पेन्सिल्भेनिया पिट्सबर्गमा दशैं मेलाको रौनकः लिङ्गे पिङदेखि धार्मिक एकता
पिट्सबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको विभिन्न राज्यका शहरहरुमा दशैं केन्द्रित कार्यक्रमहरु भइरहेका छन् ।
पेन्सिल्भेनियाको पिट्सबर्गमा आइतबार सम्पन्न दशैं तथा बहुसांस्कृतिक मेलाले नेपाली परम्परा, संस्कृति र सामुदायिक एकताको फरक तस्वीर प्रस्तुत गरेको छ।
दशैंलाई हिन्दू धर्मावलम्बीको चाडका रूपमा मात्र सीमित नराखी विभिन्न जातजाति, धर्म र समुदायका मानिसलाई एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना गरिएको मेलामा हजारौ व्यक्ति उपस्थित भएको आयोजकले बताएका छन्।
कम्युनिटी कनेक्ट सर्कल र स्वीकारोक्ति फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न मेलामा १५ भन्दा बढी संघसंस्था तथा समुदायका सदस्यले विभिन्न रूपमा सहयोग गरेका थिए।
४५ भन्दा बढी स्टल, नेपाली परिकार, बालबालिकाका लागि खेल तथा मनोरञ्जन, परम्परागत लिङ्गे पिङ र झण्डीबुर्जाले मेलालाई विशेष बनाएका थिए। मेलामा टोयोटा कोरोलाको कार उपहार योजनासमेत राखिएको थियो।
स्वीकारोक्ति फाउन्डेसनका अध्यक्ष डेम्जोङ साङपाङ राईका अनुसार मेलाको मुख्य उद्देश्य अमेरिकामा हुर्किरहेका नयाँ पुस्तालाई आफ्नै संस्कृति र परम्परासँग परिचित गराउनु, ज्येष्ठ पुस्तालाई जन्मभूमि र बाल्यकालको सम्झना दिलाउनु तथा नेपाली समुदायभित्र एकता र सहकार्य बढाउनु थियो।
“हामी एकबद्ध भएर, एकअर्कासँग सहकार्य गरेर अघि बढ्यौं भने धेरै टाढा पुग्न सक्छौं भन्ने हाम्रो सोच हो। हाम्रो संस्कार र संस्कृति नयाँ पुस्ताका नानीहरूलाई चिनाउनु थियो। बुवाआमालाई पनि आफ्नो विगत सम्झाउने र अमेरिकामा पनि हामी नेपाली बस्तीमै छौं भन्ने नेपालीपनको अनुभूति गराउने उद्देश्यले यो कार्यक्रम गरेका हौं,” राईले भने।
पिट्सबर्गमा किन आवश्यक भयो दशैं मेला?
कम्युनिटी कनेक्ट सर्कलका अध्यक्ष जीवन प्रधानका अनुसार पिट्सबर्ग क्षेत्रमा नेपालीभाषी भुटानी समुदायको उल्लेख्य बसोबास भए पनि अन्य अमेरिकी सहरमा जस्तै दशैंलाई केन्द्रमा राखेर बृहत् मेला आयोजना गर्ने परम्परा स्थापित भएको थिएन। यही अभाव र समुदायका सदस्यको अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले मेलाको अवधारणा अघि सारिएको हो।
प्रधानले पिट्सबर्ग क्षेत्रमा करिब १५ हजार नेपालीभाषी भुटानी समुदायका मानिसको बसोबास रहेको अनुमान गर्दै भने, “ओहायो, ह्यारिसबर्ग लगायतका शहरमा नेपाली भाषी भुटानी समुदायले विभिन्न कार्यक्रम गरिरहेको देखेका यहाँका मानिसले पिट्सबर्गमा चाहिँ यस्तो कार्यक्रम किन हुँदैन भन्ने जिज्ञासा र गुनासो राख्नुभएको थियो। हाम्रो समुदायमा पनि यस्तो कार्यक्रमको आवश्यकता महसुस भयो। त्यसपछि यस वर्ष मेला आयोजना गर्ने निर्णय गरेका हौं।”
