युएस ओपनमा डिस्काले जित्यो ६ स्वर्ण
टेक्सस/ ड्रुक ईन्ट्रनेसनल सितोरियो कराते डो एसोसिएसन ( डिस्का) ले युएस ओपनमा ६ स्वर्ण पदक जितेको छ। युएस ओपन विश्व करातेकै लागि प्रतिष्ठित प्रतियोगिता हो।
कराते खेलको विकासका लागि अमेरिकामा रहेका नेपाली भाषी भुटानी समुदायले स्थापना गरेको डिस्काले जुनियर इन्टरनेश्नल कपमा पनि चार स्वर्ण जितेको छ।
जुनियर इन्टरनेश्नल कप (जेआइसी) शुक्रवार र युएस ओपन शनिवार र आइतबार टेक्ससमा सम्पन्न भएको हो। युएस ओपनमा भाग लिन नेपालबाट दुई खेलाडी आएका थिए। त्यस मध्ये एरिका गुरुङले स्वर्ण जितेकी थिइन्।
युएस ओपन र जुनियरमा गरी डिस्काका कुल २६ खेलाडीले भाग लिएका थिए। जसमा २० जनाले दुवै प्रतियोगिता खेलेका थिए।
डिस्काका कोषाध्यक्ष एवं टिम व्यवस्थापक टेक नेपालका अनुसार सहभागी खेलाडीले दश स्वर्ण, दश रजत र १६ कांस्य गरी कुल ३६ पदक जित्न सफल भएका छन्।
पेन्सिल्भेनियाको ह्यारिसबर्गमा रहेको सेन्टर डोजो (होम्बु) का प्रमान सुब्बा एक्लैले तीन स्वर्ण सहित चार पदक जितेका छन्। यस्तै पेन्सिल्भेनियाको कारलायल डोजोका रोजन सुब्बाले दुई स्वर्ण सहित सर्वाधिक पाँच पदक जितेका छन्।
डिस्काको अमेरिकामा नौ डोजो छन्। ह्यारिसबर्गको डोजोलाई सेन्टर डोजो भनिन्छ।
प्रमान सुब्बाले जुनियर इन्टरनेश्नल कपमा दुई स्वर्ण जितेका हुन। यस्तै उनले युएस ओपनमा एक स्वर्ण र एक कांस्य पदक जिते। जुनियर कपमा १६ मुनिको इन्टरमिडियट कुमिते र काता दुवै तर्फ प्रमानले स्वर्ण पदक जिते। उनले युएस ओपनमा १६ वर्ष मुनि कातामा स्वर्ण र कुमितेमा रजत पदक जिते।
यस्तै यस पटकको टेक्सस टुरमा डिस्काबाट सबै भन्दा धेरै पदक जित्ने खेलाडी बनेका रोजनले युएस ओपन र जुनियर कप दुवै तर्फ एक एक स्वर्ण पदक जिते। युएस ओपनमा १२ वर्ष बिगिनर कातामा स्वर्ण जितेका रोजनले जुनियर कपमा सोही उमेर समूहको नोभिकमा स्वर्ण हात पारेका थिए।
रोजनले युएस ओपनमा थप दुई रजत र एक कांस्य पनि जिते। उनले १२-१३ वर्ष कुमुते टिम एडभान्स एलिट र कुमुते नोभिसमा रजत जितेका थिए। यस्तै कुमुते नोभिसमा कांस्य पदक पाए।
डिस्का सेन्टर डोजोका अंकिता धिमालले पनि एक स्वर्ण सहित तीन पदक जितिन्। उनले जुनियर १४ वर्ष इन्टरमिडियट कातामा स्वर्ण पदक जितेकी हुन्। यस्तै युएस ओपनमा अंकिताले १४ वर्ष इन्टरमिडियट काता र कमुते दुवै तर्फ रजत पदक जितिन्।
कारलायल डोजोका अश्विन सुब्बाले पनि एक स्वर्ण सहित तीन पदक जिते। जुनियर कपमा १४ वर्ष बिगिनर कातामा स्वर्ण जितेका अश्विनले जुनियर कपको कुमुतेमा कांस्य पदक पाएका थिए। युएस कपमा उनले इन्टरमिडियटमा रजत पदक जिते।
