शर्माजीका पाँच लघुकथा – नबिन शर्मा भट्टराई
सभ्य र भव्य मेला
-शर्माजी
आउँदो पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने र परम्परागत संस्कार जोगाइराख्ने उद्देश्यले स्थानीय सामुदायिक संस्थाले दसैँ मेला आयोजना गर्ने प्रस्ताव नगरप्रमुखसमक्ष राख्यो। नगरप्रमुखलाई पनि विभिन्न समुदायमध्ये यस समुदायमा आफ्नो मताधार कति छ भन्ने अनुमान गर्नु थियो। सुरक्षाका दृष्टिले उपयुक्त स्थल उपलब्ध गराइदिने आश्वासनसहित प्रस्ताव स्वीकृत भयो।
नगरको बीचोबीच, एकातिर चौडा र गहिरो नदी अनि अर्कातिर व्यस्त सडकले घेरिएको स्थानमा मेलाको मिति र समय तोकियो।
एकदिने मेलामा समुदायका झन्डै साठी प्रतिशत मानिसको ओइरो लाग्यो। त्यसमध्ये बीस प्रतिशतले व्यापारको राम्रो अवसर देखे र सेकुवा तथा चिसो पेय पदार्थका पसलरूपी जाल बिछ्याए। दस प्रतिशतले धार्मिक प्रचारको अवसर देखे। हातमा पुस्तक र पर्चारूपी अस्त्रशस्त्र बोकेको वानरसेना मैदानमा उतारे। पाँच प्रतिशतले मध्यावधि निर्वाचनको चहलपहलको मौका छोपेर सकेजतिलाई मतदाता बनाउने जमर्को गरे।
अर्को पाँच प्रतिशतले साहित्यिक गोष्ठीको अवसर त्यहीँ देखे। बडादसैँको शुभकामनासँगै मञ्चबाट मुक्तक र कविता माइकमार्फत पस्किन थाले। गोष्ठीमा दुई प्रतिशतले माइक समाए। बाँकी तीन प्रतिशतले पूरै गोष्ठीको शून्य दशमलव पाँच प्रतिशत दृश्य अवलोकन गरे र त्यति नै श्रवण गर्ने असफल प्रयास गरे।
उपस्थित जनसमूहमा झन्डै पचास प्रतिशत त बालबालिका नै थिए। नहुन् पनि कसरी? आखिर यो मेला उनीहरूलाई नै संस्कार हस्तान्तरण गर्न आयोजना गरिएको थियो! तर सुरक्षाका कारण बालबालिकामध्ये एक प्रतिशतले त अभिभावकको औँला नै छोड्न पाएनन्।
बालबालिका सायद त्यहाँ लिङ्गेपिङ खोज्दै थिए। रङ्गीचङ्गी चङ्गा उडाउन चाहन्थे। कसैलाई रमाइला खेलौना चाहिएका थिए, कसैलाई सांस्कृतिक पोसाक र मौलिक परिकार। कोही टालाटुलीका पुतली, रोटेपिङ, दही–चिउरा–केरा र रङ्गीन बालपुस्तक खोज्दै थिए। कोही पिपी बज्ने बाजा फुक्न चाहन्थे त कोही धागो बेरेको लट्टु भुइँमा घुमाएर कसको लट्टु धेरै बेर घुम्छ भन्ने प्रतिस्पर्धा गर्न। अनि साथीहरूसँग छोइडुम खेल्दै रमाउन मिल्ने एउटा सानो, सुरक्षित मैदान पनि त चाहिएको थियो।
तर तिनका साना आँखाले भ्याएसम्म हेर्दा पनि तीमध्ये केही भेटिएन। बालक्रीडा भनौँ वा बाललीला, गर्न त परिहाल्यो! कोही रूख चढ्न थाले। कोही व्यस्त सडकतिर लागे। कोही नदीकिनारमा पुगे र मसिना, चेप्टा ढुङ्गा खोजेर पानीको सतहमा भ्यागुता कुदाउने प्रतियोगिता गर्न थाले।
केही बेरपछि …
सडक व्यवस्थापनमा खटिएका एक नगर प्रहरीले एउटा बालकलाई लिएर आए। अभिभावक खोजिदिन मञ्चमा व्यस्त उद्घोषकको सहायता मागे।
त्यसको केही समयपछि सप्ताहान्तमा आफ्नो सानो डुङ्गाबाट बल्छी खेलिरहेका एक नगरवासी निथ्रुक्क भिजेकी बालिकालाई आफ्नै तौलियामा गुटुमुटु पारेर लिएर आए। मेलामा खटिएका स्वयंसेवक खोजे। कोही भेटिएनन्। अन्ततः छेउमै मासु पोलिरहेका एक पसलेलाई बालिका जिम्मा लगाएर फर्किए।
