‘डिस्का ओपन च्याम्पियनसिप’ अमेरिकामा अगस्त तेस्रो साता
ह्यारिसबर्ग,पेन्सिलभेनिया/ डिस्का ओपन च्याम्पियनसिप अगस्त १९ र २० तारिक अमेरिकाको पेन्सिलभेनिया राज्यमा हुने भएको छ।
ड्रुक इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन (डिस्का) को आयोजनामा च्याम्पियनसिप हुन लागेको हो। डिस्का ह्यारिसबर्ग डोजोमा गत शनिवार पत्रकार सम्मेलन मार्फत च्याम्पियनसिपबारे सार्वजनिक गरिएको हो।
डिस्काका अध्यक्ष हेमन्त घिसिङका अनुसार ह्यारिसबर्ग नजिकै रहेको हलिफ्याक्सको क्याप हेब्रोनमा (camp hebron,957 camp hebron,halifax pa 17032) मा प्रतियोगिता हुने छ।
अध्यक्ष घिसिङका अनुसार डिस्का नेपालमा भुटानी शरणार्थी शिविरमा सन् १९९२ मा स्थापना भएको हो। तेस्रो मुलकु पुर्नवास पछि अमेरिकामा सन् २०१६ डिस्काले निरन्तरता पाएको हो।
अमेरिकामा स्थापना पछि डिस्काले पहिलो पटक बृहत् र खुल्ला च्याम्पियनसिप आयोजना गर्न लागेको हो। ‘हामीले अनलाइन र आन्तरिक रूपमा प्रतियोगिता आयोजना गर्दै आएका थियौ, अब खुल्ला रूपमा आयौ।’ अध्यक्ष घिसिङले भने।
अध्यक्ष घिसिङका अनुसार अमेरिकामा डिस्काका नौ वटा डोजो सञ्चालनमा छन्। यसै गरी अष्ट्रेलियामा दुई र क्यानडा एक वटा डोजो रहेका छन्।
पेन्सिलभेनिया राज्यमा ह्यारिसबर्ग, कार्लय र पिट्सबर्ग गरी तीन ठाँउमा डोजो रहेको छ। यस्तै ओहायोमा पनि एक्रोन, कोलम्वस र रेनोल्ड्सबर्ग तीन सहरमा डिस्काले डोजो सञ्चालन गरेको छ। अमेरिकामै नर्थ डेकोटा, जर्जिया, भर्मन एक एक डोजो सञ्चालनमा छन्।
‘अस्ट्रेलिया बाहेक हाम्रो सबै डोजोबाट च्याम्पियनसिपमा सहभागिता हुन्छ।’ पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले भने।’हामीले हाम्रो डोजो भन्दा बाहिरबाट पनि खेलाडीले सहभागी हुने अपेक्षा गरेका छौ। विशेष गरी नेपालीभाषीहरुको यो च्याम्पियनसिपमा बाहुल्यता रहन्छ।’
‘अमेरिकाभरमा रहेका सबै नेपाली भाषी र अन्य समुदायका खेलाडी जो अमेरिकी कराते र डब्लुकेएफको नियममा खेल्नु भएको छ सबैलाई यस च्याम्पियनसिपमा सहभागिताका लागि आह्वान गर्दछौ।’ उनले भने। ‘यो एउटा भेला नयाँ र पुराना खेलाडीको जमघट हुने थलो बनोस भन्ने पनि हाम्रो चाहाना हो।’
पत्रकार सम्मेलनमा जनाइए अनुसार युएस कराते र विश्व कराते महासंघको मोडिफाई नियम अनुसार कता र कुमुतेमा महिला पुरुष दुवै तर्फ प्रतिस्पर्धा गराइने छ।
घिसिङले तीन सय भन्दा बढी खेलाडीले एउटै छाना मुनी प्रतिस्पर्धा गर्ने अपेक्षा राखेको बताए।
‘विगिनर देखि भेट्रान्स सम्म गरी पाँच डिभिजनमा प्रतिस्पर्धा हुन्छ।’ पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले भने, ‘हामीले महिला तथा पुरुष दुवै तर्फ पाँच वर्ष देखि भेट्रान ३५ वर्ष माथि सम्मका क्याटगोरीमा प्रतिस्पर्धा गराउने छौ।’
काता र कुमुतेमा उमेर अनुसार प्रतिस्पर्धा गराइने छ। महिला पुरुष दुवै तर्फ ५३-५३ क्यटगोरीमा प्रतिस्पर्धा हुने छ।
च्याम्पियनसिपमा व्यक्तिगत प्रतिस्पर्धाका लागि ८० अमेरिकी डलर दर्ता शुल्क तोकिएको छ। एउटा खेलाडीले एक भन्दा बढी विधामा प्रतिस्पर्धा गर्न चाहेमा थप २० डलर शुल्क तिर्नु पर्ने छ।
च्याम्पियनसिपका लागि ४७ हजार अमेरिकी डलर बजेट रहेको छ। ‘हामी प्रायोजकबाट बजेटको व्यवस्थापन गर्ने छौ।’ पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले भने ।
खेलाडीले अनलाइनबाट पनि नाम दर्ता गर्न सक्ने छन्। पत्रकार सम्मेलनमा डिक्सका प्रमुख प्रशिक्षक तथा बोर्ड सदस्य रन राई, डिस्काका कोषाध्यक्ष टेक नेपाल, आयोजक कमिटीका सल्लाहकार अमल थुलुङ, युएस करातेबाट मान्यता प्राप्त एक मात्र नेपाली भाषी महिला रेफ्रि माया लेप्चाले पनि च्याम्पियनसिपका बारेमा प्रकाश पारेका थिए।
पत्रकार सम्मेलनको पुरा भिडियो