आइओएफटीसीको १६औँ संस्करण सुरु हुन एक महिना बाँकी, खेलाडी दर्ता धमाधम
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १६औँ संस्करण सुरु हुन अब एक महिना बाँकी छ।
नोभेम्बर २८ र २९ मा अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने प्रतियोगिताका लागि खेलाडी दर्ता धमाधम भइरहेको छ। आयोजकले अस्ट्रेलियासहित विभिन्न देशका खेलाडी, प्रशिक्षक र तेक्वान्दो क्लबलाई समयमै नाम दर्ता गराउन आग्रह गरेका छन्।
सन् २००० मा नेपालको काठमाडौंमा पहिलो संस्करण आयोजना गरेर सुरु भएको आइओएफटीसीले यसपटक १६औँ संस्करण आयोजना गर्न लागेको हो।
च्याम्पियनसिपले विभिन्न देशका तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई एउटै मञ्चमा जोड्दै प्रतिस्पर्धासँगै आपसी मित्रता र अनुभव आदानप्रदान गर्ने उद्देश्य राखेको छ।
यसपटकको च्याम्पियनसिपमा अमेरिकाबाट तेक्वान्दो क्षेत्रका अनुभवी व्यक्तित्व, उच्च पदाधिकारी तथा प्रशिक्षकहरूको सहभागिता रहने आयोजकले जनाएका छन्। उनीहरूको सहभागिताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय महत्त्व दिनुका साथै स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण र अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
आइओएफटीसीका निर्देशक ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनका अनुसार अमेरिकाबाट ब्रुस ह्यारिस, जिन सङ, सिनियर मास्टर एन्जेलिटो ओङ र मास्टर अमुल गोर्खाली मेलबर्न आउने कार्यक्रम छ।
ह्यारिस युएसए तेक्वान्दोका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। जिन सङ ट्रुस्कोर र डाएडोका निर्माता तथा सञ्चालकका रूपमा परिचित छन्। सिनियर मास्टर एन्जेलिटो ओङ विश्व पुम्से स्वर्ण पदक विजेता तथा अन्तर्राष्ट्रिय सेमिनार प्रशिक्षक हुन्।
मास्टर अमुल गोर्खाली अमेरिकाको एएयू तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक तथा स्पारिङ सेमिनार प्रशिक्षक हुन्। उनी आइओएफटीसीका उपाध्यक्षसमेत हुन्।
उनीहरूले प्रतियोगिताका अवसरमा विशेष प्रशिक्षण सेमिनार सञ्चालन गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएका छन्। यसबाट सहभागी खेलाडी तथा प्रशिक्षकले बोर्ड ब्रेकिङ, पुम्से, स्पारिङ र तेक्वान्दोका विभिन्न प्राविधिक पक्षमा थप ज्ञान हासिल गर्ने अवसर पाउनेछन्।
५० भन्दा बढी खेलाडीको दर्ता, समयमै नाम टिपाउन आग्रह
प्रतियोगिताको स्थानीय मूल आयोजक समितिका अध्यक्ष महादेव धनुकका अनुसार दर्ता प्रक्रिया सुरु भएको करिब दुई सातामा ५० भन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेका छन्। आयोजकले ४०० भन्दा बढी खेलाडी अस्ट्रेलियाबाट र एक सय ५० भन्दा बढी विश्वभरीबाट सहभागी गराउने लक्ष्य राखेका छन्।
धनुकका अनुसार अस्ट्रेलियाबाहिरबाट सहभागी हुन इच्छुक खेलाडीबारे विभिन्न ठाउँबाट सोधपुछ भइरहेको छ।
“हामी अहिले मुख्य रूपमा खेलाडीको दर्तामा जोड दिइरहेका छौँ। सकेसम्म धेरै खेलाडीले छिटो दर्ता गरिदिनुभयो भने तयारीलाई थप व्यवस्थित बनाउन सहज हुन्छ,” धनुकले भने।
उनले विदेशमा रहेका खेलाडी तथा क्लबलाई पनि समयमै दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरे। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले यहाँ क्लिक गरेर अनलाइन दर्ता गर्न सक्नेछन्।
दुई दिन प्रतिस्पर्धा र प्रशिक्षण
आयोजकका अनुसार नोभेम्बर २८ मा बोर्ड ब्रेकिङ, पुम्सेमा प्रतिस्पर्धा तथा विशेष सेमिनारलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना छ। नोभेम्बर २९ मा भने स्पारिङलगायतका प्रतिस्पर्धा सञ्चालन गरिनेछ।
प्रतियोगिताका लागि आवश्यक व्यवस्थापकीय तयारी पनि अघि बढिरहेको धनुकले बताए। सहभागी खेलाडीको स्वागत, आवास तथा अन्य व्यवस्थापनमा स्थानीय समुदायको सहयोग प्राप्त भइरहेको उनको भनाइ छ।
एनआरएनएसहित स्थानीय संस्थासँग सहकार्य
प्रतियोगिता सफल बनाउन स्थानीय समुदाय, विभिन्न तेक्वान्दो क्लब तथा संस्थासँग सहकार्य भइरहेको आयोजकले जनाएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियालाई सहआयोजकका रूपमा सहभागी गराइएको छ। सांस्कृतिक समूहलगायत अन्य संस्थाको सहयोग र सहभागितालाई पनि आयोजकले महत्त्व दिएका छन्।
प्रतियोगिताको व्यवस्थापन र सहभागी खेलाडीलाई आवश्यक सुविधा उपलब्ध गराउन स्थानीयस्तरमा सहयोग जुटिरहेको धनुकले बताए। उनका अनुसार प्रतियोगिताका अधिकांश व्यवस्थापकीय पक्ष तयार भइसकेका छन् र अहिले खेलाडीको सहभागिता बढाउने तथा दर्ता प्रक्रिया समयमै सम्पन्न गराउने विषयमा विशेष ध्यान दिइएको छ।
आयोजकले अस्ट्रेलियासहित विभिन्न देशका तेक्वान्दो खेलाडी, प्रशिक्षक, रेफ्री तथा क्लबलाई १६औँ आइओएफटीसीमा सहभागी हुन आग्रह गरेका छन्।
प्रतियोगिताले खेलकुद प्रतिस्पर्धासँगै अन्तर्राष्ट्रिय मित्रता, सहकार्य र तेक्वान्दो समुदायबीचको सम्बन्ध थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।
















