बाल्टिमोरमा नेपाली समुदायको सामूहिक दीप प्रज्वलन, बाढीपीडितप्रति ऐक्यबद्धता
बाल्टिमोर, मेरील्याण्ड / नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकाको मेरील्याण्डमा नेपाली समुदायले सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
मेरिल्याण्डमा बसोबास गर्ने नेपालीहरूको साझा संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन (बाना) को आयोजनामा आइतबार, अगस्ट ३० साँझ टाउसनस्थित ४०० वासिङ्टन एभिन्यु अगाडि दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सकुशल खोजीका लागि प्रार्थना गरिएको थियो।
अगस्त २६ तारिख नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि नेपाली समुदायले पीडित परिवार र प्रभावित समुदायप्रति आफ्नो साथ र ऐक्यबद्धता व्यक्त गर्न कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा सहभागीहरूले मैनबत्ती बालेर नेपालको आकृतिमा दीप प्रज्वलन गरेका थिए। सामूहिक प्रार्थना, मौन श्रद्धाञ्जली तथा पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै सहभागीहरूले विपत्तिको समयमा नेपाली समुदाय एकजुट भएर उभिने प्रतिबद्धता जनाएका थिए।
बानाका अध्यक्ष जितेन गुरुङसहित कार्यसमिति, सामाजिक अभियन्ता, नेपाली कलाकार, विभिन्न सामाजिक संघ–संस्थाका पदाधिकारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा मेरील्याण्डका सिनेटर, काउन्टी काउन्सिल सदस्य तथा अन्य स्थानीय जनप्रतिनिधि र राजनीतिक व्यक्तित्वहरूको पनि उपस्थिति थियो।
बाल्टिमोर काउन्टीका स्थानीय नेतृत्वले नेपाली तथा तिब्बती समुदायप्रति ऐक्यबद्धता जनाउँदै विपत्तिको दुःखमा समुदायसँगै उभिनु महत्वपूर्ण रहेको बताएका थिए। कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले नेपाली समुदाय बाल्टिमोर काउन्टीको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागीहरूले विपत्तिमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन नेपाली समुदायलाई आह्वानसमेत गरेका थिए।
बाढीपीडितको सहयोगका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष सहयोग गर्न सकिने जानकारीसमेत कार्यक्रममा दिइएको थियो।
दीप प्रज्वलन कार्यक्रम मेरिल्याण्डमा क्रियाशील नेपाली संघ–संस्था तथा नेपाली समुदायको संयुक्त आह्वानमा आयोजना गरिएको थियो।
संयुक्त आह्वानमा जनसम्पर्क समिति मेरिल्याण्ड, प्रवासी नेपाली मञ्च मेरिल्याण्ड, प्रवास नेपाली सम्पर्क विभाग मेरिल्याण्ड, प्रवासी नेपाली एकता समाज (पानस) मेरिल्याण्ड, प्रवासी नेपाली समाज अमेरिका, गैरआवासीय नेपाली संघ मेरिल्याण्ड, सुदूरपश्चिम समाज मेरिल्याण्ड, मध्यपश्चिम समाज मेरिल्याण्ड, नासो कम्युनिटी मेरिल्याण्ड रहेका छन् ।
यसै गरि टी.ई.सी. समाज मेरिल्याण्ड ( टीइसी ), मगर समाज मेरिल्याण्ड, तमु समाज मेरिल्याण्ड, तामाङ समाज मेरिल्याण्ड, लिम्बु समाज मेरिल्याण्ड, नेवा: कम्युनिटी मेरिल्याण्ड, बाग्लुङ समाज मेरिल्याण्ड, म्याग्दी समाज मेरिल्याण्ड, पर्वत समाज मेरिल्याण्ड, कास्की समाज अमेरिका, स्याङ्जा समाज मेरिल्याण्ड, लमजुङ समाज मेरिल्याण्ड, गोरखा समाज मेरिल्याण्ड, तनहुँ समाज अमेरिका, चितवन समाज मेरिल्याण्ड, पूर्वेली समाज मेरिल्याण्ड, नेपाली चर्च मेरिल्याण्ड, इनास मेरिल्याण्ड, इनास अमेरिका, पाल्पाली संगम मेरिल्याण्ड, हिन्दु बुद्ध मन्दिर मेरिल्याण्ड, हिन्दु मन्दिर जर्मनटाउन मेरिल्याण्ड, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अमेरिका, ब्लड डोनर्स अफ अमेरिका मेरिल्याण्ड, साथी बाल्टिमोर, हिमालय बाल्टिमोर र साहित्य समाज मेरिल्याण्डलगायत ३६ संस्था रहेका छन्।
संयुक्त आह्वानमार्फत नेपाली समुदायलाई दुःखमा एकजुट हुन, दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा प्रभावित परिवार र समुदायलाई साथ र सहयोग गर्न आग्रह गरिएको थियो।
कार्यक्रमले भौगोलिक दूरीका बाबजुद मातृभूमिमा आइपरेको विपत्तिप्रति अमेरिकामा रहेका नेपाली समुदायको गहिरो भावनात्मक सम्बन्ध र मानवीय ऐक्यबद्धता पुनः प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।














