पलेशालाई कांग्रेस पार्टी कार्यालयमा नगद ५ लाखसहित सम्मान
ललितपुर । नेपाली कांग्रेसले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ । नेपाली कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य पदक विजेता गोवर्धनसहित टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गरेका हुन् । ऐतिहासिक पदक विजेता पलेशाले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउँदा प्रशिक्षक कविराज नेगी लामाले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरी, प्रतियोगितामा सहभागी भएका अर्का खेलाडी भरत सिंह महताले नगद ५० हजार प्राप्त गरे । टिम म्यानेजर रामप्रसाद श्रेष्ठ र तेक्वान्दो संघलाई कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालकी छोरी पलेशाको पदकले सबै नेपाली खुसी भएको बताउँदै उज्जवल भविष्यको कामना गरे । पारालम्पिकमा प्राप्त भएको कास्य पदकले पनि अन्तर्राष्ट्रिय जगतमा इज्जत बढेको बताउँदै सभापति देउवाले भोलिका दिनमा नेपाली खेलाडीलाई राम्रो गर्ने हौसला प्रदान भएको पनि बताए । खेलाडीको सफलतामा परिवारको पनि साथ हुने बताउँदै बधाईका पात्र पलेशाका बाबुआमा पनि भएको सभापति देउवाले बताए ।
कार्यक्रममा खेलकुद विभागका प्रमुख उमेशजंग रायमाझीले साहास, संकल्प, प्रेरणा र समानता जस्ता मुलभूत मुद्दा बोकेर जन्मिएको पाराओलम्पिकको उमेर धेरै नभए पनि यसको विश्वव्यापी विस्तार भएको उल्लेख गरे । उनले पलेशाको पदकमा नेपाली कांग्रेसले गर्व गरेको बताउँदै आगामी दिनको सफलताको कामना गरे । संसारमा नेपालजस्तो देशले अरुसँग होडवाजी गरेर विजेता घोषणा गर्न गाह्रो रहेको बताउँदै खेलकुदले मात्रै यस्तो सम्भव भएको र त्यसका लागि पदक विजेता पलेशा बधाईको पात्र भएको बताए ।
गौहत्या प्रकरणः तीन भुटानी शरणार्थीसहित चार जना पक्राउ
खेलकुदमा क्षेत्रमा भाषण भन्दा पनि कार्यान्वयनको कुरामा प्रमुख रायमाझीले जोड दिए । उनले भने ‘अहिलेको सन्दर्भमा ३५० करोडको बजेटले खेलकुदलाई सम्बोधन गरेको मानिदैन ।’ कार्यक्रममै उनले खेल क्षेत्रको बजेट बढाउनका लागि नेपाली कांग्रेसले नै पहल गर्नु पर्नेमा जोड दिए ।
पेन्सिल्भेनियाको ह्यारिसबर्गमा नेपथ्य :उर्लिए दर्शक, कीर्तिमान कायम
कार्यक्रममा उपस्थित भएका नेपाली कांग्रेसका नेता एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आफूले खेल क्षेत्रको सुधारका लागि काम गरिरहेको बताए । उनले अब खेलाडीहरुलाई नेपालमै रोजगारी दिने व्यवस्था मिलाउन आफू लागि रहेको बताए । उनले भने ‘अघिल्लो व्यवस्थामा खेलाडीहरुले पदक जित्दा रोजगारी पाएका उदाहरण थिए, तर गणतन्त्र आएपछि विभागीय क्लबहरु आर्मी, पुलिस र एपीएफबाहेक अरुले रोजगारी दिन सकेको छैन ।’ अब विभिन्न संघ संस्था, बैंक तथा वित्तिय संघ संसथाहरुले खेलाडीलाई रोजगारी दिने वातावरण मिलाउन जरुरी रहेको पनि मन्त्री चौधरीले उल्लेख गरे ।
अमेरिकाको ग्रीनकार्ड छोडेका पौडेल गुठी संस्थानमा मनोनित
उनले अब नीजि क्षेत्रसँग मिलेर खेलाडीको रोजगारी श्रृजना गर्नु पर्नेमा पनि जोड दिए । यसैगरी खेलाडीहरुको विषयमा स्वास्थ्य मन्त्रालयसँग पनि छलफल भइरहेको मन्त्री चौधरीले जानकारी दिए ।