२२ वर्षीया नेपाली युवा अनमोल गोर्खाली बने अमेरिकी तेक्वान्दो युनाइटेड राष्ट्रिय टिमको प्रशिक्षक
पेन्सिलभेनिया, अमेरिका। २२ वर्षीया नेपाली युवा अनमोल गोर्खालीले अमेरिकी खेलकुदमा नाम जस्तै लोभलाग्दो सफलता पाएका छन्।
नेपालमा बुटवलका अनमोल अमेरिकी तेक्वान्दो युनाइटेड (एटीयु) राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका छन्।
अमेरिकी तेक्वान्दोको राष्ट्रिय टिममा प्रशिक्षक बन्ने उनी पहिलो नेपाली हुन्। साथै अमेरिकी तेक्वान्दो युनाइटेड (एटीयु) मा अहिले सम्मका कान्छा प्रशिक्षक पनि बनेका छन्।
एटीयुले दुई दिन अगाडि औपचारिक रुपमा आफ्नो राष्ट्रिय टिमको नाम सार्वजनीक गरेको हो। १६ खेलाडी सहित तीन प्रशिक्षकको सूचीमा अनमोल गोर्खालीको पनि नाम समावेस छ। यद्यपी यो टिमले प्यान-एम प्रेसिडेन्ट कप खेलिसकेको छ।
अनमोल मिचिगन राज्यमा रहेको एभरेष्ट तेक्वान्दो स्कूलका प्रशिक्षक हुन्। एभरेष्ट तेक्वान्दो अनमोलका पिता लव गोर्खालीले स्थापना गरेका हुन्। लव गोर्खाली नेपाल तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक हुन्। एभरेष्टबाटै तेक्वान्दो खेल्न शुरु गरेका अनमोल अहिले सो स्कूलकका पनि प्रशिक्षक हुन्।
यसरी बने राष्ट्रिय टिमको प्रशिक्षक
अमेरिकाको एटलान्टामा गत मे महिनामा एटीयु राष्ट्रिय च्याम्पियनसिप भएको थियो। सो च्याम्पियनसिपमा खेलाडीले गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टिमका लागि खेलाडी र प्रशिक्षक छनौट गरिएको हो। च्याम्पियनिपमा दुई हजार भन्दा बढी खेलाडीको सहभागि थिए।
एभरेष्ट तेक्वान्दोबाट २८ जना खेलाडी सहभागि भएकोमा १४ जनाले स्वर्ण जितेका थिए। ती मध्ये चार जना खेलाडी एटीयु राष्ट्रिय टिममा छनौट भएका थिए। स्वर्ण जित्ने खेलाडी बीचमा टीम ट्रायलका लागि प्रतिस्पर्धा हुन्छ । त्यसमा उत्कृष्ट खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउछन्। एटीयु राष्ट्रिय टिममा छनौट भएका अन्य दुई प्रशिक्षक कोरियाली मुलका छन्।
अमेरिकामा तेक्वान्दोका मुख्य गरि तीन ठूला संरचना छन्। युएसए तेक्वान्दो, एमेच्योर एथलेटिक युनियन तेक्वान्दो (एएयुटी) र अमेरिकी तेक्वान्दो युनाइटेड (एटीयु)।
युएसए तेक्वान्दो अमेरिकी तेक्वान्दोको आधिकारिक निकाय हो। अन्य दुई संस्थाले पनि तेक्वान्दो विकासका लागि कार्य गर्दै आएका छन्।
