बीसीसीपीए मेलामा कांग्रेसम्यान स्कट पेरीले भने : यो तपाईँहरूको देश हो …
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकी कांग्रेसम्यान स्कट पेरीले भुटानी–नेपाली समुदायलाई अमेरिका आफ्नो साझा देश भएको बताउँदै समुदायसँगको मित्रता र सँगै भविष्य निर्माण गर्ने भावनालाई जोड दिएका छन्।
पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आइतबार भुट्नीज कम्युनिटी अफ सेन्ट्रल पेन्सिल्भेनिया (बीसीसीपीए) को तेस्रो मेलाको उद्घाटन समारोहमा बोल्दै पेरीले समुदायसँग समय बिताउन पाएकोमा खुसी व्यक्त गरे। उनले आयोजकलाई निमन्त्रणाका लागि धन्यवाद दिँदै मेला र उत्सवको सफलताको शुभकामना दिए।
“यो तपाईँहरूको देश हो, यो हाम्रो देश हो, यो हाम्रो साझा भविष्य हो। हामी तपाईँहरूका मित्र हौँ र तपाईँहरू हाम्रा मित्र हुनुहुन्छ,” पेरीले भने।
उनले समुदायका सदस्यहरूसँग भेट्न र मेलामा सहभागी हुन पाउनु आफ्नो लागि खुसीको अवसर भएको उल्लेख गर्दै सबैलाई सुखद र रमाइलो मेला तथा उत्सवको शुभकामना दिए।
“आजको यो सुन्दर दिनमा तपाईँसँग केही समय बिताउन, तपाईँहरूलाई भेट्न र तपाईँहरूसँगै हुन पाएको अवसरप्रति म आभारी छु। तपाईँहरू सबैको मेला र उत्सव सुखद र भव्य रहोस्। भगवान्ले तपाईँहरू सबैलाई आशीर्वाद दिउन्,” उनले भने।
कार्यक्रममा डाउफिन काउन्टीका कमिश्नर बोर्डका अध्यक्ष जस्टिन डगलसले भुटानी–नेपाली समुदायसँग सम्बन्ध स्थापित गर्न पाउनु सम्मानको विषय भएको बताए।
डगलसले समुदायको धैर्य, एक अर्काप्रतिको करुणा र सहयोगको चर्चा गर्दै अमेरिकामा आप्रवासनसम्बन्धी धरपकड तथा देश निकालासम्बन्धी चुनौतीहरूबिच समुदायले देखाएको मानवीय संवेदनाको उल्लेख गरे।
“तपाईँहरूको धैर्य, शक्ति र छिमेकीप्रतिको प्रेम तथा करुणाका कारण हामी अझ राम्रो बनेका छौँ,” डगलसले भने।
उनले समुदायका सदस्यहरूको उपस्थितिमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै मेलाको सफलताको कामना गरे।
उद्घाटन समारोहमा पेन्सिलभेनियाको १० औं कङ्ग्रेसानल डिस्ट्रिक्टबाट डेमोक्रयाटिक पार्टीकी उम्मेदवार जेनल स्टेलसनको पनि उपस्थिति रहेको थियो ।
गभर्नर शापिरोको शुभकामना सन्देश
पेन्सिल्भेनियाका गभर्नर जोस शापिरोको तर्फबाट पनि मेलाका लागि शुभकामना सन्देश पठाइएको थियो। गभर्नरको प्रशासनअन्तर्गत एसियन अमेरिकन एन्ड प्यासिफिक आइल्यान्डर अफेयर्ससम्बन्धी आयोगका कार्यकारी निर्देशक रजिन कारुले उक्त सन्देश वाचन गरेका थिए।
सन्देशमा पेन्सिल्भेनियाको विविधतामा भुटानी समुदायको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरिएको थियो। समुदायको धैर्य र उज्ज्वल भविष्यप्रतिको आशावादको प्रशंसा गर्दै सन्देशमा बीसीसीपीएले स्थायी सामुदायिक केन्द्र स्थापना गर्न गरेको प्रयास तथा समुदायका लागि जमघट, शिक्षा र सेवा उपलब्ध गराउने कामको चर्चा गरिएको थियो।
