हामीले अरूको कमजोरी देख्ने आँखासँगै, अरूको राम्रो काम देख्ने दृष्टि पनि कहिले विकास गर्ने?
सञ्जय थापा
आज प्राइम टाइममा राजनीतिक विश्लेषक मुमाराम खनाललाई देखेपछि मनमा केही प्रश्नहरू उब्जिए। राजनीतिक विश्लेषकको काम भनेको देशको राजनीति, नेतृत्व र व्यवस्थाका कमजोरीहरू औँल्याउनु मात्र हो कि भएका राम्रा कामहरूको निष्पक्ष मूल्याङ्कन गर्दै समाजलाई सही दिशा देखाउनु पनि हो?
नयाँ पार्टीदेखि नेपाली कांग्रेस, एमाले र अन्य राजनीतिक दलसम्म हेर्दा, यदि हरेक नेता र पार्टीमा कमजोरी मात्रै देखिन्छन् भने के हाम्रो राजनीतिमा सकारात्मक काम हुँदै नभएका हुन्? कि हामीले राम्रा काम देख्ने र स्वीकार गर्ने दृष्टि नै गुमाउँदै गएका हौँ?
मुमाराम खनालजीप्रति व्यक्तिगत आग्रह वा पूर्वाग्रह राखेर यो प्रश्न उठाएको होइन। उहाँ त एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ। प्रश्न समग्र राजनीतिक विश्लेषणको प्रवृत्ति, सञ्चारमाध्यमको प्राथमिकता र हाम्रो बौद्धिक वृत्तको जिम्मेवारीप्रति हो।
आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो, तर निष्पक्षता लोकतन्त्रको आत्मा हो।
गलतलाई गलत भन्नैपर्छ, भ्रष्टाचारको विरोध गर्नैपर्छ, जनतालाई धोका दिनेहरूलाई प्रश्न गर्नैपर्छ। तर कसैले गरेको राम्रो कामलाई राम्रो भन्न पनि सक्नुपर्छ। कुनै नेताले सही निर्णय गर्यो भने त्यसको प्रशंसा गर्न सक्नुपर्छ। कुनै पार्टीले जनताको हितमा काम गर्यो भने त्यसलाई स्वीकार गर्न सक्नुपर्छ। किनकि सत्यको पक्ष लिनु भनेको आफ्नो मनपर्ने पक्षको मात्रै समर्थन गर्नु होइन।
दुःख लाग्छ, आज हाम्रो समाजमा नकारात्मकता यति धेरै फैलिएको छ कि मानिसहरू एक अर्काको राम्रो पक्ष देख्नै छाडेका छन्। कसैले राम्रो काम गर्यो भने पनि त्यसको प्रशंसा गर्नुभन्दा कमजोरी खोज्न हतार गरिन्छ। कसैले सकारात्मक कुरा गर्यो भने पनि त्यसको नियतमा शङ्का गरिन्छ। मानौँ, अरूको प्रशंसा गर्नु आफ्नो विचारधारासँग विश्वासघात गर्नु हो!
यस्तो प्रवृत्तिले अन्ततः कसलाई फाइदा पुर्याउँछ?