उनका अनुसार मेलाको उद्देश्य एउटा कार्यक्रम सम्पन्न गर्नु मात्र नभई पिट्सबर्गमा रहेका विभिन्न संघसंस्थालाई एउटै ठाउँमा ल्याउनु र समुदायबीचको सम्बन्धलाई बलियो बनाउनु थियो।
“कम्युनिटी कनेक्ट सर्कलको उद्देश्य नै समुदायलाई जोड्नु हो। यसपटक हामीले पिट्सबर्गमा रहेका विभिन्न संघसंस्थालाई एकै ठाउँमा ल्याएर कार्यक्रमलाई सफल बनाउन सकेको महसुस गरेका छौं,” प्रधानले भने।
मेलामा प्रवेश निःशुल्क राखिएको थियो। बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भएको कार्यक्रममा दिनभर मानिस आउने–जाने क्रम जारी रहेको प्रधानको भनाइ छ।
अमेरिकामा हुर्किएका बालबालिकालाई नेपाली गाउँघर चिनाउने प्रयास
अमेरिकामा जन्मिएका वा सानै उमेरमा अमेरिका आएका धेरै बालबालिकाले नेपाल र भुटानका गाउँघरमा प्रयोग हुने परम्परागत सामग्री प्रत्यक्ष देख्ने अवसर पाउँदैनन्। ढिकी, जाँतो, हलो–जुवा, नाङ्लो र दही–मोही बनाउने परम्परागत उपकरण उनीहरूका लागि किताब, तस्बिर वा अभिभावकले सुनाएका कथामा सीमित हुन सक्छन्।
पिट्सबर्गको मेलामा भने यस्ता सामग्रीलाई प्रदर्शनीमा राखेर मात्र छोडिएन, बालबालिकाले आफैं चलाएर हेर्न सक्ने व्यवस्था पनि गरिएको थियो।
अध्यक्ष राईका अनुसार ढिकी र जाँतो चलाउने, नाङ्लोमा अन्न केलाउने तथा नेपाली गाउँघरमा प्रयोग हुने अन्य सामग्री प्रत्यक्ष अनुभव गर्न पाउने व्यवस्था मेलाको विशेष पक्ष थियो। परम्परागत सांस्कृतिक पोसाकसमेत प्रदर्शनमा राखिएको थियो।
“हामीले ढिकी, जाँतो, हलो–जुवा, नाङ्लो, दही–मोही बनाउने सामग्री र अन्य नेपाली सरसामान राखेका थियौं। नानीहरूले आफैं ढिकी र जाँतो चलाउन पाउने, नाङ्लोमा धानचामल केलाउन पाउने व्यवस्था गर्यौं। उनीहरूले हाम्रो संस्कृति प्रत्यक्ष देखून् र बुझून् भन्ने चाहना थियो,” उनले भने।
नेपाली संस्कृतिबारे जानकारी दिनु र त्यसलाई प्रत्यक्ष अनुभव गराउनु फरक कुरा हो। बालबालिकाले आफ्ना अभिभावक तथा हजुरबुबा–हजुरआमाले प्रयोग गरेका सामग्री छुन, चलाउन र तिनको उपयोगबारे सोध्न पाउँदा पुस्ताबीचको सांस्कृतिक सम्बन्धसमेत बलियो हुन सक्छ।
यही कारण आयोजकले मेलालाई मनोरञ्जनको कार्यक्रम मात्र भन्दा पनि सांस्कृतिक सिकाइको अवसरका रूपमा विकास गर्न खोजेको बताएका छन्।
राईका अनुसार मेलामा नेपाली संस्कृति झल्काउने सामग्रीको प्रदर्शनीसँगै विभिन्न समुदायका मानिसलाई आफ्ना परम्परा र पहिचान प्रस्तुत गर्ने अवसर पनि दिइएको थियो।
