प्रवासको दशैँ
कृशु क्षेत्री
दिनभरि भेडा चराएँ
ढुङ्गा फोरें, माटो स म्याएँ
आफैँले चराएको भेडाको बगालको
एउटा भेडा रहेछु म
बल्ल पो थाहा पाएँ
जब साथीले आँखाभरि आँसु पार्दै भन्यो-
आज त दशैँ हो
मीठो मसिनो खाने दिन
राम्रो सुकिलो लाउने दिन
दशैँ आयो कि
म त बयेली खेल्दैहिँड्ने मान्छे
बुर्कुसी मार्दै दगुर्ने मान्छे
सजाउँथेँ भीरमा फुलेको सपनाको सुनाखरी
रङ्गाउँथेँ पाखामा फक्रेको कल्पनाको लालीगुराँस
तिहार लाग्यो कि दिदीको खुसी म
हरदिन बूढी आमा र बाउको लाठी म
उतै छाडेर आएँछु मैले
मुस्कुराउने ओठहरू
इमान्दार साथीहरू
आशीर्वादचन
र कहिल्यै नओइलाउने जमराहरू
साथीले सम्झाएपछि
मासु किनें, अलिकति तुनभुटुन
पकाएँ मीठो मसिनो
आफैँ आगोमा जल्दैजल्दै
खान बसें एक्लै
अलिनो तरकारी
नुन थपे पनि अलिनो भइरह्यो
एक्कासि खस्यो आँसु र पिएँ
नुनिलो रैछ
प्रवासको दशैँमा
नुनभन्दा नुनिलो हुनैरैछ
आफ्नै आँसु
मासु किन्न जाँदा देख्छु
घाँसमा रमाउँदै
काटिन जगर हल्लाइरहेको बोको
हेर्दाहेर्दै बोकोमा परिणत हुन्छु म
कहिले परिवारको सुखका लागि
कहिले सुरक्षित भविष्यका लागि
यो मरुभूमिमा
काटिन लागेको बोकोमा अनुदित भइरहन्छु म
थाहै नपाई हरक्षण काटिदैगएको छु
आफ्नै मलामी जाँदै
आफ्नै मासु पकाएर खाँदैछुन्छु
अहँ ! हुँदोरहेनछ स्वाद
सम्झन्छु-
छोरा छिमेकीको खसी हेरेर र्याल चुहाइरहेको
छोरी साथीले लगाएको नयाँ लुगामा लोभिरहेको
सम्झँदासम्झँदै काटियो औंला
र बग्न थाल्यो रगत
हतारहतार चुसें
मीठो लाग्यो स्वादिलो लाग्यो
प्रवासको दशैँमा
मासुभन्दा स्वादिलो हुँदोरैछ
आफ्नै रगत
घर सम्झन्छु
घरसँगै आउँछन् भित्ताभरि टाँसिएका तमसुक
साहूका अनुहार
छोराछोरीको भविष्य
वृद्ध बाउआमाको बाँच्ने आधार
साँच्चि किन थाप्न सकिन्न
प्रवासको दशैँमा
खुसी किन्ने आशीर्वाद ।
(नोट: यो कविता कृशु क्षेत्रीको ‘चराका गीतहरू’ सङ्ग्रहमा प्रकाशित छ। कविको स्वीकृतिमा हामीले यसलाई प्रकाशित गरेका हौँ। – सं.)
