औपचारिक रुपमा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा अमेरिकाको प्रतिनिधित्व युएसए तेक्वान्दोबाट मात्र हुन्छ। तर खेलाडी उत्पादनमा एएयु र एटीयुले आफ्नै क्षेत्रमा कार्य गर्दै आएका छन्। तीन वटा संस्थाले आ आफ्नै राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, राष्ट्रिय टिम बनाउने गर्दछन्। एटीयुले अमेरिका बाहिर पनि विभिन्न देशमा हुने आमन्त्रण प्रतियोगितामा आफ्नो राष्ट्रिय टिमका खेलाडीलाई सहभागि गराउने गर्दछ।
एउटा खेलाडीले तीन वटै संस्थाले आयोजना गर्ने प्रतियोगितामा भाग लिन पाउछन्। एभरेष्टका खेलाडीले यस अगाडि नर्थ क्यारोलिनामा भएको एएयु जुनियर ओलम्पिकमा पनि सफलता हात पारेका थिए। यो पनि हेर्नुहोस (नेपाली प्रशिक्षकले सञ्चालन गरेको तेक्वान्दो स्कूलका तीन खेलाडी अमेरिकाको राष्ट्रिय टिममा छनौट)
एएयुको राष्ट्रिय टिममा छनौट भएका खेलाडीले एटीयुमा पनि सफलता हात पारेका हुन्। खेलाडी सँगै प्रशिक्षले पनि इतिहास रच्ने मौका पाए।
‘म खुसी छु’ समाज टाइम्स सँगको कुराकानीमा अनमोलले भने, ‘मेरो लागि यो ठूलो सपना हो, म पहिलो नेपाली हुँ अमेरिकी तेक्वान्दोमा यो सफलता पाउने, मिचिगन राज्यबाट पनि तेक्वान्दोको राष्ट्रिय टिमको प्रशिक्षक हुने म पहिलो हुँ र अहिले सम्म राष्ट्रिय टिमको प्रशिक्षक हुने कान्छो पनि, मेरा लागि यो ठूलो सफलता हो।’
एभरेष्ट तेक्वान्दोका दुई खेलाडी ‘पान अमेरिकन‘ गेममा छनौट
अनमोल प्रशिक्षक रहेको एटीयु राष्ट्रिय टिमका दुई खेलाडी पान अमेरिकन गेम २०२३ का लागि छनौट भएका छन् ।
अगष्त १८ देखि २१ तारिक सम्म फ्लोरिडामा भएको ‘प्रेसिडेण्ट कप’मा गरेको प्रदर्शनको आधारमा एटीयुका खेलाडीले यो सफलता पाएका हुन।
प्रेसिडेन्ट कपमा सहभागि खेलाडीको वरियता कायम हुन्छ। विश्व तेक्वान्दो संघको जी टु लेवलको प्रतियोगिता हो । यसमा ओलम्पिक, विश्व च्याम्पियनसिपमा भाग लिएका खेलाडीको पनि पनि सहभागिता रहन्छ।
हेलो केनेजो र ओलिभिया ह्युमेनचिकले पान अमेरिकाका लागि वाइल कार्ड पाएका हुन्। प्रेसिडेण्ट कपमा हेलोले स्वर्ण पदक जितेकी थिइन। यस्तै ओलिभियाले रजत जितेर पनि वाइल कार्ड पाइन। किनकी फाइनलमा उनी क्यानडाकी खेलाडी सँग पराजित भएकी थिइन्। फाइनलमा दुई फरक देशका खेलाडी भिडेका कारण दुबैले पान अमेरिकी गेमको वाइल कार्ड पाएका हुन्।
प्रेसिडेण्ड कपमा एटीयुका १६ मध्ये ६ जनाले पदक जितेका थिए। माया चेरनोलुत्स्की, विक्टोरिया चेरनोलुत्स्की, निकोलस मिल्जकोभिक र केली विनीले कांस्य पदक जिते ।
‘मेरा लागि चुनौति र अवसर दुबै आएको छ’ अनमोलले भने, ‘मेरै स्कूलका खेलाडी राष्ट्रिय टिम हुँदै पान अमेरिकन गेममा छनौट भएका छन्, त्यहाँ पनि सकारात्मक नजिजा निकाल्न खेलाडीलाई तयार गराउनु छ, शिर्ष खेलाडी सँगको भिडन्त रोचक नै हुन्छ, त्यही अनुसार खेलाडीलाई तयार गराउने हो।’