उता, आफ्नो तन्दुरुस्तीका लागि पार्कमा दौडिरहेकी एक महिलाले रूखमुनि घुँडा समातेर रोइरहेको अर्को बालक भेटिन्। उसको घुँडा ताछिएको थियो। प्राथमिक उपचारका लागि मेलामा कुनै शिविर छ कि भनेर बालकलाई डोर्याउँदै ल्याइन्। तीन–चार जनासँग सोधपुछ गरिन्। कतै केही उपाय लागेन।
त्यत्तिकैमा चटपटे खाँदै गरेकी एक महिलाले बालकका अभिभावकलाई चिनेको दाबी गरिन्। धावक महिलाले बालक उनैको जिम्मा लगाइन् र आँखीभौँ तन्काउँदै आफ्नो बाटो लागिन्।
बिहानदेखि चलेको मेलामा कसले कति खाए, कति सुने, कति हेरे र कति विचार गरे? कस्तो अवलोकन भयो? कुन व्यवसायीले कति आम्दानी गरे? कसैले लेखाजोखा गरेन।
तर दिनभरि गोष्ठीको उद्घोषण गरेर साँझ घर फर्किएका एक भलाद्मी साहित्यकारको जिम्मेवारी अझै सकिएको थिएन। उनले तीन पानाको प्रतिवेदन तयार पारे। आफ्नो स्मार्टफोनबाट उपयुक्त तस्बिर छाने। अनि सबैलाई मिल्ने एउटा साझा इमेलको मस्यौदा पनि बनाए।
एउटै समाचार, एउटै तस्बिर र एउटै मस्यौदा तीन स्थानीय पत्रिका, विदेशका चार अनलाइन पत्रिका र पाँच सामाजिक सञ्जालका माध्यममा एकैपटक पठाइयो।
केही बेरमै देश–विदेशमा रहेका पाँच प्रतिशत नेपालीका स्मार्टफोनमा सूचना बज्यो। समाचार खुल्यो—
“…राजधानीमा आयोजित दसैँ मेला अप्रत्याशित सहभागिताका साथ सभ्य र भव्य रूपमा सम्पन्न भयो।”
इन्साफ
-शर्माजी
बडो सङ्घर्ष गरेर मर्निङ ढुकुरले आफ्नो चल्लालाई बाल्ड ईगलको आक्रमणबाट बचायो। तर त्यस क्रममा चीललाई सामान्य चोट लाग्यो। सन्तानको ज्यान जोगिएकोमा ढुकुरको परिवारले भगवानलाई धन्यवाद दियो। चीलले भने आफ्नो पराजय सहन सकेन। उसले ढुकुरको परिवारविरुद्ध गुण्डागर्दी र लुटपाटको आरोप लगाउँदै स्थानीय अदालतमा मुद्दा दायर गर्यो।
प्रवासी ढुकुरको परिवारका लागि त्यो जङ्गल बिरानो थियो। त्यहाँको कानुन र न्यायप्रणालीसँग उनीहरू परिचित थिएनन्। उनीहरूको पक्षमा खुलेर बोल्ने शुभचिन्तकसमेत भेटिएनन्।
आफ्नै जातिका पक्षीहरूद्वारा बनाइएको कानुन उनीहरूका लागि अभिशाप बन्यो। न्याय खोज्दाखोज्दै ढुकुरको परिवार झन दरिद्र र दुर्बल हुँदै गयो। मुद्दा स्थानीय अदालतबाट माथिल्ला तह हुँदै सर्वोच्च अदालतसम्म पुग्यो। सञ्चारमाध्यमहरूमा बहस चर्कियो। विद्वानहरू पक्ष र विपक्षमा विभाजित भए। निरीह ढुकुरहरू भने न्यायको आशामा लडिरहे।
यसैबीच संसदमा प्रवासी पक्षीहरूको सुरक्षाभन्दा जङ्गलको सुरक्षालाई प्राथमिकता दिनुपर्ने प्रस्ताव पेस भयो। चर्को बहसपछि प्रवासी पक्षीहरूलाई निर्वासित गर्ने विशेष कानुन पारित गरियो। राष्ट्रपतिले त्यसलाई अनुमोदन गरे।
भोलिपल्ट राष्ट्रिय दैनिकको मुख्य पृष्ठमा समाचार छापियो—
“बाल्ड ईगलमाथि आक्रमणको मुद्दामा नयाँ मोड : सबै प्रवासी पक्षीहरूलाई निर्वासित गर्ने कानुन लागू!”