सन्देशमा संगीत, खानपान, कला र पहिरनजस्ता माध्यमबाट भुटानी संस्कृति प्रवर्द्धन गर्ने कार्यक्रमले समुदायको विविधता र सांस्कृतिक सम्पदालाई उजागर गर्ने उल्लेख थियो। गभर्नरको तर्फबाट मेलाको सफलताको शुभकामना पनि व्यक्त गरिएको थियो।
ओम अधिकारीले सम्झिए विस्थापन र पुनर्वासको संघर्ष
बीसीसीपीएका उपाध्यक्ष ओम अधिकारीले आफ्नो सम्बोधनमा नेपालीभाषी भुटानी समुदायको विस्थापन, शरणार्थी जीवन र अमेरिकामा पुनर्वासपछिको यात्राबारे चर्चा गरेका थिए।
उनले समुदायको विगतलाई पीडादायी, वर्तमानलाई गौरवपूर्ण र भविष्यलाई आशामय रूपमा चित्रण गरे। भाषा, संस्कृति र जातीय पहिचानका कारण हजारौँ नेपालीभाषी भुटानीहरू आफ्नो जन्मभूमिबाट विस्थापित हुनुपरेको उल्लेख गर्दै उनले धेरै परिवारले नेपालका शरणार्थी शिविरमा करिब दुई दशक बिताएको बताए।
अधिकारीले शरणार्थी शिविरमा बालबालिका नागरिकताविना हुर्किएको, युवाहरूले अवसरको अभाव झेलेको र अभिभावकहरूले परिवारको जीवन धान्न संघर्ष गर्नुपरेको स्मरण गरे। कठिन परिस्थितिका बाबजुद समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचान जोगाइराखेको उनले बताए।
अमेरिकामा पुनर्वासको अवसर पाएकोमा कृतज्ञता व्यक्त गर्दै अधिकारीले सुरुमा थोरै सामान, सीमित आर्थिक स्रोत र अंग्रेजी भाषाको ज्ञानबिना आएका परिवारहरूले मेहनत गरेर आफ्नो जीवन पुनर्निर्माण गरेको बताए। अहिले समुदायका सदस्यहरू चिकित्सक, नर्स, इन्जिनियर, शिक्षक, उद्यमी तथा विभिन्न पेसामा अघि बढिरहेको र अमेरिकी सेना, नेसनल गार्ड, कानुन कार्यान्वयन निकाय, स्वास्थ्य सेवा तथा गैरनाफामूलक संस्थामा समेत योगदान गरिरहेको उनले उल्लेख गरे।
“हामी काम गर्छौँ, कर तिर्छौँ, मतदान गर्छौँ, स्वयंसेवा गर्छौँ र योगदान दिन्छौँ,” अधिकारीले भने।
उनले भुटानमा जन्मिएर नेपालमा शरणार्थी जीवन बिताएका र पछि अमेरिकामा पुनर्वास भएका समुदायका सदस्यहरूका लागि अमेरिका नै घर र अपनत्वको देश बनेको बताए। उनका अनुसार समुदायका छोराछोरी, घर र व्यवसाय अहिले अमेरिकामै छन्।
अधिकारीले पेन्सिल्भेनियाका छिमेकी, रोजगारदाता, शिक्षक, सामुदायिक साझेदार र निर्वाचित प्रतिनिधिहरूले समुदायका परिवारलाई नयाँ जीवन निर्माण गर्न सहयोग गरेकोमा धन्यवाद दिएका थिए।
६० स्टलसहित साँझसम्म मेला
बीसीसीपीएले आयोजना गरेको तेस्रो मेला आइतबार साँझसम्म चलेको थियो। बीसीसीपीएका अध्यक्ष निशा गुरुङका अनुसार मेलामा ६० वटा स्टल राखिएका थिए।
मेलाको शुरुमा विभिन्न झाँकी सहितको परेड आयोजना गरिएको थियो । परेड पछि सस्क्वाना नदीको किनारमा रहेको पार्कमा उद्घाटन गरिएको थियो ।
औपचारिक कार्यक्रमपछि सांस्कृतिक प्रस्तुतिहरू सञ्चालन गरिएका थिए। मेलाले भुटानी–नेपाली समुदायको संस्कृति, परम्परा र सामुदायिक एकतालाई प्रस्तुत गर्ने अवसर प्रदान गरेको सहभागीहरूको भनाइ थियो।
















