नेपाली प्रशिक्षकले सञ्चालन गरेको तेक्वान्दो स्कूलका तीन खेलाडी अमेरिकाको राष्ट्रिय टिममा छनौट
नर्थक्यारोलिना, अमेरिका । नेपाली प्रशिक्षक लव गोर्खालीले सञ्चालन गरेको एभरेष्ट तेक्वान्दो स्कूलका तीन खेलाडी अमेरिकाको राष्ट्रिय टोलीमा पर्न सफल भएका छन्।
नर्थ क्यारोलिनामा बुधवार सम्पन्न एएयु (एमेच्योर एथलेटिक युनियन) जुनियर ओलम्पिक गेममा स्वर्ण जित्दै एभरेष्ट स्कूलका खेलाडीले यो सफलता पाएका हुन्।
प्रशिक्षक गोर्खालीले ढेड दशक देखि अमेरिकाको मिचिगनमा ज्योति एभरेष्ट तेक्वान्दो स्कूल सञ्चालन गर्दै आएका छन्। उनका दुई छोराहरु अनमोल र अमुल गोर्खाली पनि सोही स्कूलमा प्रशिक्षक छन्।
एएयु अमेरिकाका युवा तथा विद्यार्थीहरुका लागि सबै भन्दा पुरानो र बृहत प्रतियोगिता हो। जसलाई जुनियर ओलम्पिक भनिन्छ। स्टेट र राष्ट्रिय स्तरको छनौट चरण पार गर्दै जुनियर ओलम्पिकमा सहभागि हुन पाइन्छ। ४१ खेल समावेस एएयुमा तेक्वान्दो तर्फ एभरेष्ट तेक्वान्दोबाट सहभागि पाँच मध्ये तीन जनाले स्वर्ण पदक जित्दै राष्ट्रिय टिमको सदस्य बनेका हुन्।
अमेरिकामा एक दर्जन भन्दा बढी नेपाली प्रशिक्षकले सञ्चालन गरेका तेक्वन्दो स्कूल छन्। तर अमेरिकाको युवा राष्ट्रिय टिमका लागि मुख्य ढोकाको रुपमा रहेको एएयुमा नेपाली प्रशिक्षक सञ्चालक रहेको मध्ये एभरेष्ट स्कूलले मात्र भाग लिएको थियो।
मिचिगनबाट नर्थक्यारोलिनाको यात्रा तय गरेका ओलिभिया ह्युमेनचिक, हेलो क्यानेजो र भिक्टोरिया चेरनोलुत्स्कीले स्वर्ण पदक जिते। केरोन बक्सा र नेपाली युवा विप्लव खरेल भने स्वर्णबाट बन्चित हुदै राष्ट्रिय टिममा छनौट हुन असफल भए।
“म यी खेलाडीहरुमा अविश्वसनीय रूपमा धेरै नै गर्व गर्छु! शब्दहरूले वर्णन गर्न सकिदैन कि हामी कति गर्व गर्छौं, बधाई छ पाँच खेलाडीलाई तीन जना राष्ट्रिय टिम र दुई जनालाई बी टिममा पायौ।” खेल पछि प्रशिक्षक अनमोल गोर्खालीले लेखका छन्।
प्रतियोगितामा हेलो क्यानेजो प्रारम्भिक चरणमा घिगेरी रेनाटालाई अंकको आधारमा १६-७ ले हराएकी थिइन। अर्को खेलमा हेलोले हर्नान्डेज, अन्नाबेलाई २१-८ ले हराइन।
स्वर्ण पदकका लागि भएको खेलमा हेलोले अनुभवि खेलाडी वेंकटरामन श्रुतिको चुनौति पन्छाएकी थिइन। बेष्ट अफ थ्रीका आधारमा भएको खेलमा पहिलो राउण्ड हेलोले १६-९ले जितेकी थिइन। तर दोस्रो राउण्ड भने उनले गुमाइन। दोस्रो राउण्डको निर्धारित समयमा दुबै खेलाडीको १२-१२ अंक भए पछि जजको निर्णयको आधारमा श्रुति विजयी भएकी थिइन।
तर अन्तिम राउण्डमा हेलो पुन खेलमा फर्किइन। उनले १८-१५ ले नतिजा आफ्नो पक्षमा पार्दै राष्ट्रिय टिमको सदस्य बन्न सफल भइन।