२२ फिट अग्लो लिङ्गे पिङः अमेरिकामा नेपाली संस्कृतिको प्रत्यक्ष अनुभव
मेलामा पुगेका धेरैका लागि लिङ्गे पिङ विशेष आकर्षण बन्यो। दशैंको परम्परासँग जोडिएको पिङ अमेरिकामा देख्न पाउनु, त्यसमा पनि करिब २२ फिट अग्लो संरचनामा बनाइएको लिङ्गे पिङ अनुभव गर्न पाउनु धेरैका लागि नौलो थियो।
अमेरिकामा सार्वजनिक कार्यक्रमका लागि पिङ निर्माण गर्दा स्थान, सुरक्षा, बीमा र व्यवस्थापनजस्ता विषयमा ध्यान दिनुपर्ने भएकाले यस्तो संरचना तयार गर्नु सामान्य काम होइन। पिट्सबर्गमा पिङ व्यवस्थापन गर्न आवश्यक बाँस स्थानीय क्षेत्रमा उपलब्ध नभएपछि आयोजकले नर्थ क्यारोलाइनासम्म पुगेर बाँस ल्याएका थिए।
प्रधानका अनुसार पिङ निर्माणका लागि आवश्यक छवटा बाँस नर्थ क्यारोलाइनाबाट ल्याइएको थियो।
‘स्थानीय क्षेत्रमा आवश्यक बाँस नपाइएपछि केही साथीहरू लामो दूरीको यात्रा गरेर बाँस लिन गएका थिए।’ प्रधानले भने ।
“लिङ्गे पिङ हाम्रो दशैंसँग नजिकबाट जोडिएको खेल र संस्कृतिको हिस्सा हो। दशैंको मेला आयोजना गर्दा पिङ पनि हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो। त्यसैले यहाँ नपाएपछि नर्थ क्यारोलाइनाबाट बाँस ल्याएर व्यवस्थापन गर्यौं,” प्रधानले भने।
उनका अनुसार पिङ करिब २२ फिट अग्लो बनाइएको थियो।
प्रधानले पिङलाई मेलाको एउटा सांस्कृतिक उपलब्धिका रूपमा व्याख्या गरे। नेपाल र भुटानमा हुर्किएका अभिभावक तथा ज्येष्ठ पुस्ताले आफ्नो बाल्यकालमा देखेको र अनुभव गरेको पिङ अमेरिकामा प्रत्यक्ष देख्न पाउनु भावनात्मक पक्षसमेत भएको उनको भनाइ छ।
“हाम्रा माता–पिताले भुटान र नेपालमा देख्नुभएको लिङ्गे पिङ अमेरिकामा आफ्नै आँखाअगाडि देखाउन सक्यौं। उहाँहरूका लागि यो खुसीको कुरा हो,” उनले भने।
त्यस्तै, अमेरिकामै जन्मिएर वा हुर्किएर नेपाली संस्कृति प्रत्यक्ष अनुभव गर्ने अवसर कम पाएका बालबालिकाका लागि पनि पिङ महत्वपूर्ण बनेको प्रधानले बताए।
“यहाँ हुर्केका नानीहरूले स्विङ भन्ने कुरा त बुझ्छन्, तर लिङ्गे पिङ भनेको के हो भनेर सोध्दा अन्योलमा पर्न सक्छन्। यसपटक हामीले उनीहरूलाई लिङ्गे पिङ प्रत्यक्ष देखाउन सक्यौं। हाम्रो संस्कृति के हो भन्ने कुरा अनुभवबाट बुझाउने अवसर मिल्यो,” उनले भने।
यस्तै राईका अनुसार ठूलो पिङ निर्माण गर्दा स्थानीय प्रशासन, काउन्टी, सुरक्षा र बीमासम्बन्धी प्रक्रिया पूरा गर्नुपरेको थियो। सार्वजनिक स्थानमा यस्तो संरचना बनाउँदा जोखिम हुने भएकाले सम्बन्धित निकायबाट आवश्यक अनुमति लिनु र सुरक्षाको व्यवस्था गर्नु महत्वपूर्ण थियो।
