कोलम्बसमा पहिलो डक्स ओपन २०२६ कराते च्याम्पियनसिप हुँदै, तयारी तीव्र
सहयात्री ढकाल
कोलम्बस, ओहायो / अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा आगामी नोभेम्बर २८ मा डक्स ओपन कराते च्याम्पियनसिप २०२६ आयोजना हुने भएको छ। प्रतियोगिता सफल बनाउन आयोजकले तयारी तीव्र पारेका छन्।
डाइनामिक युनाइटेड सितोरियो कराते डो अमेरिका (डक्स)को आयोजनामा तथा यूएसए करातेको मान्यताप्राप्त प्रतियोगिताका रूपमा च्याम्पियनसिप सञ्चालन हुन लागेको हो। प्रतियोगिताका निर्देशक यदु कुइँकेलका अनुसार यसमा विभिन्न डोजोका खेलाडीले सहभागिता जनाउन सक्नेछन्।
कराते खेलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कुइँकेलका अनुसार प्रतियोगिताका दिन बिहान ८ बजे प्रवेशद्वार खुल्नेछ। प्रशिक्षकहरूको बैठक बिहान ८:३० बजे हुनेछ भने प्रतिस्पर्धा बिहान ९ बजेदेखि सुरु हुनेछ।
प्रतियोगिता कोलम्बसस्थित फार इस्ट कम्युनिटी सेन्टर, १८२६ ल्याटिमर ड्राइभ, कोलम्बस, ओहायो ४३२२७ मा आयोजना हुनेछ।
काता, कुमिते र पारा विधामा प्रतिस्पर्धा
प्रतियोगितामा काता, कुमिते, सामूहिक काता, युवा खेलाडी, वयस्क ब्ल्याक बेल्ट तथा पारा विधाका प्रतिस्पर्धा समावेश गरिएका छन्। खेलाडीले आफ्नो उमेर समूह, तौल र बेल्टको तहअनुसार प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
आयोजकका अनुसार प्रतियोगिता स्थलमा खेलाडीका लागि अभ्यास तथा तयारी क्षेत्र, दर्शकका लागि बस्ने व्यवस्था र प्राथमिक उपचारको प्रबन्ध मिलाइनेछ। त्यहाँ सवारीसाधन पार्किङको सुविधा पनि उपलब्ध रहनेछ।
अनुशासन, आत्मविश्वास र सामुदायिक एकतामा जोड
आयोजकका अनुसार प्रतियोगिता पदक जित्ने अवसरमा मात्र सीमित छैन। यसले बालबालिका तथा युवामा अनुशासन, आत्मविश्वास, खेल भावना र नेतृत्व क्षमता विकास गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
“यो प्रतियोगिता केवल पदकका लागि मात्र होइन, हाम्रा बालबालिकाको अनुशासन, आत्मविश्वास र समुदायको एकताका लागि हो। सबैलाई स्वागत छ,” आयोजक समितिले जनाएको छ।
ओहायोमा बसोबास गर्ने नेपालीभाषी भुटानी समुदायका लागि पनि प्रतियोगिता महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। कोलम्बस क्षेत्रमा कराते सिक्ने बालबालिका तथा युवाको सहभागिता बढिरहेको सन्दर्भमा यस प्रतियोगिताले खेलाडीलाई आफ्नो सीप प्रदर्शन गर्ने र अन्य डोजोका खेलाडीसँग अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ।
खेलकुदमार्फत बालबालिकालाई सकारात्मक गतिविधिमा संलग्न गराउने, उनीहरूको आत्मविश्वास बढाउने र विभिन्न समुदायबीच सहकार्य तथा एकता प्रवर्द्धन गर्ने माध्यमका रूपमा पनि प्रतियोगितालाई हेरिएको छ।
दर्ता शुल्क र सम्पर्क
आयोजकले सार्वजनिक गरेको विवरणअनुसार खेलाडीका लागि दर्ता शुल्क १०० अमेरिकी डलर, प्रशिक्षकका लागि ३५ अमेरिकी डलर र दर्शकका लागि दिनभरको प्रवेश शुल्क १० अमेरिकी डलर तोकिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा प्रशिक्षकले आयोजक यदु कुइँकेललाई ७०४-८०५-०१२१ मा सम्पर्क गर्न सक्नेछन्। आयोजकले नेपाली, अंग्रेजी र हिन्दी भाषामा आवश्यक जानकारी उपलब्ध गराउने जनाएको छ।
आयोजकले इच्छुक खेलाडी तथा प्रशिक्षकलाई समयमै दर्ता गर्न र प्रतियोगितासम्बन्धी नियमावलीबारे जानकारी लिन आग्रह गरेको छ।
डस्क ओपन कराते च्याम्पियनसिप २०२६ ले ओहायोमा कराते खेलको प्रवर्द्धन गर्नुका साथै विभिन्न डोजो तथा समुदायबीच सम्बन्ध विस्तार गर्न र नयाँ पुस्तालाई खेलकुदमा सक्रिय हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
















