प्रहरीले पनि लियो पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान
काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा आरोप लागेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग कास्की प्रहरीले बयान लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माको नेतृत्वमा काठमाडौं आएको अनुसन्धान टोलीले भदौ १० मा रवि लामिछानेसँग बयान लिएको हो।
यसअघि, सहकारी ठगीको छानबिनका लागि बनेको संसदीय विशेष समितिले भदौ ७ मा लामिछानेसँग करिब १० घण्टासम्म बयान लिएको थियो। प्रहरीको टोलीले लामिछानेसँगको बयानपछि गोर्खा मिडिया नेटवर्क, नेचर नेस्ट इन्टरनेसनल, र नेचर हर्ब्सको कार्यालयमा छापा मारेको थियो।
पोखराको सूर्यदर्शन सहकारीमा १८,७०० सर्वसाधारणको बचत हिनामिना भएको आरोपमा लामिछानेसहितका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा लामिछाने गृहमन्त्री भएका बेलामा पनि सोधपुछ गर्ने प्रयास भएपनि सो प्रक्रिया रोकिएको थियो।
अहिले पनि विभिन्न प्रहरी निकायहरूबीच समन्वयको अभाव देखिएको छ। कास्की प्रहरीले एक महिनाअघि काठमाडौं परिसरलाई अनुसन्धानमा सहयोगका लागि पत्र पठाए पनि कुनै जवाफ नआएपछि टोलीले काठमाडौं आएर बयान लिएको हो।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित १९ जनालाई प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। यस प्रकरणमा लामिछानेले आफ्नो संलग्नता अस्वीकार गरेका छन्, तर गोर्खा मिडिया नेटवर्कसँगको सम्बन्ध भने अस्वीकार गरेका छैनन्।