पेन्सिल्भेनियामा दशैँ–तिहार च्यालेन्ज कप फुटबलको उपाधि एफसी रिभाइभललाई
पालमरा, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यको पालमरामा आइतबार सम्पन्न दशैँ–तिहार च्यालेन्ज कप २०२६ को उपाधि एफसी रिभाइभल ह्यरिसबर्गले जितेको छ।
शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनलमा एफसी रिभाइभलले सिन्सिनाटी राइनोलाई ४–२ गोलले पराजित गर्दै उपाधि जितेको हो।
विजेता टोलीले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ।
आइतबार भएको फाइनलमा एफसी रिभाइभलका इशाक चाम्लिङ राईले ह्याट्रिक गरे भने छवि लुइँटेलले एक गोल थपे।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका इशाकले शनिबारको खेलमा पनि ह्याट्रिक गरेका थिए। फाइनलमा समेत तीन गोल गर्दै उनले प्रतियोगिताको सबैभन्दा मूल्यवान् खेलाडी र फाइनल खेलको म्यान अफ द म्याचको उपाधि जिते।
व्यक्तिगत विधातर्फ एफसी रिभाइभलका मनोज राई उत्कृष्ट गोलकिपर घोषित भए। सिन्सिनाटी राइनोका रुनी बाबु उत्कृष्ट डिफेन्डर र दिली आचार्य उत्कृष्ट फरवार्ड बने।
यस्तै, एफसी ह्यारिसबर्ग लेजेन्ड्सका सन्तोष रानाले प्रतियोगितामा १० गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जिते।
विभिन्न राज्यबाट १२ टिमले भाग लिएको प्रतियोगिताको आइतबार नै भएको सेमिफाइनलमा एफसी रिभाइबलले भर्जिनिया राइनोलाई हराएको थियो । यस्तै अर्को सेमिफाइनलमा सिन्सी राइनोले नोर्बुलिका एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
महिलातर्फ सेन्ट्रल पीए मम्स एफसी विजयी
प्रतियोगिताअन्तर्गत आमाहरूबिचको मैत्रीपूर्ण फुटबल खेलमा सेन्ट्रल पीए मम्स एफसी विजयी भएको छ।

सेन्ट्रल पीए मम्स एफसी र ह्यारिसबर्ग मम्स युनाइटेड बीचको निर्धारित खेल गोल रहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लगाइएको थियो।
पेनाल्टीमा सेन्ट्रल पीए मम्स एफसीले ५–३ गोलले जित हासिल गरेको हो। ह्यारिसबर्ग मम्स युनाइटेड उपविजेता बन्यो।


प्रतियोगिताका विजेता तथा उपविजेता टिमका खेलाडीलाई स्वातारा टाउनसिप कमिस्नर बेनिता पुरी राई, भुट्नीज कम्युनीटी अफ सेन्टर पेन्सिल्भेनिया बीसीसीपीएकी अध्यक्ष निशा गुरुङ, उपाध्यक्ष ओमप्रकाश अधिकारी, गायक गणेश गुरुङले पुरस्कार वितरण गरेका थिए ।
मनिष चाम्लिङ, जीवन रानामगर, दीपेश प्रधान सहितको टोलीले प्रतियोगिता आयोजना गरेका थिए।
तस्बिरहरु तसमान गुरुङ
