“यहाँ यति ठूलो र लामो लिङ्गे पिङ राख्न सजिलो थिएन। स्थानीय सरकारले पनि जोखिमका कारण अनुमति दिन कठिनाइ हुने रहेछ। काउन्टीको प्रक्रिया पूरा गर्नुपर्यो, आवेदन दिनुपर्यो र सुरक्षासम्बन्धी सबै कुरा बुझाउनुपर्यो। दुईदेखि तीन मिलियन डलरको बीमा व्यवस्थासहित आवश्यक प्रक्रिया पूरा गरेर आफ्नै जोखिम र जिम्मेवारीमा पिङ बनाउन सफल भयौं,” राईले भने।
उनका अनुसार पिङका लागि आवश्यक संरचना निर्माण गर्न निकै मेहनत गर्नुपरेको थियो। करिब २२ फिट अग्लो बनाइएको पिङमा सहभागीले रमाइलो गरेपछि आयोजकको प्रयास सफल भएको अनुभूति भएको उनले बताए।
राईले अमेरिकामा परम्परागत लिङ्गे पिङलाई यसरी वास्तविक स्वरूपमा प्रस्तुत गर्ने प्रयास सम्भवतः पहिलो भएको दाबी गरे।
“हामीले नेपालकै जस्तो अनुभूति दिने गरी वास्तविक लिङ्गे पिङ बनाउने प्रयास गरेका हौं। हाम्रा बुवाआमाले नेपाल र भुटानमा देख्नुभएको कुरा यहाँ पनि देखाउन सकियो। नयाँ पुस्ताले पनि लिङ्गे पिङ के हो भनेर प्रत्यक्ष बुझ्न पायो,” उनले भने।
धर्मभन्दा माथि उठेको सहभागिता
मेलाको अर्को महत्वपूर्ण पक्ष विभिन्न धर्म मान्ने व्यक्तिहरुको सक्रिय सहभागिता थियो। हिन्दू, बौद्ध, किरात तथा क्रिश्चियन समुदायका सदस्यले मेलामा भाग लिएका थिए। विभिन्न जातजाति र सांस्कृतिक पृष्ठभूमिका मानिसको उपस्थितिले कार्यक्रमलाई वास्तविक बहुसांस्कृतिक उत्सवको स्वरूप दिएको थियो।
प्रधानका अनुसार पिट्सबर्ग क्षेत्रमा रहेका पाँचवटा नेपाली चर्चको सहभागिता पनि यसपटकको मेलाको विशेष पक्ष रह्यो। कर्नरस्टोन नेपाली चर्चले ती चर्चको सहभागिता संयोजन गरेको थियो। चर्चका प्रतिनिधिले आफ्ना बुथ राख्नुका साथै सरसफाइ तथा अन्य व्यवस्थापकीय काममा पनि सहयोग गरेका थिए।
“हामी विभिन्न धर्म मान्ने समुदायका मानिस हौं। बौद्ध समुदायका साथीहरू हुनुहुन्छ, क्रिश्चियन साथीहरू हुनुहुन्छ, हिन्दू साथीहरू हुनुहुन्छ। किरात कल्चरल सोसाइटी पनि सहभागी थियो। सबै जातजाति र धर्मका मानिसलाई समेटेर कार्यक्रम गर्न सक्यौं,” प्रधानले भने।
उनले पिट्सबर्गको मेलाले दशैंलाई धार्मिक सीमाभन्दा बाहिर नेपाली संस्कृति, पारिवारिक भेटघाट, परम्परागत खेल र सामुदायिक सम्बन्धको अवसरका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको बताए ।
“हामीबीच भाइचाराको सम्बन्ध अगाडि बढ्नुपर्छ। हामी एक हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो,” प्रधानले भने।
स्थानीय अमेरिकी समुदायको पनि सहभागिता
मेलामा नेपालीभाषी समुदायका मानिस मात्र सहभागी थिएनन्। आयोजकका अनुसार स्थानीय अमेरिकी नागरिक तथा अन्य जातीय र सांस्कृतिक पृष्ठभूमिका मानिस पनि मेलास्थलमा आएका थिए।
