पेन्सिल्भेनियाको ह्यारिसबर्गमा नेपथ्य :उर्लिए दर्शक,कीर्तिमान कायम
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा शनिवार साँझ नेपालको प्रसिद्ध ब्यान्ड नेपथ्यले साङ्गीतिक प्रस्तुति दिएको छ।
यस पटकको अमेरिका भ्रमणमा ह्यारिसबर्गको सो नेपथ्यको अन्तिम हो। नेपथ्यले यस अगाडि अमेरिकाका विभिन्न ६ शहरमा कार्यक्रम गरेको थियो। अमेरिकाको अन्यत्र जस्तै ह्यारिसबर्गमा पनि दर्शकको उलेख्य उपस्थिति रहेको थियो।
नेपथ्यको शनिवारको सो ले ह्यारिसबर्गका नेपाली र नेपाली भाषी भुटानी समुदायमा भएका सांगितिक कार्यक्रममा टिकट काटेर सर्वाधिक दर्शक उपस्थितिको कीर्तिमानी कायम गरेको छ।
नेपथ्यको स्थानीय आयोजक एसएन इन्टरटेन्टमेन्ट थियो। आयोजकले १५ सय भन्दा बढी टिकट बिक्री भएको जनाको छ। ह्यारिसबर्गको दि फोरम अडिटरियममा कार्यक्रम भएको थियो। सो अडिटरियममा १८ सय सम्म दर्शक क्षमता रहेको छ। हलमा भिआइपी दर्शकहरूका लागि विशेष व्यवस्था गरिएको थियो।
टिकट अनलाइन र स्थलगत बिक्री गरिएको थियो। टिकट मूल्य ७० देखि ९० डलर सम्म कायम गरिएको थियो।
ह्यारिसबर्गमा नेपाली तथा नेपाली भाषी भुटानी समुदायको कार्यक्रम हुँदै आएका हलहरूमा दि फोरम अडिटरियम नै सबै भन्दा ठुलो हल हो। यस हलमा अहिले सम्म भएका कार्यक्रममा दर्शकहरूको यति ठुलो मात्रामा उपस्थित भएको थिएनन्।
दर्शकहरु नेपालको राष्ट्रिय झण्डा सहित हलमा उपस्थित भएका थिए।
नेपथ्यको सो का लागि पेन्सिल्भेनिया बाहेकका विभिन्न राज्यहरूबाट पनि दर्शकहरू भेटिएका थिए। कतिपय दर्शकले आफूहरू दश घण्टा ड्राइभ गरेर पनि नेपथ्यको सोका लागि ह्यारिसबर्ग आएको बताएका थिए।
पेन्सिल्भेनियाका विभिन्न शहरबाट चार घण्टा भन्दा बढी समय ड्राइभ गरेर आएका दर्शक पनि भेटिएका थिए। यस्तै न्यु योर्क, मेरिल्यान्ड, नर्थ क्यारोलिना, ओहायो, भर्मण लगायतका राज्यबाट पनि दर्शकहरू आएका थिए।
कार्यक्रम शुरु हुनु भन्दा साँढे दुई घण्टा अगाडि बाट नै दर्शकहरू हल अगाडि लामबद्ध भएका थिए। कार्यक्रम साँझ आठ बजे शुरु भएको थियो। कार्यक्रम शुरु हुँदा कतिपय दर्शक हल भित्र प्रवेश गर्दै थिए।
नेपथ्य समूहले दुई घण्टा प्रस्तुति दिएको थियो। गायक अमृत गुरुङले बिच बिचमा जनचेतना मूलक अपिलहरू गर्दै आफ्नो गायकीलाई अगाडी बढाएका थिए।
कार्यक्रमका तस्बिरहरु