श्रुति यस अगाडिकी अमेरिकाको राष्ट्रिय टिमकी सदस्य हुन। यस्तै पाना अमेरिकामा शिर्ष वरियतामा रहेकी श्रुति पोर्तुरिको ओपनको स्वर्ण विजेता पनि हुन्।
एभरेष्ट तेक्वान्दो मिचिगनलाई स्वर्ण दिलाउदै अमेरिकाको राष्ट्रिय टिमको सदस्य बन्ने क्रममा अर्की खेलाडी ओलिभिया ह्युमेनचिकले लेइटन डोमिनिका र जङ्ग रेण्डीलाई हराएकी थिइन। लेइटन डोमिनिकालाई १२-५ को फराकिलो अन्तरले हराएकी ओलिभियाले जङ्ग रेण्डीलाई पनि १२-१० र ७-३ अंकले पछाडि पारिन्।
यस्तै एभरेष्टलाई स्वर्ण पदक दिलाउने यात्रामा पुग्नका लागि अर्की खेलाडी भिक्टोरिया चेरनोलुत्स्कीले पहिलो म्याचमा कटर सोफीलाई १०-३ ले निरास पारिन्। दोस्रो म्याचमा भिक्टोरियाले रोमेरो जाजलीनको चुनौति १४-६ ले पन्छाइन्।
वेष्टअफ थ्रीका आधारमा भएको फाइनलमा लिजामिज मिकेलालाई ७-३ र ६-२ हराउदै स्वर्ण पदक हात पारिन।
एभरेष्टबाटै प्रतियोगितामा सहभागि नेपाली युवा विप्लव खरेल भने राष्ट्रिय टिममा पर्ने लक्ष्य अधुरै राखेर फर्किए। उनी एलेसान्ड्रो गोन्जालेससँग दुबै खेल हार्न पुगे। पहिलो खेलमा २०-१५ को नतिजा सुम्पिएका विप्लव दोस्रो खेलमा पनि १७-१४ ले पछाडि परे।
विप्लवकै समुहमा जुनियर ओल्मिपिकका लागि छनौट भएका चार मध्ये एक जना पारिवारिक कारण अमेरिका भन्दा बाहिर थिए भने अर्का खेलाडी चोटका कारण प्रतिस्पर्धमा उत्रन सकेका थिएनन्। त्यस कारण विप्लवले एक खेलाडीलाई हराउदा मात्र पनि स्वर्ण सहित राष्ट्रिय टिममा पर्ने सुनौलो अवसर थियो। गोन्जालेस तिनै खेलाडी हुन जसलाई विप्लवले लस भेगासमा भएको राष्ट्रिय गेममा हराएका पनि थिए।
तर यस पटक आफै हार मान्न पुगे। “खेल्न सक्ने जति खेलिन, अलि नर्मश पनि भए, खेल पछि छोटो प्रतिक्रिया दिदै विप्लवले भने,”ठिकै छ अब फेरि अर्को वर्ष प्रयास गर्छु।” यद्यपी विप्लव राष्ट्रिय टिमको बैकल्पिक खेलाडी भने रहने छन्।
“शुरुमा नर्मश भए, त्यसले गर्दा गेम विगार्यो,पछाडि खेल राम्रो हुँदै गएको त थियो तर ढिला भइसकेको थियो,” विप्लव सँगै प्रतियोगिता स्थल रहेका प्रशिक्षक अनमोल गोर्खालीले भने “नयाँ नियममा पहिलो पटक खेल्दा पनि अलिकति बिग्रियो।”
नेपालमा भक्तपुर कौशलटारमा जन्मिएका विप्लव पछिल्लो आठ वर्ष देखि सपरिवार मिचिगनमा बन्दै आएका छन्।
एभरेष्टका अर्का खेलाडि किरोन बाक्सा अमेरिकाको विश्व टोलीका सदस्य कोलिन लीसँग १२-९ र १६-७ पराजित भए ।
यो पनि हेर्नु होस (१६ बर्षे तन्नेरी नेपाली ठिटो विप्लव,अमेरिकामा जुनियर ओलम्पिक खेल्दै)