फेसबुकमा विज्ञापन गरिएको सुन लुट्न गएका तीन जनालाई आइसले हिरासतमा लिने
टेनेसी, अमेरिका / फेसबुक मार्केटप्लेसमा विज्ञापन गरिएको सुन लुट्न गएको आरोप लागेका तीन जनालाई इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले हिरासतमा लिने भएको छ।
टेनेसीको फ्र्याङ्कलिनमा अक्टोबर ९ मा भएको सशस्त्र डकैतीको घटनामा पक्राउ परेका तीनै जनालाई स्थानीय हिरासतबाट रिहा भएपछि आइसको जिम्मा लगाइने जनाइएको छ।
आइसका अनुसार जोसे इजरायल पाइज-गोदोय, रुबेल राफायल रोड्रिगेज-लिस्ता र इभान जारेड लागोस-एस्पिनोजाविरुद्ध अक्टोबर १० मा विलियमसन काउन्टी जेलमा हिरासत अनुरोध दर्ता गरिएको हो।
स्थानीय अधिकारीहरूका अनुसार फेसबुक मार्केटप्लेसमा विज्ञापन गरिएको गहनासम्बन्धी कारोबारका क्रममा फ्र्याङ्कलिनस्थित एक घरमा सशस्त्र डकैती भएको थियो।
एक स्थानीय बासिन्दाले आफ्नो बहुमूल्य गहना र सुन बिक्रीका लागि फेसबुक मार्केटप्लेसमा विज्ञापन राखेका थिए।
ग्राहक बनेर आएका तीनजना हतियारधारी लुटेराहरू राती उनको घरमै प्रवेश गरे। उनीहरूले पेस्तोल र सर्टगन देखाउँदै पीडितको टाउकोमा बन्दुक तेर्स्याएर ज्यान मार्ने धम्की दिए र गहना लुटेर फरार भए।
घटनाको तुरुन्तै पछि पुगेको फ्र्याङ्कलिन प्रहरीले लुटेराहरूको गाडीलाई फेला पारेर लखेटेको थियो। प्रहरीसँगको खतरनाक दौडपछी अन्ततः तीनैजना संदिग्धहरूलाई हिरासतमा लिइयो।
आइसका अनुसार स्थानीय हिरासतबाट रिहा भएपछि तीनै जनालाई आफ्नो जिम्मा लगाइनेछ। उनीहरूलाई निष्कासनसम्बन्धी कानुनी प्रक्रिया टुंगो नलागेसम्म हिरासतमा राखिने र कानुनी प्रक्रिया पूरा गर्ने अवसर दिइने जनाइएको छ।
