राईले स्थानीय समुदायको सहभागितालाई कार्यक्रमको महत्वपूर्ण पक्षका रूपमा उल्लेख गरे। उनका अनुसार मेलामा नेपाली परिकार र सांस्कृतिक सामग्रीका साथै विभिन्न व्यवसायका स्टल पनि राखिएका थिए। यसले स्थानीय मानिसलाई नेपाली समुदायको संस्कृति, खानपान र परम्परासँग परिचित हुने अवसर दिएको थियो।
उनले स्थानीय प्रशासन, प्रहरी प्रमुखलगायतका अधिकारी र समुदायका अगुवाबाट पनि सहयोग प्राप्त भएको बताए। कार्यक्रमपछि स्थानीय अगुवाहरूले दिएको सकारात्मक प्रतिक्रियाले आगामी वर्ष अझ ठूलो कार्यक्रम गर्न प्रेरणा मिलेको उनको भनाइ छ।
“स्थानीय समुदायका मानिसले सहयोग गर्नुभयो। यहाँका अगुवा र विभिन्न क्षेत्रका व्यक्तिबाट राम्रो प्रतिक्रिया पायौं। हाम्रो दर्शन, उद्देश्य र नियत स्पष्ट भएकाले कार्यक्रम सफल भएको उहाँहरूको भनाइ थियो। आगामी वर्ष अझ धेरै सहयोग गर्ने प्रतिबद्धता पनि आएको छ,” राईले भने।
४५ भन्दा बढी स्टल, बालबालिकाका लागि खेल र व्यावसायिक सहभागिता
मेलालाई सबै उमेर समूहका लागि आकर्षक बनाउन आयोजकले विभिन्न प्रकारका गतिविधि समेटेका थिए। प्रधानका अनुसार मेलामा ४५ भन्दा बढी स्टल थिए। तीमध्ये खानपिनका स्टल, बालबालिकाका लागि खेल तथा मनोरञ्जन, व्यवसाय प्रवर्द्धन गर्ने स्टल र गैरनाफामूलक संस्थाका बुथ समावेश थिए।
खानपिनका लागि करिब २० वटा स्टल राखिएका थिए। पेन्सिल्भेनिया फन सर्भिसेससँगको सहकार्यमा बालबालिकाका लागि करिब २० वटा खेल तथा मनोरञ्जनका गतिविधि सञ्चालन गरिएको थियो। व्यवसाय प्रवर्द्धनका लागि करिब १२ वटा स्टल राखिएका थिए भने १५–१६ वटा गैरनाफामूलक संस्था पनि सहभागी भएको प्रधानले बताए।
व्यावसायिक तथा खानपिनका स्टलका लागि आयोजकले प्रतिस्टल दुई सय ५० अमेरिकी डलर शुल्क लिएका थिए। गैरनाफामूलक संस्थाका लागि भने कुनै शुल्क राखिएको थिएन।
टोयोटा कोरोलाको उपहार योजनाले पनि तान्यो ध्यान
मेलामा राखिएको टोयोटा कोरोलाको कार उपहार योजनाले पनि सहभागीको ध्यान आकर्षित गरेको थियो। आयोजकका अनुसार करिब २७ हजार अमेरिकी डलर मूल्यको कार उपहारमा राखिएको थियो। प्रतिटिकट १०० डलर निर्धारण गरिएको योजनामा करिब एक हजार टिकट बिक्री भएको आयोजकको भनाइ छ ।
उक्त उपहार योजनाको विजेता पराजुली थरकी एक महिला बनेकी छन्। आयोजकले दिएको विवरणअनुसार विजयी टिकट नम्बर ०२४२ थियो।
मेलाको आयोजनामा स्वीकारोक्ति फाउन्डेसनका अध्यक्ष डेम्जोङ साङपाङ राईको पनि महत्वपूर्ण भूमिका रहेको प्रधानले बताए ।