नेताहरू जनताबाट टाढिन्छन्, जनता नेतृत्वप्रति निराश हुन्छन्, बुद्धिजीवीप्रति विश्वास कमजोर हुन्छ र सञ्चारमाध्यमप्रतिको भरोसामा समेत प्रश्न उठ्न थाल्छ। निरन्तर नकारात्मक सन्देश सुन्दै जाँदा मानिसको मनमा आशाभन्दा निराशा, विश्वासभन्दा अविश्वास र सम्भावनाभन्दा असम्भवताको भावना बलियो हुँदै जान्छ।
देशको वर्तमान अवस्थाका पछाडि अनेक राजनीतिक, आर्थिक, सामाजिक र संस्थागत कारण छन्। सबै समस्याको दोष आलोचना गर्नेहरूलाई मात्र दिन मिल्दैन। तर निरन्तर दोषारोपण, एक अर्काप्रतिको घृणा र सकारात्मक पक्षलाई बेवास्ता गर्ने प्रवृत्तिले जनताको निराशालाई अझ गहिरो बनाउन सक्छ भन्ने कुरा हामी सबैले बुझ्न आवश्यक छ।
देश निर्माण केवल नेताहरूको जिम्मेवारी होइन। राजनीतिक दल, विश्लेषक, पत्रकार, बुद्धिजीवी, नागरिक समाज र हामी प्रत्येक नागरिकको पनि उत्तिकै जिम्मेवारी छ।
देशलाई माया गर्नेले देशका कमजोरी मात्रै गन्ने होइन, सुधारका सम्भावना पनि देखाउनुपर्छ।
राजनीतिक विश्लेषकले समस्या देखाउनुपर्छ, तर समाधानको बाटो पनि देखाउनुपर्छ। पत्रकारले गलत कामको पर्दाफास गर्नुपर्छ, तर जनताको हितमा भएका कामलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ। बुद्धिजीवीले समाजलाई निराशाको अँध्यारोतिर धकेल्ने होइन, विवेक र आशाको उज्यालोतिर डोर्याउनुपर्छ। नेताहरूले पनि आलोचनालाई शत्रुता नठानी आत्म सुधारको अवसरका रूपमा लिन सक्नुपर्छ।
किनकि आलोचना आवश्यक छ, तर निराशा फैलाउनु उपलब्धि होइन। प्रश्न उठाउनु आवश्यक छ, तर सत्यको एउटा पाटो मात्रै देखाउनु पूर्ण निष्पक्षता होइन।
यस वर्षको वडा दशैले हामी सबैलाई एउटा नयाँ दृष्टि प्रदान गरोस्।
हे दुर्गा माता छौ भने
हाम्रा नेता र राजनीतिक दलहरूमा सद्बुद्धि प्रदान गर। देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने विवेक देऊ। राजनीतिक विश्लेषक, पत्रकार र बुद्धिजीवीहरूलाई सत्यको दुवै पाटो देख्ने निष्पक्ष दृष्टि प्रदान गर। अरूको गल्ती औँल्याउँदा आफ्ना कमजोरी पनि स्वीकार गर्न सक्ने इमानदारी देऊ।
एक अर्कालाई गिराएर होइन, एकअर्काका राम्रा कामबाट प्रेरणा लिएर अघि बढ्ने संस्कार बसालिदेऊ। आलोचनामा सत्यता, विचारमा सहिष्णुता, व्यवहारमा सद्भाव र हृदयमा देश प्रेम जागृत गराइदेऊ।
हामीलाई अरूको नराम्रो पक्ष देख्ने आँखासँगै, उनीहरूको राम्रो पक्ष देख्ने उदार हृदय पनि देऊ। असहमत हुँदा पनि सम्मान गर्न सक्ने संस्कार देऊ। राजनीतिक विचार फरक भए पनि नेपाली भएको नाताले एक अर्काको अस्तित्व स्वीकार गर्न सक्ने चेतना देऊ।
किनकि देश बिग्रियो भनेर विलाप गर्नु मात्रै पर्याप्त छैन; देश सुधारिन सक्छ भन्ने विश्वास जगाउनु पनि उत्तिकै आवश्यक छ।
आउनुहोस्, यो वडा दशैँमा हामी अरूको कमजोरी खोज्ने बानीसँगै उनीहरूको राम्रो कामको कदर गर्ने संस्कार पनि विकास गरौँ। नकारात्मकतालाई विवेकले, घृणालाई सद्भावले र निराशालाई आशाले जित्ने प्रण गरौँ।
नेताहरूमा सद्बुद्धि पलाओस्, बुद्धिजीवीहरूमा निष्पक्षता जागोस्, सञ्चारमाध्यमहरूमा जिम्मेवारी बढोस् र जनतामा आपसी विश्वास पुनः स्थापित होस्।
सबै नेपालीको मनमा देश प्रेम, घरघरमा सुखशान्ति र राष्ट्रको भविष्यप्रति नयाँ आशा जागृत होस्।
वडा दशैँ २०८३ को सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्तजन, मित्र वर्ग तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना!
सप्रेम,
सञ्जय थापा
न्यूयोर्क, अमेरिका
(थापा नेकपा एमालेका केन्द्रिय सदस्य हुन् ।)
