डिस्का कारलायल डोजोका अन्य खेलाडीले पनि टेक्ससबाट चार स्वर्ण जितेका छन्। कारलायलका एन्जेला गुरुङले १४ वर्ष मुनीको कुमितेमा स्वर्ण पदक जितिन्। यस्तै प्रितिश गुरुङले जुनियरको ११ वर्ष उमेर समूह बिगिनरमा कातामा स्वर्ण जिते। डिस्का कारलायलकै विन्स मगरले युएस ओपनको १४ वर्ष उमेर एडभान्समा कातामा स्वर्ण जिते।
कारलायलका केजाङ गुरुङले एक रजत र एक कांस्य गरी दुई पदक जिते। उनले जुनियरमा १२ वर्ष बिगिनर तर्फको कातामा रजत र कुमुतेमा कांस्य पदक पाए।
कारलायलका सुलभ घल्लीले पनि दुई पदक जिते। उनेले जुनियरको १२ वर्ष बिगिनर तर्फ कातामा रजत र कुमुतेमा कांस्य पदक पाए। डिस्का कारलायलकै देवेश सुब्बाले पनि दुई पदक जिते। उनेले जुनियरको नौ वर्ष बिगिनर कातामा रजत र कुमितेमा कांस्य पदक पाए।
कारलायलका विन्स मगर युएस ओपनको १४ वर्ष एडभान्समा रजत पदक जिते। होम्बुका रोजा तामाङले युएस ओपन १३ वर्ष एडभान्स तर्फको कुमिते कांस्य पदक पाए। यस्तै होम्बुका आवास बजगाईँले युएस ओपनको १० वर्ष कातामा कांस्य पाए।
कारलायलकै भर्मन मगरले युएस ओपनको १२ वर्ष एडभान्समा काता तर्फ कांस्य पदक पाए। मगरले युएस ओपन १२ वर्ष एडभान्सको कुमिते कांस्य पदक जिते।
कोलम्बसका आयुष तामाङले युएस ओपनको १८ वर्ष एलिटमा कुमिते तर्फ कांस्य पदक जित। यस्तै पिट्सबर्गका देवाकर नेपालले जुनियर कपको १४ वर्ष नोभिस कुमितेमा कांस्य पदक पाए।
यस्तै एक्रोन डोजोका रेहान पन्धक सुब्बाले पनि युएस ओपनमा दुई पदक जिते। उनले १६ वर्ष एडभान्सको काता र कुमिते दुवै तर्फ कांस्य पदक जितेका थिए ।
डिस्काका संस्थापक तथा प्रमुख प्रशिक्षक रन राईले यो सफलता समुदायका लागि नै गौरवको विषय भएको प्रतिक्रिया दिए।
‘सन् २०१८ देखि नै सुरु गरेको, सबै भन्दा धेरै पदक जितेको यही अवसर हो, एलिटमा पनि पदक पायौ यो राम्रो सङ्केत हो।’ राईले भने।
उनले सबैको सहयोगले यो सफलता प्राप्त भएको बताए।
‘हामी सबैको प्रयासले यो सफलता हात पारेको हो, हाम्रो टिम राम्रो छ, खेलाडीको मेहनत, अभिभावकको सहयोग, भुटानी समुदायकोको प्रत्यक्ष अप्रत्यक्ष सहयोगमा यो सम्भव भएको हो। म सबैलाई धन्यवाद दिन चाहन्छु।’ उनले भने, ‘अझै यो भन्दा अगाडि जानु छ यस्तै सहयोग जारी रहोस् भन्ने आह्वान गर्दछु।’
डिस्काका अध्यक्ष डा हेमन्त घिसिङले खेलाडीको प्रदर्शनबाट आफू अत्यन्त खुसी भएको प्रतिक्रिया दिए। ‘हामीले हरेक डोजोमा उत्सव मनाउनु भनेका छौ।’ समाज टाइम्स सँग अध्यक्ष डा घिसिङले भने,’ यो पटक ऐतिहासिक र उत्साहजनक उपलब्धि भयो।’
उनले आफूहरू लक्ष्य तर्फ नै लम्किरहेको बताए। ‘हाम्रो लक्ष्य अमेरिकी राष्ट्रिय टिममा नै पर्ने हो, हरेक प्रतियोगितामा हामीले प्रगति गरेका छ, ‘बिगिनरबाट सुरु गरेर अहिले एलिटमा दुई जनाले खेले, दुवैले कांस्य पदक पाए, ‘घिसिङले भने, ‘स्वर्ण र रजत जितेको भए राष्ट्रिय टिममा पर्ने थियौ।’
अध्यक्ष घिसिङले थपे,’ सुधार छ, यसरी नै अगाडी, बढ्दा हामी लक्ष्यमा पुग्छौ।’