शान्ति काण्ड
-शर्माजी
ओहदाअनुसारको जागिर पाएपछि उसले पुराना फाइलहरू पल्टायो। बेवास्तामा परेका उजुरीहरूमध्ये ‘शान्ति काण्ड’ ले उसको ध्यान विशेष रूपमा खिच्यो। भोलिपल्टदेखि नै कारबाही अघि बढाउने निर्णय गर्यो।
अनुसन्धान सुरु भयो। बैठक, अन्तर्वार्ता र छानबिन बढ्दै गए। मुद्दा झन् रहस्यमय बन्दै गयो। उसले शान्तिको पत्ता नलगाई नछोड्ने अठोट गर्यो।
उसले घरघर चहार्यो, बस्तीबस्ती डुल्यो। मन्दिर, मस्जिद, गिर्जाघर र गुम्बामा गुहार माग्यो। पाठशाला, गौशाला र मधुशालामा खोज्यो। विद्यालय, वेश्यालय र कार्यालयमा सोधपुछ गर्यो। तर शान्तिको अत्तोपत्तो लागेन।
अन्ततः कसैले हिमालको फेदीमा रहेको एउटा झुप्रोतिर औँल्याउँदै भन्यो, “बेपत्ता हुनुअघि शान्ति अन्तिम पटक त्यही झुप्रोमा देखिएकी थिइन् रे!”
ढाका टोपीले पसिना पुछ्दै ऊ त्यतैतिर लाग्यो। बाटामा भेटिएका पुजारी, मुल्लाह, पादरी र भिक्षु सबैसँग सोधपुछ गर्यो। सबैबाट उस्तै जवाफ पायो—
“केही दशकअघि शान्तिलाई आफ्नै भाइहरूले बेपत्ता पारेका थिए रे!”
भिक्षुको पछि लागेर ऊ एउटा भीरसम्म पुग्यो। भनिन्थ्यो, त्यही भीरबाट शान्तिलाई खँदारेर उनका दुई भाइ बन्दुक बोकी जङ्गल पसेका थिए।
उसको अनुहारमा निराशा देखेर भिक्षुले सान्त्वना दिए—
“लास नभेटुन्जेल आस नछोड्नु भन्छन्। खोजी जारी राख, बाबु। जीवितै भए शान्ति अवश्य भेटिनेछिन्।”
एकछिन रोकिएर भिक्षुले थपे—
“बरु त्यतिन्जेल हिमालको फेदीको त्यो झुप्रो कुनै असल हातमा सुम्पिन पाए हुन्थ्यो!”
