बालबालिकाको सोसलल सँगै ट्रम्प अकाउन्ट
बाल्टिमोर, मेरिल्याण्ड / सोसल सेक्युरिटी एडमिनिष्ट्रेसन (एसएसए) ले नवजात शिशुका लागि जारी गरिने सामाजिक सुरक्षा कार्डसँगै ‘ट्रम्प अकाउन्ट’ सम्बन्धी जानकारी समावेश गर्न थालेको छ। यसबाट योग्य बालबालिकाका अभिभावकलाई खाता दाबी गर्न, सक्रिय बनाउन र व्यवस्थापन गर्न सहज हुने एसएसएले जनाएको छ।
एसएसएका अनुसार सन् २०२५ जनवरी १ देखि २०२८ डिसेम्बर ३१ सम्म जन्मिएका योग्य बालबालिकाले अमेरिकी अर्थ मन्त्रालयबाट एकपटकका लागि एक हजार अमेरिकी डलर प्राप्त गर्न सक्नेछन्।
नवजात शिशुको सामाजिक सुरक्षा कार्डसँग पठाइने नयाँ जानकारीपत्रमा अभिभावकले ट्रम्प अकाउन्ट दाबी गर्ने प्रक्रियाबारे सरल निर्देशन समावेश गरिएको छ। यसका लागि अभिभावकले TrumpAccounts.gov मा गएर ट्रम्प अकाउन्ट एप डाउनलोड गरी दर्ता गर्नुपर्नेछ। त्यसपछि अर्थ मन्त्रालयबाट आउने सूचनाअनुसार योग्य बालबालिकाको खाता सक्रिय गरी एक हजार डलर प्राप्त गर्ने प्रक्रिया अघि बढाउन सकिनेछ।
एसएसए आयुक्त फ्र्याङ्क जे. बिसिग्नानोले यस पहलले बालबालिकाको भविष्यका लागि आर्थिक आधार तयार गर्न परिवारलाई सहयोग पुग्ने बताएका छन्।
उनका अनुसार जन्म दर्ताकै क्रममा सामाजिक सुरक्षा नम्बरका लागि आवेदन दिने व्यवस्थाअन्तर्गत जारी गरिने कार्डसँगै ट्रम्प अकाउन्टको जानकारी पठाउँदा अभिभावकले खाता सक्रिय गर्ने प्रक्रिया छिट्टै सुरु गर्न सक्नेछन्।
अमेरिकामा ‘इन्भुमरेसन एट बर्थ’ कार्यक्रमअन्तर्गत अभिभावकले शिशुको जन्म दर्ता गर्दा नै सामाजिक सुरक्षा नम्बरका लागि अनुरोध गर्न सक्छन्। राज्यका जन्म तथा महत्वपूर्ण अभिलेखसम्बन्धी निकायले जन्म दर्ताको विवरण विद्युतीय माध्यमबाट सोसल सेक्युरिटी एडमिनिष्ट्रेसनलाई पठाउँछन्। त्यसपछि प्रशासनले बालबालिकालाई सोसल सेक्युरिटी नम्बर प्रदान गरी कार्ड जारी गर्छ।
सोसल सेक्युरिटी एडमिनिष्ट्रेसनले अमेरिकी अर्थ मन्त्रालयसँग सहकार्य गर्दै यही प्रक्रियामार्फत नवजात शिशुलाई पठाइने सोसल कार्डसँग ट्रम्प अकाउन्टसम्बन्धी जानकारीपत्र पनि समावेश गरेको हो।
के हो ट्रम्प अकाउन्ट?
ट्रम्प अकाउन्ट बालबालिकाका लागि स्थापना गरिएको करसम्बन्धी विशेष सुविधा भएको लगानी खाता हो। प्रत्येक योग्य बालबालिकाका लागि एउटा खाता खोल्न सकिन्छ। अभिभावक, कानुनी संरक्षक वा अधिकारप्राप्त व्यक्तिले खाताको जिम्मेवारी र व्यवस्थापन गर्न सक्छन्।
सोसल सेक्युरिटी एडमिनिष्ट्रेसनले दिएको जानकारीअनुसार हालसम्म योग्य बालबालिकाका लागि करिब सात करोड ट्रम्प अकाउन्ट खोलिएका छन्। तीमध्ये दुई करोड ६० लाख खातामा योगदान रकम जम्मा भइसकेको छ।
कतिपय दाबी नगरिएका खातामा पनि दाताहरूले रकम योगदान गरिसकेको प्रशासनले जनाएको छ। खाता दाबी भएपछि परिवारका सदस्य, साथीभाइ तथा रोजगारदाताले पनि लागू हुने सीमाभित्र रहेर खातामा थप रकम जम्मा गर्न सक्नेछन्।
बालबालिका १८ वर्ष पुगेपछि पनि ट्रम्प अकाउन्ट परम्परागत अवकाश बचत खाताका रूपमा कायम रहने व्यवस्था रहेको प्रशासनले जनाएको छ। यसले खातामा रहेको रकमलाई लामो समयसम्म लगानीमार्फत वृद्धि गर्ने अवसर दिन सक्छ।
ट्रम्प अकाउन्टको योग्यता, खाता सक्रिय गर्ने प्रक्रिया तथा अन्य जानकारीका लागि TrumpAccounts.gov मा जान सकिन्छ।
















