरहेका थिए। कसैले आफ्नो संस्कृतिको परिकार पस्किरहेको थियो, कसैले लोकगीत सुनाइरहेको थियो। भाषाहरू फरक थिए, तर आत्मीयताको भाषा एउटै थियो।
कार्यक्रमकै बीचमा एक वृद्ध अचानक अस्वस्थ भए। केही क्षणमै मानिसहरूको भीड उनलाई घेर्न आइपुग्यो। कसैले एम्बुलेन्स बोलायो, कसैले पानी ल्यायो, कसैले उनका परिवारलाई खबर गर्यो। त्यहाँ न कसैको जात खोजियो, न धर्म, न राष्ट्रियता। एउटा मान्छेको पीडाले सबैका हृदयलाई एकैपटक छोएको थियो।
नवीन स्तब्ध भएर त्यो दृश्य हेरिरह्यो।
उसको छेउमा उभिएका एक वृद्धले मुस्कुराउँदै भने, “बाबु, फूलको सौन्दर्य त्यसको रङमा मात्र हुँदैन, सुगन्धमा पनि हुन्छ। मानिसको महानता उसको जन्ममा होइन, कर्ममा हुन्छ।”
ती शब्द नवीनको मनमा गहिरोसँग गढे।
समय बित्दै गयो। दसैँमा उसले छिमेकीलाई टीका लगायो, क्रिसमसमा शुभकामना साट्यो, अरू समुदायका उत्सवमा सहभागी भएर उनीहरूका परम्पराको सम्मान गर्यो। उसका घरका ढोकाहरू मात्र खुलेनन्, मनका झ्यालहरू पनि खुले। उसले बुझ्दै गयो—संस्कृति जोगाउनु भनेको आफ्नै संस्कृति अग्लो देखाउनु होइन, अरूको संस्कृतिलाई पनि उत्तिकै सम्मान दिन सक्नु रहेछ।
एक साँझ सस्क्वेहाना नदीको किनारमा सूर्य अस्ताउँदै थियो। आकाशमा फैलिएका रङहरू पानीमा प्रतिबिम्बित भइरहेका थिए। नवीनसँगै उभिएको सानो बालकले सोध्यो, “अङ्कल, यति धेरै रङ मिलेर इन्द्रेणी बनेजस्तै मानिसहरू पनि फरक भएरै सुन्दर हुन्छन्, होइन?”
नवीनको ओठमा मुस्कान फुल्यो। उसले बालकको टाउको मुसार्दै भन्यो, “हो बाबु, रङहरू फरक भएकै कारण इन्द्रेणी सुन्दर हुन्छ। एउटा रङले मात्र आकाश सजिँदैन।”
उसको दृष्टि नदीपारिको सहरतिर पुग्यो। उसलाई लाग्यो—ह्यारिसबर्ग केवल इँटा, सिमेन्ट र सडकले बनेको सहर होइन; यो त अनेक संस्कृतिका धागोले बुनिएको मानवीय सम्बन्धको सुन्दर गलैँचा हो, जहाँ विविधता विभाजन होइन, सौन्दर्य बनेर फुलेको छ।
नदी निरन्तर बगिरह्यो। आकाशमा साँझ ओर्लिरह्यो। तर नवीनको मनमा एउटा विश्वास उदायो—मानिसले मानिसलाई चिन्न थालेको दिनदेखि नै संसार सुन्दर बन्न थाल्छ।
उसले मनमनै भन्यो, “सहरको वास्तविक समृद्धि अग्ला भवनमा होइन, फराकिला हृदयमा हुँदो रहेछ।”
ह्यारिसबर्गको आकाशमा त्यस साँझ पनि इन्द्रेणी मुस्कुराइरहेको थियो।
— नारदप्रसाद आचार्य ‘सुदामा’
संयुक्त राज्य अमेरिका
