‘यति ठूलो कार्यक्रमलाई सफल बनाउन स्थल व्यवस्थापनदेखि विभिन्न संस्थाको सहभागिता, स्वयंसेवक परिचालन, मनोरञ्जनका गतिविधि र सांस्कृतिक कार्यक्रमसम्मका पक्षमा समन्वय आवश्यक थियो।’ प्रधानले भने, ‘विभिन्न संस्थाले आ–आफ्नो जिम्मेवारी लिएर सहयोग गरेकाले कार्यक्रम सञ्चालन गर्न सहज भयो ।’
प्रधानले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संघसंस्था, स्वयंसेवक र सहभागीलाई धन्यवाद दिँदै आगामी वर्ष अझ व्यवस्थित र बृहत् कार्यक्रम गर्ने लक्ष्य रहेको बताए।
टेक रिमाल भन्छन्– मेला भव्य मात्र होइन, सभ्य पनि भयो
हिमालयन फाउन्डेसन अमेरिकाका उपाध्यक्ष टेक रिमालले पनि मेलाको सहभागिता र व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार कार्यक्रममा नेपालीभाषी समुदायका मानिस मात्र नभई विभिन्न जातजाति र पृष्ठभूमिका व्यक्तिहरू सहभागी भएका थिए।
“मेला भव्य भएको थियो, सभ्य पनि भएको थियो। उपस्थिति व्यापक भयो। नेपालीभाषी मात्र नभएर विभिन्न जातजातिका व्यक्तिहरू पनि आउनुभएको थियो। नानीहरूदेखि वृद्धवृद्धासम्मले सहभागिता जनाउनुभयो,” रिमालले भने।
रिमालका अनुसार यस्तो कार्यक्रमको महत्व मानिसको संख्यामा मात्र सीमित हुँदैन। परिवारका सबै पुस्ताले एकै ठाउँमा भेला भएर संस्कृति, परम्परा र सामुदायिक सम्बन्ध अनुभव गर्न पाउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
विशेषगरी नयाँ पुस्ताले आफ्ना अभिभावक र अग्रजले अनुभव गरेका परम्परालाई प्रत्यक्ष देख्न र बुझ्न पाउनु मेलाको महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ।
लिङ्गे पिङको व्यवस्थापनमा पनि सहयोग गरेका रिमालले यसलाई दशैंसँग जोडिएको सांस्कृतिक पहिचानलाई अमेरिकामा निरन्तरता दिने प्रयासका रूपमा हेरेका छन्।
एउटा मेलाबाट सुरु भएको दीर्घकालीन प्रयास
पिट्सबर्गको दशैं तथा बहुसांस्कृतिक मेला यस वर्षको एउटा कार्यक्रम मात्र नभई आगामी दिनमा समुदायलाई अझ नजिक ल्याउने आधार बन्न सक्ने आयोजकको अपेक्षा छ।
प्रधानले यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। पिट्सबर्गमा रहेका विभिन्न संघसंस्थासँग छलफल गरेर आगामी वर्ष मेलालाई अझ बृहत् र व्यवस्थित बनाउने प्रयास गरिने उनले बताए।
“यो सुरुवात हो। अब यहाँका संघसंस्थासँग छलफल गरेर यसलाई अझ बृहत् रूपमा अगाडि बढाउने प्रयास गर्छौं,” प्रधानले भने।
अमेरिकामा नेपाली समुदायका विभिन्न कार्यक्रम प्रायः आ–आफ्नो संस्था, क्षेत्र वा धार्मिक समूहमा केन्द्रित हुने गरेका छन्। यस्तो अवस्थामा दशैंलाई साझा सांस्कृतिक उत्सवका रूपमा प्रस्तुत गर्दै फरक धर्म, जातजाति र संस्थालाई एउटै ठाउँमा ल्याउने प्रयासले समुदायभित्र सहकार्यका नयाँ सम्भावना खोल्न सक्छ।
















