ओहायो फेयरफिल्डमा बीसीसीको दशैँ –तिहार साँझ, गीति नाटकले दर्शक भावुक
फेयरफिल्ड, ओहायो / भुट्निस कम्युनिटी अफ सिन्सिनाटी (बीसीसी) को आयोजनामा अक्टोबर ३१, शनिबार, फेयरफिल्डस्थित फेयरफिल्ड कम्युनिटी आर्ट्स सेन्टरमा ‘दसैँ–तिहार साँझ २०२६’ भव्य रूपमा सम्पन्न भएको छ।
गीत–सङ्गीत, नृत्य र नेपालीभाषी भुटानी समुदायको ऐतिहासिक यात्रामा आधारित मार्मिक गीति नाटकले कार्यक्रमको माहोल उत्सवमय बनाएको थियो। दर्शकले खचाखच भरिएको सभागृहमा प्रस्तुत गीति नाटकले धेरैलाई भावुक बनायो।
दोस्रो वर्षमा प्रवेश गरेको कार्यक्रममा फेयरफिल्डका मेयर टिम मेयर्स प्रमुख अतिथि थिए। बीसीसीका अध्यक्ष पुष्प लुइटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न पुस्ता, पेसा र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो।
मेयर मेयर्सले भुटानी समुदायको परिश्रम, सांस्कृतिक समृद्धि र स्थानीय समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै यो समुदाय फेयरफिल्डको अभिन्न हिस्सा हुनु गौरवको विषय भएको बताए।
उनले सामुदायिक सेवा र फेयरफिल्डप्रतिको समर्पणको कदरस्वरूप नगरपालिकाले बीसीसीलाई प्रदान गरेको प्रशंसापत्र अध्यक्ष लुइटेललाई हस्तान्तरण गरे। सम्मानले संस्था र नगर प्रशासनबीचको सकारात्मक सम्बन्ध तथा सामुदायिक सहकार्यलाई उजागर गरेको थियो।

कार्यक्रममा चलचित्र निर्देशक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (आईएनएएस) केन्टकीसँग आबद्ध सुमन दाहाल, आईएनएएस ओहायो च्याप्टरका अध्यक्ष रुपेश उप्रेती, नेपालीभाषी चर्चहरूको संस्था (एनएससीसी) का अध्यक्ष पास्टर विनोद थुलुङ, हिन्दु रिसोर्स सेन्टर (एचआरसी) का अध्यक्ष काशी घिमिरे, नेपाली भाषा तथा कला केन्द्र (एनएलएसी) का अध्यक्ष तारा दाहाल, एलसीओबीका अध्यक्ष खेम रिजाल, सिनसिनाटी बौद्ध समाज (बीएससी) का निवर्तमान अध्यक्ष लाक्पा तामाङ तथा भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) सँग आबद्ध भानु खनाल र सिर्जना तिम्सिनाको उपस्थिति थियो।
स्वास्थ्य सेवा, इन्जिनियरिङ, सामाजिक सेवा, घरजग्गा कारोबार र आवासीय ऋण व्यवसायलगायत क्षेत्रका प्रतिनिधि, धर्मगुरु, व्यवसायी तथा विभिन्न सामाजिक सङ्घसंस्थाका पदाधिकारीहरू पनि कार्यक्रममा सहभागी थिए।
चलचित्र निर्देशक सुमन दाहालले लामो समयपछि यस्तो जीवन्त र स्तरीय सांस्कृतिक कार्यक्रम हेर्न पाएकोमा खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सार्वजनिक गरेका थिए। अनुभवी सञ्चारकर्मी नरेश गौतमको सन्तुलित र प्रभावकारी उद्घोषणले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। कार्यक्रम सञ्चालनमा डिजिटल प्रविधिको समेत प्रयोग गरिएको थियो। खडा गौतमले पूर्वतयार भिडियोमार्फत स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।
गीति नाटकले दर्शकका आँखा रसाए
रुपेश उप्रेतीको लेखन तथा निर्देशनमा तयार पारिएको गीति नाटक कार्यक्रमको प्रमुख आकर्षण बन्यो। नेपालदेखि भुटान हुँदै अमेरिकासम्म नेपालीभाषी भुटानी समुदायले तय गरेको ऐतिहासिक यात्रा, सङ्घर्ष, विस्थापन, छुटेका सम्बन्ध, सामूहिक स्मृति र पुनर्स्थापनाका अनुभूतिलाई सङ्गीत, संवाद र अभिनयमार्फत प्रस्तुत गरिएको थियो।

