अमेरिकी नागरिकता लिनुअघि न्यु जर्सीमा मतदान गरेको आरोपमा महिला पक्राउ
नागरिकता प्राप्त गर्नुअघि सन् २०२२ को प्राइमेरी र आमनिर्वाचनमा मतदान गरेको आरोप; दोषी ठहरिए नागरिकता खोसिन सक्ने
न्यु जर्सी । अमेरिकी नागरिकता प्राप्त गर्नुअघि गैरनागरिककै हैसियतमा मतदान गरेको आरोपमा न्यु जर्सीकी एक नेचुरलाइजेशन अमेरिकी नागरिक पक्राउ परेकी छन्।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटी (डीएचएस) का अनुसार, इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट ( आइस) अन्तर्गतको होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स (एचएसआई) को नेवार्क कार्यालय र संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अक्टोबर ७ मा लिजबेथ अल्मोन्टे–रोसालाई पक्राउ गरेका हुन्।
डोमिनिकन गणतन्त्रमा जन्मिएकी उनीमाथि गैरनागरिक भएर मतदान गरेको आरोप लगाइएको छ।
विभागका अनुसार अल्मोन्टे–रोसाले डिसेम्बर २०२१ मा मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएकी थिइन्। त्यसपछि उनले सन् २०२२ मा भएको प्राइमेरी निर्वाचन र आमनिर्वाचन दुवैमा मतदान गरेको आरोप छ। उक्त समयमा उनी अमेरिकी नागरिक बनिसकेकी थिइनन्।
अल्मोन्टे–रोसा अगस्ट २०१६ मा अमेरिकामा कानुनी रूपमा प्रवेश गरेकी थिइन्। उनले मे २०२३ मा अमेरिकी नागरिकताका लागि आवेदन दिएकी थिइन्। उनको आवेदन मार्च २०२४ मा स्वीकृत भएको र अप्रिल २०२४ मा उनले अमेरिकी नागरिकता प्राप्त गरेको डीएचएसले जनाएको छ।
दोषी ठहरिए नागरिकता गुम्न सक्ने
डीएचएसका अनुसार, मतदानसम्बन्धी अभियोगमा दोषी ठहरिएमा अल्मोन्टे–रोसाले प्राप्त गरेको अमेरिकी नागरिकता खारेज गर्ने प्रक्रिया अघि बढ्न सक्नेछ।
डीएचएस सचिव मार्कवेन मुलिनले गैरनागरिकले मतदान गर्नु निर्वाचन प्रणालीको अखण्डतासँग सम्बन्धित विषय भएको बताएका छन्। उनले गैरकानुनी मतदान गर्ने गैरनागरिकलाई पक्राउ गरी कानुनी कारबाही गरिने चेतावनीसमेत दिएका छन्।
डीएचएसले घटनालाई तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनमा अमेरिकामा प्रवेश गरेकी र जो बाइडेनको प्रशासनमा नागरिकता प्राप्त गरेकी व्यक्तिसँग जोड्दै सार्वजनिक गरेको छ।
अमेरिकी निर्वाचनमा संघीय, राज्य र स्थानीय कानुनअनुसार नागरिकता तथा अन्य योग्यता आवश्यक हुन्छन्। गैरनागरिकले संघीय निर्वाचनमा मतदान गर्न पाउँदैनन्। यद्यपि, केही स्थानीय तहमा स्थानीय निर्वाचनका लागि गैरनागरिकलाई मतदानको अनुमति दिने छुट्टै व्यवस्था हुन सक्छ।
अल्मोन्टे–रोसामाथिको आरोपबारे अन्तिम न्यायिक निर्णय सार्वजनिक गरिएको विवरण डीएचएसको विज्ञप्तिमा उल्लेख छैन।

















