अमेरिका निवासी राजीव राज भाटद्वारा नेपालमा बाढी पिडितका लागि ३ करोडको राहत तथा पुनर्निर्माण प्याकेज घोषणा
टेक्सस । नेपाल गोरखा घर भई अमेरिकाको टेक्ससमा व्यवसाय गर्दै आएका राजीव राज भाटले विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका लागि ३ करोड रुपैयाँ बराबरको राहत तथा पुनर्निर्माण प्याकेज घोषणा गरेका छन्।
भाटले आफ्नो फेसबुक पेजमार्फत भिडियो सन्देश जारी गर्दै तत्कालका लागि ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको जानकारी दिएका छन्। उक्त रकम आफूले व्यक्तिगत रूपमा समेत योगदान गरेको भन्दै उनले विपद्को समयमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
भाटका अनुसार कुल ३ करोड रुपैयाँको कोषमध्ये तत्काल ३० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको हो। बाँकी २ करोड ७० लाख रुपैयाँ रसुवा, नुवाकोट, धादिङ र गोरखामा पुनर्निर्माण तथा परोपकारी काममा खर्च गरिनेछ। स्थानीय निकाय तथा स्थानीय संघसंस्थासँगको समन्वयमा र ‘भिजिट नेपाल’को प्रत्यक्ष संलग्नतामा पुनर्निर्माणका काम अघि बढाउने योजना उनले सार्वजनिक गरेका छन्।
‘एक नेपाली, एक रुपैयाँ’ भन्ने संकल्पसहित अघि बढ्न आह्वान गर्दै भाटले विपद्को यो समयमा आर्थिक सहयोगसँगै तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। उनले भनेका छन्, “फन्ड ठीक छ, तर अहिले तत्काल उद्धार नै सबैभन्दा महत्वपूर्ण हो। सरकारलाई सहयोग गर्दै यो अभियानलाई सँगै अघि बढाऔँ।”
भाटले बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। परिवारजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले विपद्को समयमा नेपाल र नेपालीप्रति विदेश तथा मित्रराष्ट्रहरूले देखाएको सहयोग र सद्भावप्रति आभार व्यक्त गरे।
गोरखाको पालुङटारसँग आफ्नो व्यक्तिगत तथा पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै भट्टले बाढीको प्रत्यक्ष असर आफ्नो नगरपालिकामा नपरे पनि पालुङटारबाट तीर्थयात्राका लागि नुवाकोटतर्फ गएका स्थानीय बाढीको चपेटामा परेको बताए। उनका अनुसार ३० जनाभन्दा बढी स्थानीय अझै बाढीले छोडेको भग्नावशेष तथा प्रभावित क्षेत्रमा बेपत्ता अवस्थामा रहेका छन्।
“आज पालुङटार पनि हामीसँगै रोइरहेको छ र सिंगो देश रोइरहेको छ,” उनले भिडियो सन्देशमा भनेका छन्।
भाटले आफूहरूको निजी पहुँचबाट उद्धारका लागि उडान गर्न सक्ने अवस्था नरहेको र आफन्त तथा छिमेकीको खोजीमा समेत प्रत्यक्ष रूपमा संलग्न हुन नपाएको बताए। उनले विपद् व्यवस्थापनमा नेपाल सरकारले देखाएको सक्रियताको प्रशंसा गर्दै सरकार एक्लैले मात्र यति ठूलो विपद्को सामना गर्न नसक्ने भएकाले प्रत्येक नेपालीको उत्तिकै दायित्व रहेको बताए।
बाढीपछि आगामी दिनमा महामारी, हैजा तथा अन्य स्वास्थ्य संकट फैलिन नदिन सरसफाइ, सुरक्षित खानेपानी र प्रभावित क्षेत्रमा तत्काल आवश्यक व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने उनले बताए।
भाटले नेपाल सरकारले अघि सारेको एकद्वार प्रणालीमार्फत राहत तथा सहयोग संकलन गर्ने व्यवस्थाको प्रशंसा गर्दै आफूहरूको अभियान पनि सरकारसँग सहकार्य र समन्वयमै अघि बढ्ने स्पष्ट पारे।
उनले विपद्को यो घडीलाई राष्ट्रिय एकता र सहकार्यको अवसरका रूपमा लिनुपर्ने बताउँदै रसुवा, धादिङ, नुवाकोट र गोरखामा मात्र विपद् आएको नभई सिंगो नेपाल नै प्रभावित भएको अनुभूति गर्न सबै नेपालीलाई आग्रह गरेका छन्।
भाटले अमेरिकामा रहेको आफ्नो टोली, ‘वाई एन्ड डी’, ‘भिजिट नेपाल’ तथा नेपालसँग जोडिएर सहयोग गरिरहेका सम्पूर्ण व्यक्ति र संस्थाप्रति पनि धन्यवाद दिएका छन्। नेपालका ती दुर्गम भूभागमा आफूले विगतमा २०० घण्टाभन्दा बढी उडान गरेको स्मरण गर्दै उनले आफूलाई ती भूभाग र त्यहाँका मानिससँगको सम्बन्धले अहिलेको विपद्मा अझ भावुक बनाएको बताए।
“धनराशि महत्वपूर्ण छ, तर अहिलेको सबैभन्दा ठूलो आवश्यकता तत्काल उद्धार हो,” भट्टले दोहोर्याउँदै सरकारको उद्धार तथा राहत अभियानमा सबैले आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गरेका छन्।
उनले विपद्को समयमा नेपालीबीच राष्ट्रिय एकता अझ बलियो बनाउनुपर्ने र यही एकताका साथ पुनर्निर्माण तथा देश निर्माणको अभियानमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।














