एनवाईसी क्विन्स कराते च्याम्पियनसिपमा च्याम्पियन्स स्पोर्ट्स सेन्टर पहिलो, काजकिस्तानकी खेलाडीले पनि जितिन् स्वर्ण
क्विन्स, न्युयोर्क / अमेरिकाको न्युयोर्कस्थित क्विन्समा सम्पन्न एनवाईसी क्विन्स कराते च्याम्पियनसिपमा च्याम्पियन्स स्पोर्ट्स सेन्टर सर्वाधिक पदक जित्दै पहिलो भएको छ।
प्रतियोगितामा २३ स्वर्ण, २२ रजत र २६ कांस्य गरी कुल ७१ पदक जितेको उक्त सेन्टर पदक तालिकाको शीर्ष स्थानमा रह्यो।
प्रतियोगितामा सहभागी काजकिस्तानकी १९ वर्षीया अन्तर्राष्ट्रिय कराते खेलाडी कौसर येस्तेउसिसले पनि महिला १८–३४ वर्ष इन्टरमिडिएट/एड्भान्स्ड कुमिते विधामा स्वर्ण पदक जितिन्।
पदक तालिकामा फरेस्ट हिल्सस्थित निका डोजो ९ स्वर्ण, १० रजत र १४ कांस्य गरी ३३ पदकसहित दोस्रो भयो। शोटोजुकु डोजोले ७ स्वर्ण, ८ रजत र ८ कांस्य गरी २३ पदक जितेर तेस्रो स्थान हासिल गर्यो। बुडो कान कराते डो एकेडेमी २२ पदकसहित चौथो स्थानमा रह्यो। प्रतियोगितामा विभिन्न क्लबका खेलाडीले कुल ८४ स्वर्ण, ८४ रजत र ११८ कांस्य गरी २८६ पदक जितेका थिए।

निहोन कराते डो, न्युयोर्क द्वारा आयोजित प्रतियोगितामा २२८ खेलाडी सहभागी भएका थिए। आयोजक संस्थाका प्रमुख शिहान शान्त थोकर हुन्। अमेरिकामा कराते स्कुल स्थापना गर्ने पहिलो नेपाली थोकरले सन् २००७ मा न्युयोर्कमा कराते स्कुल स्थापना गरेका थिए।

उनले सन् २०२४ देखि च्याम्पियनसिप आयोजना गर्न थालेका हुन्। यस पटककोो प्रतियोगिता अमेरिकी कराते महासंघबाट मान्यताप्राप्त छनोट प्रतियोगिता रहेको थियो ।
काजकिस्तानकी कौसको अमेरिकी अनुभव
प्रतियोगितामा स्वर्ण जितेकी कौसर येस्तेउसिस विश्व कराते महासंघ (डब्लुकेएफ) मा केएजेड ०२६५१ परिचय नम्बरबाट दर्ता भएकी खेलाडी हुन्। १९ वर्षीया उनी काजकिस्तानको झाम्बिल क्षेत्रकी हुन्। उनले सन् २०२१ मा काजकिस्तानको अल्माटीमा आयोजित एसियाली क्याडेट, जुनियर तथा यू–२१ कराते च्याम्पियनसिपमा महिला क्याडेट ४७ केजीमुनिको कुमिते विधामा स्वर्ण जितेकी थिइन्।
त्यस्तै, सन् २०२२ मा टर्कीको कोन्यामा आयोजित १२औँ डब्लुकेएफ क्याडेट, जुनियर तथा यू–२१ विश्व कराते च्याम्पियनसिपमा काजकिस्तानको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी थिइन्। उनले विश्व च्याम्पियनसिपमा दुई खेल जितेकी थिइन्।
सन् २०२३ मा संयुक्त अरब इमिरेट्सको फुजैराहमा आयोजित कराते १ युथ लिगमा जुनियर महिला ४८ केजीमुनिको विधामा दोस्रो भएकी कौसरले सोही वर्ष क्रोएसियाको पोरेचमा आयोजित युथ लिगमा स्वर्ण जितेकी थिइन्।
डब्लुकेएफको उपलब्ध खेल अभिलेखअनुसार उनले आठ अन्तर्राष्ट्रिय प्रतियोगितामा २८ खेल खेलेकी छन्। तीमध्ये २१ खेल जितेकी छन् भने सात खेलमा पराजित भएकी छन्। उनको जित प्रतिशत ७५ छ।
कौसर हाल अमेरिकामा अध्ययनरत छिन्। उनका अनुसार अमेरिका आउँदा सुरुमा अध्ययन नै मुख्य उद्देश्य थिएन। उनी आफूलाई अन्तर्राष्ट्रिय मास्टर अफ स्पोर्ट्सको उपाधि प्राप्त खेलाडी तथा आफ्नो गृहक्षेत्र झाम्बिलकी सम्मानित खेलाडीका रूपमा चिनाउँछिन्। अमेरिका आएपछि नयाँ टिम र डोजोसँग आबद्ध भएकाले आफूलाई अहिले काजकिस्तानको राष्ट्रिय कराते टोलीको सदस्यका रूपमा प्रस्तुत नगर्ने उनले स्पष्ट पारेकी छन्। यद्यपि, क्विन्स प्रतियोगितामा भने उनले काजकिस्तानकै प्रतिनिधित्व गरेकी थिइन्।
स्वर्ण जितेपछि कौसरले भनिन्, ‘हरेक प्रतियोगिता आफूलाई अझ बलियो बनाउने अवसर हो’

प्रतियोगितापछि कौसरले प्रतिस्पर्धा गर्ने अवसर पाएकोमा आयोजकप्रति आभार व्यक्त गरिन्। प्रतिभाशाली खेलाडीहरूसँग एउटै टाटामीमा उत्रिएर प्रतिस्पर्धा गर्न पाउनु आफ्ना लागि महत्वपूर्ण अनुभव भएको उनले बताइन्।
स्वर्ण पदक जित्दा यो अनुभव अझ विशेष बनेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि अन्य च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अपेक्षा व्यक्त गरिन्। ‘हरेक प्रतियोगिता आफूलाई थप निखार्ने, विकास गर्ने र अझ बलियो बन्ने अवसर हो,’ उनले भनिन ।



















