गौहत्या प्रकरणः तीन भुटानी शरणार्थीसहित चार जना पक्राउ
काठमाडौं । झापाको दमकमा भएको गौहत्यामा संलग्न चार जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन्।
पक्राउ पर्नेहरूमध्ये दमक नगरपालिका वडा नं. २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट पनि रहेका छन्। उनी यसअघि चोरी, डाँका र अन्य सार्वजनिक अपराधका घटनामा संलग्न रहेको आरोपमा कारबाही भोगिसकेका छन्।
त्यसैगरी, बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए३ –२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल पनि पक्राउ परेका छन्। उनी पहिले पनि जबरजस्ती करणी र पशुपन्छीसम्बन्धी कसुरको मुद्दामा संलग्न रहिसकेका छन्।
त्यसैगरी, बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए२ – १२० बस्ने ३२ वर्षीय बिधान थापा पनि पक्राउ परेका छन्। उनी पनि विभिन्न सार्वजनिक अपराधका घटनामा संलग्न रहेका छन्।
साथै, दमक नगरपालिका वडा नं. ४ बस्ने ४५ वर्षीय गीता श्रेष्ठ पनि सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी छिन्।
भदौ १८ गते राति दमक नगरपालिका वडा नं. २ का लक्ष्मण बिष्टको वडा नं. १ स्थित पानीट्याङकी नजिक गोठमा बाँधेर राखिएको २ महिनाको गर्भिणी गाईलाई चोरी गरी गोठदेखि सय मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर काटिएको थियो।
गाईको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरिएको थियो र खुट्टा, करङ तथा घाँटीको मासु काटी अन्य शरीरको भाग घटनास्थलमा छोडिएको थियो।
घटनापश्चात् फरार रहेका व्यक्तिहरुको खोजतलास गर्नेक्रममा विभिन्न सामानसहित मानिसहरू पनि बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार घटनामा प्रयोग भएका खुकुरी, बन्चरो र मासु बोक्न प्रयोग गरिएको झोला भदौ २१ गते बरामद गरिएको जानकारी दिएका छन्।