पेन्सिल्भेनियाको १०औँ जिल्लामा डेमोक्र्याट जेनेल स्टेल्सन विजयी, रिपब्लिकन सांसद स्कट पेरी पराजित
गोबिन्द गुरुङ ‘लेक्स’
कार्लाल, पेन्सिल्भेनिया / डेमोक्र्याटिक पार्टीकी उम्मेदवार जेनेल स्टेल्सनले पेन्सिल्भेनियाको १०औँ कंग्रेसनल जिल्लामा रिपब्लिकन पार्टीका निवर्तमान सांसद स्कट पेरीलाई पराजित गरेकी छन्।
एसोसिएटेड प्रेस ‘एपी’को निर्वाचन परिणामसम्बन्धी प्रक्षेपणअनुसार स्टेल्सन विजयी भएकी हुन्। मंगलबार राति ‘एपी’ले स्टेल्सनको जित घोषणा गरेको थियो। अब उनले अमेरिकी प्रतिनिधिसभामा कम्बरल्यान्ड, डाउफिन र योर्क काउन्टीका जनताको प्रतिनिधित्व गर्नेछिन्।
स्टेल्सनको चुनावी अभियानको वेबसाइटअनुसार उनले मध्यमवर्गीय परिवारलाई कर छुट दिने, इरानमा जारी युद्ध अन्त्य गर्ने र ट्रम्प प्रशासनले लगाएका भन्सार कर ‘ट्यारिफ’ खारेज गर्ने समर्थन गरेकी छन्।
स्टेल्सनले कङ्ग्रेसका सदस्यहरूको कार्यकाल र उमेरमा सीमा तोकेर वासिङ्टनमा व्याप्त भ्रष्टाचारविरुद्ध प्रत्यक्ष रूपमा लड्न चाहेको बताएकी छन्।
स्वास्थ्य सेवाका विषयमा उनले चिकित्सकले सिफारिस गर्ने औषधिको मूल्य घटाउनुपर्ने बताएकी छन्। साथै, गर्भपतनसम्बन्धी अधिकारलाई कानुनमार्फत सुनिश्चित गर्ने पक्षमा पनि आफू रहेको बताएकी छन्।
स्टेल्सनले सीमा सुरक्षा थप कडा बनाउनुपर्ने र अमेरिकामा गैर कानुनी रूपमा बसोबास गर्ने व्यक्तिहरूलाई करदाताको पैसाबाट सरकारी सुविधा उपलब्ध गराउने कुराको विरोध गर्ने बताएकी छन्।
त्यसै गरी, उनले न्यूनतम पारिश्रमिक बढाउने र कलेजको डिग्री आवश्यक नपर्ने पेसाहरूलाई प्रोत्साहन गर्ने समर्थन गरेकी छन्। मेकानिक्स, इलेक्ट्रिसियन तथा अन्य सीपमूलक प्राविधिक पेसाहरूलाई उनले उदाहरणका रूपमा प्रस्तुत गरेकी छन्।
स्टेल्सनले ऊर्जा लागत घटाउने र आफ्नो समुदायमा डाटा सेन्टर निर्माण गर्ने वा नगर्ने निर्णय स्थानीय समुदायलाई नै गर्न दिनुपर्ने धारणा पनि राखेकी छन्।
अमेरिकी प्रतिनिधिसभामा डेमोक्र्याटिक पार्टीलाई बहुमत दिलाउने उद्देश्यले पेन्सिल्भेनियाका गभर्नर जोस शापिरोले समर्थन गरेका चार उम्मेदवारमध्ये स्टेल्सन पनि एक हुन्।



















