एक नेपालीसहित ४० जनाको अमेरिकी नागरिकता खोस्न न्याय मन्त्रालयको मुद्दा
वासिङ्गटन डिसी / अमेरिकाको न्याय मन्त्रालयले एक नेपालीसहित ४० जना अमेरिकी नागरिकको नागरिकता खारेज गर्न अदालतमा मुद्दा दायर गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले छोटो अवधिमा यति ठूलो सङ्ख्यामा नागरिकता खारेजीका मुद्दा दायर गरिएको यो पहिलो घटना भएको मन्त्रालयले जनाएको छ।
मुद्दा दायर गरिएकामध्ये नेपालकी ४० वर्षीया दिव्या भट्टराई पनि छिन्। यस्तै भारतका बलविन्दर सिंह र पाकिस्तानका अहमद बहार खट्टक, अहमद खान, सैयद मशुद उल हक तथा सैयद फुरकान अली छन्।
दिव्या भट्टराईमाथि आप्रवासनसम्बन्धी कागजात ठगीको षड्यन्त्रमा संलग्न रहेको र नागरिकता आवेदनमा आपराधिक इतिहास लुकाएको आरोप छ।
भारतीय बलविन्दर सिंहमाथि फरक पहिचान प्रयोग गरेर नागरिकता लिएको आरोप छ। पाकिस्तानी मूलका चार व्यक्तिमध्ये खट्टकमाथि नक्कली पहिचान र देशनिकाला आदेश लुकाएको, अहमद खानमाथि पहिलो विवाह लुकाएर अर्को विवाहका आधारमा नागरिकता लिएको आरोप छ ।
यस्तै सैयद मशुद उल हकमाथि फरक पहिचान प्रयोग गरेर देशनिकाला छल्दै आप्रवासन सुविधा लिएको र सैयद फुरकान अलीमाथि पहिलो विवाह कायम रहँदा अर्को विवाहका आधारमा नागरिकता प्राप्त गर्न खोजेको आरोप छ।
अमेरिकी न्याय मन्त्रालयका अनुसार, भट्टराईले सन् २००८ मा नागरिकताका लागि आवेदन दिँदा आफूले पक्राउ नपरेको कुनै अपराध नगरेको दाबी गरेकी थिइन्। नागरिकताका लागि भएको अन्तर्वार्ताका क्रममा पनि उनले यही कुरा दोहोर्याउँदै शपथ लिएर बयान दिएको मन्त्रालयको आरोप छ।
तर, अमेरिकी न्याय मन्त्रालयका अनुसार भट्टराईले नागरिकताका लागि अन्तर्वार्ता दिनुभन्दा एक वर्षभन्दा बढीअघि, सन् २००७ को जुन महिनादेखि नै आप्रवासनसम्बन्धी कागजातमा ठगी गर्ने षड्यन्त्रमा संलग्न रहेको आरोप छ। उनले सन् २०१६ को मार्चमा यसै विषयमा अमेरिकी संघीय अदालतमा दोष स्वीकारेकी थिइन्।
भट्टराईको नागरिकता आवेदन सन् २००८ मा स्वीकृत भएको थियो र उनले सोही वर्षको सेप्टेम्बरमा अमेरिकी नागरिकता प्राप्त गरेकी थिइन्। तर, त्यसअघि नै सुरु भएको ठगीसम्बन्धी षड्यन्त्रमा संलग्न रहेको विषय नागरिकता लिने प्रक्रियामा खुलासा नगरेको भन्दै न्याय मन्त्रालयले उनको नागरिकता खारेज गर्न माग गरेको छ।
मन्त्रालयले भट्टराईले नागरिकताका लागि आवश्यक असल नैतिक चरित्रसम्बन्धी मापदण्ड पूरा नगरेको र आफ्नो आपराधिक गतिविधिबारे जानाजान गलत जानकारी दिएको वा महत्त्वपूर्ण तथ्य लुकाएको दाबी गरेको छ।
भट्टराईविरुद्धको मुद्दा सन् २०२६ सेप्टेम्बर २५ मा टेक्ससको उत्तरी जिल्ला अदालतमा दायर गरिएको हो। उनीसहित ४० जनाविरुद्धका मुद्दा अगस्ट २१ देखि अक्टोबर २ सम्म विभिन्न संघीय अदालतमा दायर गरिएको न्याय मन्त्रालयले जनाएको छ।
नागरिकता खारेजीको माग गरिएका अन्यमा कोलम्बियाका युस्मारी शर्ली दुरान मेहिया र बेलायतका इयान लम्सडेन छन् ।
मेक्सिकोका हर्नान गार्सिया टोलेडो, जोसे भिल्लारियल अर्टिज, ग्रासिया दे रोड्रिगेज, राउल सिस्नेरोस, नोर्मा प्याट्रिसिया एस्पार्जा, गिल्बर्टो बाराज्जा, जोसे रामिरो मोन्टिएल कारास्को, गुमे रोबर्टो गार्जा र रामिरो एस्कोट एस्पार्जाको पनि नागरिकता खारेजीको माग गरिएको छ ।
क्युबाका लाजारो त्रुजिलो भिटोन, जेभियर मारेरो-पान्डो र फिलिपिन्सका अर्नेल डाकुमोस ताबाफुन्डा छन् ।
यस्तै राष्ट्रियता नखुलाइएका डगलस चुक्वुका एजे, सिएरा लियोनका इफिओलु सामुएल अकिन्बेमिसिलु ,भेनेजुएलाका जोइस मार्टिनेज, अफगानिस्तानका असद जोन रामिन र वारिस जान सफी छन् ।
इजिप्टका वालिद अब्देलनब्बी हसन उस्मान र नादिया हसन मोहम्मद अली, नाइजेरिएका सेमिउ ओलाइये इजेलु, बियाट्रिस चिओमा न्वाओहा अशामोले क्यामरुनका अनिता मोन्जेह एटेम, पेरुका जुआन जोसे एगुस्किजा-भास्केज, हाइटीका अर्नुस मर्लियन छन् ।
त्यसै गरि घानाका डेक्स्टर एन्सन, फ्रान्सिस डार्को असामोआ इरानका राल्फ नबावी, चीनका पिङ ली जिनचाओ वेई, कम्बोडियाका सोर्साम्खान सोम, क्यानडाका एन्ड्र्यु कोल्डिकट रहेका छन् ।
