पुस्तौँको सङ्घर्ष र नयाँ भूमिमा स्थापित जीवनका अनुभव समेटिएको प्रस्तुतिका क्रममा कतिपय दर्शक आँसु पुछिरहेका देखिन्थे। केही सहभागीले नाटकले विगतका कठिन दिन र जीवनका पीडादायी अध्याय पुनः स्मरण गराएको प्रतिक्रिया दिएका थिए।
उप्रेतीको मौलिक कथावस्तु, लेखन तथा निर्देशनसँगै पृष्ठभूमि सङ्गीत, पार्श्वस्वर र संवादले नाटकलाई प्रभावशाली बनाएको थियो। पृष्ठभूमि सङ्गीत, पार्श्वस्वर तथा संवादमा आवाज थापा, संवाद थापा र शशिविक्रम थापाको योगदान थियो। मनोरञ्जनमा मात्र सीमित नरही नाटकले समुदायको सामूहिक स्मृति, सांस्कृतिक निरन्तरता र पुस्तान्तरणको अनुभवलाई कलात्मक अभिव्यक्ति दिएको थियो।
गीत, सङ्गीत र नृत्यले थप्यो रौनक
ग्लोबल डान्स स्टुडियोका कलाकारहरूले दसैँ–तिहारसम्बन्धी सांस्कृतिक नृत्य, नेपाली लोकनृत्य तथा मारुनी नृत्य प्रस्तुत गरेका थिए। बालबालिका, युवा र विभिन्न उमेर समूहका कलाकारको सहभागिताले कार्यक्रमलाई बहुपुस्तीय सांस्कृतिक मिलनको रूप दिएको थियो।

साङ्गीतिक प्रस्तुतितर्फ गायक, गीतकार तथा कलाकार प्रकाश घिमिरे, अनुभवी गायकद्वय किशोर सिवाकोटी र राम गुरुङ, गायकद्वय मोहन तिवारी र सुरज गुरुङ, गायक निश्चल अधिकारी तथा गायिकाहरू सारा दुवाडी, नैना आचार्य, पिंकी शर्मा, निरु राई र सम्झना ओलीले प्रस्तुति दिएका थिए।

युवा गायक तथा सङ्गीतकार दिगान्त गुरुङले गिटारवादन र दीक्षान्त गुरुङले सेक्सोफोनवादनसँगै गायन प्रस्तुत गरेका थिए। वाद्यवादनतर्फ अडी गुरुङले गिटार, इन्द्र लामिछानेले तबला, सर्वजित राईले बाँसुरी र डेभिड ढकालले किबोर्डमार्फत साथ दिएका थिए।
सिस्टर्स इन्फिनाइट भाइब्स र नवा डान्स इन्स्टिच्युटका कलाकारका नृत्यले पनि कार्यक्रमको आकर्षण बढाएका थिए। परम्परागत लोकलयदेखि समकालीन साङ्गीतिक प्रस्तुतिसम्म समेटिँदा दर्शक उत्साहित बनेका थिए। कार्यक्रमको सञ्चार तथा प्रचारप्रसारमा मिडिया पार्टनर एनके ब्रदर्सले योगदान पुर्याएको थियो।
सांस्कृतिक पहिचान र नयाँ पुस्ताको उत्सव
कार्यक्रममा समुदायका अग्रजदेखि अमेरिकामा हुर्कँदै गरेका नयाँ पुस्तासम्मको उत्साहजनक सहभागिता थियो। परम्परागत गीत, सङ्गीत र नृत्यले सांस्कृतिक निरन्तरता झल्काउँदा युवा कलाकारको सिर्जनात्मक उपस्थितिले त्यस विरासतको भविष्यप्रतिको विश्वास बलियो बनाएको थियो।
समापनमा बीसीसीका अध्यक्ष पुष्प लुइटेलले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने कलाकार, स्वयंसेवक, सहयोगी संस्था, प्रायोजक, अतिथि तथा सहभागीप्रति आभार व्यक्त गरे।
लुइटेलले अग्रज पुस्ताले भौगोलिक सीमा र अनेकौँ चुनौती पार गर्दै जोगाएको सांस्कृतिक विरासतलाई अहिलेका बालबालिका तथा युवाले आफ्नै प्रतिभा र सिर्जनशीलतामार्फत अमेरिकी समाजको साझा कथामा जोडिरहेको बताए। उनले सांस्कृतिक पहिचानको संरक्षणसँगै विविध समुदायबीच सम्बन्ध, सहकार्य र आपसी सम्मान सुदृढ बनाउने बीसीसीको प्रतिबद्धता दोहोर्याए।
फेयरफिल्डमा सम्पन्न ‘दसैँ–तिहार साँझ २०२६’ ले नेपालीभाषी भुटानी समुदायको ऐतिहासिक स्मृति, वर्तमान उपलब्धि र नयाँ पुस्ताको सम्भावनालाई एउटै मञ्चमा जोडेको छ। सांस्कृतिक जरालाई जीवन्त राख्दै अमेरिकी समाजको साझा भविष्यमा योगदान पुर्याउने समुदायको यात्रालाई कार्यक्रमले कलात्मक रूपमा प्रस्तुत गरेको थियो।

















