पेन्सिलभेनिया स्टेट तेक्वान्दो : उत्कृष्ट खेलाडी जन्माउने खुड्किलो
ह्यारिसबर्ग, पेन्सिलभेनिया / हिमालयन तेक्वान्दो ह्यारिसबर्गको आयोजनामा शनिवार पेन्सिलभेनिया स्टेट तेक्वान्दो च्याम्पियनसिप एएयू राष्ट्रिय क्वालिफायर रूपमा सम्पन्न भएको छ।
वेस्टर्न पेन्सिलभेनियाको डिस्ट्रिक्ट चेयरको रूपमा जिम्मेवारी पाएपछि हिमालयन तेक्वान्दो ह्यारिसबर्गका सञ्चालक तथा मुख्य प्रशिक्षकले यस प्रतियोगिताको संयोजन गरेका थिए ।
पेन्सिलभेनिया लगायत मेरील्याण्ड, भर्जिनिया, ओहायो, केन्टकी, न्यू जर्सी र न्यू योर्क गरी विभिन्न राज्यहरूबाट करिब दुई सय खेलाडीले भाग लिएका थिए ।
एमेच्योर एथलेटिक्स युनियन (एएयु) अमेरिकाको एउटा ठूलो र प्रतिष्ठित खेलकुद संस्था हो, जसले तेक्वान्दो लगायत विभिन्न खेलहरूका लागि तल्लो स्तरदेखि राष्ट्रिय स्तरसम्मका प्रतियोगिताहरू सञ्चालन गर्ने गर्दछ।
“सबैका लागि खेलकुद, सधैँका लागि” भन्ने नारा बोकेको एएयुले जिल्ला र क्षेत्रीय स्तरमा छनोट प्रतियोगिताहरू गराउँछ। त्यहाँ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले अमेरिकाको प्रतिष्ठित एएयु नेश्नल च्याम्पियनसिप र एएयु जुनियर ओलम्पिकमा भाग लिने अवसर पाउँछन्।
हिमालयन तेक्वान्दोका संचालक तथा मुख्य प्रशिक्षक तथा एएयुका वेस्टर्न पेन्सिलभेनियाको डिस्ट्रिक्ट चेयर नकुल शर्माले खेलाडीलाई अवसर दिन यो च्याम्पियनसिप आयोजना गरिएको बताए ।
‘यो प्रतियोगिता खेलाडीहरूका लागि राष्ट्रिय र क्षेत्रीय स्तरको खेलमा पुग्ने एउटा महत्त्वपूर्ण सिँढी हो।’ प्रशिक्षक शर्माले भने, ‘ नेसनलमा खेल्छु भन्ने खेलाडीका लागि अनुभव लिने ठाउँ हो । एउटा राम्रो पर्फर्मेन्स गर्नेले नेसनलको लागि एप्लाई गर्ने, आफू अघि बढ्नको लागि खेल्ने यो एउटा खुड्किलो हो।’
यस्तै सनसाइन तेक्वान्डो एकेडेमी ओहायोकी सञ्चालिका तथा प्रमुख प्रशिक्षक कौशिला खनाल कर्माचार्यले पनि च्याम्पियनसिपलाई ‘नेसनल’ पुग्ने बलियो खुड्किलो भएको बताइन ।
“यहाँ खेल्ने मान्छेले नेसनलमा खेल्छु भनेर जान को लागि एक्सपेरियन्स लिने हो। एउटा राम्रो पर्फर्मेन्स गर्नेले नेसनलको लागि एप्लाई गर्ने, आफू अघि बढ्ने हो ।’ उनले भनिन्न, ‘ओपन च्याम्पियनसिपमा जो कोही सजिलै सहभागी हुन सक्ने भए तापनि यस स्टेट च्याम्पियनसिपमा भने उत्कृष्ट खेलाडीहरू मात्र भिड्ने गर्छन्।’
कौशिलाले यहाँबाट छानिएका खेलाडीहरू ‘रिजनल’ हुँदै ‘नेसनल’ खेलको यात्रामा अगाडि बढ्ने भएकाले यस प्रतियोगिता निकै महत्त्व हुने बताइन ।

