अन्योल
-शर्माजी
परापूर्वकालदेखि ‘खार्गो’ डाँडामा बसोबास गर्दै आएका ‘लिखार्गो’ समुदायका केही परिवार ‘नटाभू’ डाँडामा बसाइँ सर्दा आफ्नो पहिचानका रूपमा उनीहरूसँग तीन सम्पत्ति थिए—एकता, शास्त्र र आस्थाको गन्तव्यमा पुग्ने नक्सा।
केही शताब्दी बितेपछि ‘नटाभू’ डाँडाका रैथाने ‘टेभो’ समुदायले ‘लिखार्गो’ समुदायलाई देखिसहेनन्। उनीहरूलाई दमन गर्न सबैभन्दा पहिले एकतामाथि प्रहार गरे। दमन र अत्याचार सहन नसकेर ‘लिखार्गो’ समुदायमा फाटो पर्यो। त्यसपछि धेरै परिवार ‘लपाने’ पहाडमा निर्वासित भए।
शास्त्र र आस्थाको नक्सा लिएर उनीहरूले ‘लपाने’ गाउँमा दुःखका दुई दशक बिताए। त्यही अवधिमा शास्त्रको विभाजन भयो। समुदायका दुई समूहले आधा–आधा शास्त्र लिएर त्यसको अधुरो अध्ययन गरे।
शास्त्रको अध्ययन पूरा हुने सम्भावना हुँदाहुँदै उनीहरू ‘काम्रिए’ टापुमा पुनर्वास भए। त्यहाँ पुगेपछि जनजीवनमा केही सुधार आयो। तर एक दशक पनि नबित्दै आस्थाको गन्तव्यमा पुग्ने नक्सामाथि विवाद सुरु भयो। दुवै पक्षले नक्सामा आ–आफ्नो दाबी गरेपछि पुर्खाको धरोहर त्यो नक्सा पनि विभाजित गरियो।
आज दुवै समूहका नाइकेहरू ‘जनुमारा: यज:’ भन्दै एउटै नारा लगाउँछन्। तर आधा–अधुरा नक्सा बोकेर एकथरी पूर्वतिर र अर्काथरी पश्चिमतिर आस्थाको गन्तव्य खोज्दै अलमलिइरहेका छन्।
“नाइकेहरू नै अलमलिएपछि अनुयायीहरू अन्योलमा पर्नु त स्वाभाविकै हो,” तेस्रो पक्षको धारणा यस्तो छ।
केयर गिभर
-शर्माजी
“बा! त्यो भकुण्डो किनिदेऊ न।”
भर्खरै तीन वर्ष पूरा गरेर चार लागेको पूर्णे बाबुसँग आग्रह गर्छ।
माधव नाइँ भन्न सक्दैन। तर भकुण्डो गाडामा हालेर त्यसको दाम नतिरुन्जेल पनि पूर्णेले कतै “होस् बा, यसपालि चाहिँदैन” भन्छ कि भन्ने आशामा ऊ त्यसभन्दा कम मूल्यका धेरै खेलौना देखाउँदै भकुण्डो फिर्ता गराउन खोजिरहन्छ। मनमनै ऊ त्यति पैसा कमाउन गरेको आफ्नो परिश्रम सम्झन्छ।
बिहानै उठेर चिया–खाजा तयार गरेको, पूर्णेलाई खुवाएको, बाआमालाई कोठामा पुर्याइदिएको, आमाबुबाको औषधि तयार गरी टेबुलमा राखिदिएको, आफ्नो कोठामा गएर कामका लागि तयार भएको, टिफिनकारीमा चाम्रे हालेर झोलामा राखेको। त्यत्तिकैमा उसकी पत्नी माधवी रातभरि काम गरेर घर फर्केकी थिई। उसलाई मायाले अँगालो हालेर चुम्बन गर्नसमेत नपाई ऊ होन्डा चढेर ‘रस स्टोर’ को गोदामतिर लागेको थियो। दस घण्टा हाड घोटेर घण्टाको दस डलर कमाएको थियो।
झस्किएर ऊ पूर्णेले रोजेको भकुण्डोको मूल्य हेर्छ—बीस डलर!
