राति छोराको जन्मदिन, भोलि दशैँको टीका, बीचमै टुट्यो तारामानको जीवन (अपडेट)
ओहायो / सोमबार मध्यराततिर तारामान सेन्चिउरीको घरमा उल्लास थियो। परिवारको एक्लो छोरा, त्यो पनि विवाहपछिको पहिलो जन्मदिन।
स्थानीय सुन व्यवसायी तारामानले परिवारसँगै छोराको जन्मदिन मनाए। बुधवार दशैँको टीका लगाएर यसै वर्ष विवाह गरेका छोरा–बुहारी नेपाल जाने तयारीमा थिए। तर, नियतिको खेल, त्यसको करिब १२ घण्टाभित्रै अनिष्ट भयो।
मंगलबार बिहान खाना समेत नखाई आफ्नै पसल पुगेका तारामान लुटेराहरूको गोलीको सिकार भए।
ओहायोको फेयरफिल्डस्थित आफ्नै गहना पसलमा उनको ज्यान गयो। दशैँको खुसी र पारिवारिक भेटघाटको प्रतीक्षामा रहेको परिवारमा एकाएक शोक छायो ।
तारामानको मात्र होइन अमेरिकामा दशैँ मनाइरहेको नेपालीभाषी समुदाय स्तब्ध छ र शोकमा डुबेको छ।
दशैँको टीका लगाउने तयारीमा रहेका परिवारमा एकाएक बज्रपात परेको छ।
तारामानका ज्वाइँ राजु रसाइलीका अनुसार अक्टोबर १९ को राति १२ बजेपछि अर्थात् अक्टोबर २० सुरु भएपछि परिवारले छोराको जन्मदिन मनाएको थियो। जन्मदिन मनाएर सुतेका तारामान भोलिपल्ट बिहान खाना समेत नखाई पसलतिर लागेका थिए। श्रीमतीले आफू पनि सघाउन आउने बताए पनि भोलिका लागि तयारी गर्नुपर्ने भएकाले घरमै बस्न भनेको राजुले बताए।
बुधवार परिवार नातागोता सबै एकै ठाँउमा भएर दशैंको टीका लगाउने कार्यक्रम थियो ।
राजुका अनुसार, बाहिर कपडा पसल र भित्र सुन पसल थियो । विश्वासिला ग्रहाक आए पछि मात्र सुन पसल खोलिने गरिदै आएको थियो ।
मध्यान्न दुई महिला कपडा पसलमा थिए । त्यसै बेला दुई जना अपरिचित व्यक्ति आए । अपरिचित दुई व्यक्तिको व्यवहार शंकास्पद लागेपछि उनले सुन पसल खुला नभएको र कपडाको पसल मात्रै खुलेको बताएका थिए।
ती दुई व्यक्ति केक र फूल लिएर आएका थिए। उनीहरूले बालबालिकाको जन्मदिन मनाउन सुन किन्न आएको बताएका थिए। तर तारामानले आज आफुहरुको ठूलो चाड रहेको र सुन पसल बन्द रहेको बताएपछि उनीहरूले ठूलो स्वरमा कुरा गर्न थाले र बन्दुक निकालेर गोली चलाए।
राजुका अनुसार, घटनाका बेला पसलमा दुई जना महिला ग्राहक पनि थिए। गोली चलेपछि उनीहरू लुकेका थिए र पछि प्रहरीलाई खबर गरेका थिए।
स्थानीय प्रहरीका अनुसार, अक्टोबर २० मंगलवार दिउँसो करिब १२:५४ बजे डिक्सी हाइवेस्थित एभरेस्ट ज्वेल्समा गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।
पसलभित्र एक पुरुष मृत अवस्थामा फेला परेका थिए। प्रहरीले घटनालाई लुटपाट र हत्याका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। आक्रमणकारीबारे प्रहरीले सार्वजनिक गरेको विवरण भने उपलब्ध छैन।
सन् २०२३ मा किनेका थिए गहना पसल
राजुका अनुसार, तारामानले सन् २०२३ मा प्रकाश दर्नालसँग गहना पसल किनेका थिए। त्यसपछि उनी व्यवसाय सञ्चालन गर्दै आएका थिए।
प्रकाशले सुन पसल संचालन गरेको समयमा पनि डकैत भएको थियो । प्रकास त्यस पछि पेन्सिलेभेनिया बसाई सरेका थिए र उनी यो व्यवसायबाटै पलायन भए ।
राजुले आफू पनि सन् २०१७ मा लस भेगासमा बन्दुक देखाएर लुटपाटको प्रयास भएको घटनामा परेको बताए। उनका अनुसार, त्यसबेला कञ्चटमा बन्दुक देखाएर आफूलाई पनि धम्क्याइएको थियो।
‘त्यो बेला म बाँचे’ समाज टाइम्स सँगको कुराकानीमा राजुले भने ।
लुटेराहरुले तारामानको पसलबाट सुन भने लुट्न नपाएको राजुले बताए । ‘पसल खोल्न नमाने पछि ती व्यक्तिले मान्छेलाई गोली हानेर भागेछन।’
गहना व्यवसायमा संलग्न नेपाली समुदायका सदस्यहरूका लागि यस्ता घटनाले सुरक्षा चिन्ता थपेको राजुको भनाइ छ।
अक्टोबरको पहिलो साता बाल्टिमोरमा पनि नेपालीको गहना पसलमा लुटपाट भएको घटना स्मरण गर्दै उनले व्यवसायको सुरक्षाबारे चिन्ता व्यक्त गरे।
बाल्टिमोरमा पनि ग्राहक बनेर आएका व्यक्तिले सुन पडलमा डकैत गरेका थिए ।
समुदायले गुमायो सहयोगी व्यक्तित्व
विश्व भुटान हिन्दु संगठन (जीबीएचओ) का अध्यक्ष कमल धिमालका अनुसार, तारामान अत्यन्तै धार्मिक, सामाजिक र सहयोगी व्यक्ति थिए ।
“उहाँ नरम स्वरमा बोल्ने, सबैसँग राम्रो सम्बन्ध राख्न सक्ने र धर्म, संस्कार, संस्कृति तथा अध्यात्मलाई अगाडि बढाउनुपर्छ भन्ने सोच राख्ने व्यक्ति हुनुहुन्थ्यो,” धिमालले भने, “आज समाजले एउटा राम्रो स्तम्भ गुमाएको छ। विश्वकर्मा समुदायको एउटा खम्बा ढलेको छ। उहाँजस्ता सहयोगी व्यक्ति बिरलै पाइन्छन्।”
भुटानको चिराङमा जन्मिएका तारामान नेपालस्थित पाथरी शरणार्थी शिविरमा बसेपछि अमेरिका आएका हुन् ।
उनकी श्रीमती, एक छोरा र दुई छोरी छन्। यसै वर्ष विवाह गरेका छोरा–बुहारी दशैँको टीका लगाएर भोलिपल्ट नेपाल जाने तयारीमा थिए।
विश्वकर्मा समाज अमेरिकाद्वारा दुःख व्यक्त
तारामानको निधनप्रति विश्वकर्मा समाज अमेरिका (बीएसए) ले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
समाजले उनलाई मेहनती व्यवसायी, सामुदायिक अगुवा र नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा स्मरण गरेको छ।
समाजले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।
















