न्युयोर्क सिटीले विश्वकप खेलका लागि ५० डलरको सस्तो टिकट लटरीमार्फत उपलब्ध गराउने योजना
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / न्युयोर्क सिटीले आफ्ना स्थानीय बासिन्दालाई अर्को महिनादेखि न्यु जर्सीमा हुने विश्वकप फुटबल खेलको ५० डलरको टिकट प्राप्त गर्ने अवसर दिने भएको छ ।
मेयर जोहरान ममदानीले घोषणा गर्दै लटरी प्रणालीमार्फत १ हजार वटा सुलभ टिकट उपलब्ध गराइने बताएका हुन् । यी छुटयुक्त टिकटसँगै न्यु जर्सीको ईस्ट रदरफोर्डस्थित स्टेडियमसम्म निःशुल्क दुईतर्फी बस सेवा पनि प्रदान गरिनेछ ।
टिकटहरू पाँच समूह चरणका खेल र दुई नकआउट खेलमा बाँडिनेछन्, जसमा प्रत्येक खेलका लागि १५० टिकट उपलब्ध हुनेछन् ।
हार्लेम क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा मेयर मामदानीले भने, “हामी सुनिश्चित गर्दैछौं कि खेल निर्माणमा योगदान दिएका श्रमिक वर्गका मानिसहरू खेल हेर्नबाट वञ्चित नहून्।” उनले ५० डलरको टिकट मूल्यलाई न्युयोर्क सहरमा पाँच कप कफीको मूल्यसँग तुलना गर्दै हल्का ठट्टासमेत गरे ।
यहि मे २५ देखि न्युयोर्कका बासिन्दाले लटरीमा आवेदन दिन सक्नेछन् । टिकटहरू अरूलाई हस्तान्तरण गर्न नमिल्ने व्यवस्था गरिएको छ । कालोबजारी रोक्न विजेतालाई बस चढ्ने स्थानमै टिकट वितरण गरिनेछ ।
संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपमा टिकटको महँगोपन ठूलो मुद्दा बनेको छ ।
टिकट मूल्य ट्र्याक गर्ने प्लेटफर्म टिकट डाटाका अनुसार, गत बुधबारसम्म न्युयोर्कमा समूह चरणको खेल हेर्न प्रवेश टिकटको औसत मूल्य ८६४ डलर पुगेको थियो । केही पुनर्बिक्री टिकटहरू विभिन्न प्लेटफर्ममा हजारौँ डलरसम्ममा सूचीकृत छन् । जसमा फिफाको आधिकारिक पुनर्बिक्री बजार पनि समावेश छ ।
न्यु जर्सीमा जुलाई १९ मा हुने फाइनल खेलका उत्कृष्ट सिटहरू करिब ३३,००० डलरमा बिक्रीका लागि राखिएको छ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यस महिनाको सुरुवातमा विश्वकप टिकटको उच्च मूल्यको बचाउ गरेका थिए। लटरीका विजेता प्रत्येकले बढीमा दुई वटा टिकट खरिद गर्न सक्नेछन् ।

