उसको मुटु चसक्क दुख्छ।
तर त्यो दुःखसँगै भकुण्डो अमूल्य बन्छ। उसले परिश्रम गरेको छ, मीठो फलको आशा छ। तन चुस्त छ, मन प्रसन्न छ। कम्पनीमा बढुवाको अवसर छ। खानपिनको तालमेल मिलेको छ। कहिलेकाहीँ परिवार र आफन्तसँग जमघट पनि भइरहेकै छ। समयको व्यवस्थापन र खर्चमा नियन्त्रणले बचतसमेत भइरहेको छ।
अचानक एक दिन उसलाई भेट्न भक्ते आउँछ।
कालो रङको ‘क्याडिल्याक’ बाट भक्ते बाहिर निस्कँदा माधव छक्क पर्छ। हातमा फाइल, झोलामा ल्यापटप, मुखमा जर्दा, आँखामा ‘रे-ब्यान’, नाडीमा ‘रोलेक्स’ र गलामा मोटो पहेँलो सिक्री! भक्तेको रूपरङ नै अद्भुत छ।
भक्ते माधवलाई एउटा ‘आइडिया’ दिन्छ। माधव उसको ‘आइडिया’ खुरुक्क किन्छ। अनि वृद्ध आमाबुबाको स्वतन्त्रता खोस्छ र खुरुखुरु सरकारी ‘चेक’ लिन थाल्छ।
आजकल माधव र माधवी दुवैले गोदाम धाउनुपर्दैन। परिश्रम गर्नुपर्दैन। उनीहरू आफ्नै आमाबुबाका ‘केयर गिभर’ हुन्। सरकारी ‘चेक’ घरमै आउँछ, धेरै पर्खनुपर्दैन। अब धाउनुपर्ने ठाउँ डाक्टरको अफिस र ‘फार्मेसी’ मात्र हो। बाँकी समय खाली नै खाली छ। कुनै हतार छैन।
आज माधवी सरितासँग नङ बनाउन ‘मल’ गएकी छे। माधव बेलुकी अबेरसम्म टेलिभिजनमा क्रिकेट हेरेकाले ढिलो उठ्छ। आमाले तयार पारिदिएको परौठा खाएर पूर्णेलाई साथ लिन्छ र बाटोपारि तामाङको पसल जान्छ।
दस डलरको गुट्खा किन्छ। छोरालाई एक झोला ‘पोटेटो चिप्स’ दिएर भित्री कोठामा राखिएको ‘स्लट मेसिन’ सँग रमाउन थाल्छ। मेसिनमा चार सय डलर हालेपछि उसले एक सय डलर जित्छ।
उसलाई झल्याँस्स सम्झना आउँछ—आज ‘प्रोग्रेस एभेन्यु’ बाट साल्दाइ, खगेन्द्र, चक्रे र उसका बाबु आउने दिन!
ऊ मेसिनबाट ‘कुपन’ झिक्छ र हतारिँदै तामाङसँग सय डलर नगद तथा थप दस डलरको गुट्खा लिएर घरतिर हान्निन्छ।
घर पुग्नेबित्तिकै तल्लो तलादेखि नै बाबुलाई पुकार्छ—
“ए पिता! साल्दाइहरू आए त?”
“खोइ! कोको आए?” भान्साबाट आमा कराउँछिन्, “पितासँग तल बेसमेन्टमा छन्।”
माधव पहिले बैठकमा जान्छ। पूर्णेलाई सोफामा बसाउँछ र उसका हातमा ‘आइप्याड’, ‘आइफोन’ र ‘एक्सबक्स’ को ‘रिमोट कन्ट्रोल’ राखिदिएर अगाडिको टेलिभिजन खोलिदिन्छ। त्यसपछि बेसमेन्टतिर झर्छ।
बेसमेन्टमा खगेन्द्र, चक्रे र चक्रेका बाबु पहिल्यै आइसकेका हुन्छन्। माधव पुग्नेबित्तिकै चक्रेका बाबु प्रह्लाद जिस्किन्छन्—
“खै त? समयमा कोरम पुर्याउने जिम्मा लिएर पान खाने बहाना गर्न पाइन्छ?”
“खै त साल्दाइ?” माधव आश्चर्य हुँदै सोध्छ।
त्यत्तिकैमा ढोका घर्याक्क खुल्छ। साल्दाइ देखा पर्छन् र आफू अबेर हुनुको कारण सुनाउँछन्—
“हैट! आज विक्रमेको स्कुलमा ‘पेरेन्ट मिटिङ’ रै’छ। बल्लबल्ल फुत्किने मौका पाएँ यार!”
चक्रे खुसी हुँदै भन्छ—
“बल्ल कोरम पुग्यो, गाँठ्ठे!”
कोठामा खुसीयाली छाउँछ। माधव भान्सातिर फर्किएर आमाले सुन्ने गरी कराउँछ—
“ए आमा! साल्दाइ पनि झुल्किए, एक कप थप है!”
















