फिफा विश्व कपमा सूरक्षा तयारी
जोन डेभिस
फिफा विश्वकप २०२६ लागि अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रुहरूको ठूलो संख्यालाई व्यवस्थापन गर्न अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) कार्यालयले आफ्नो तयारी तीव्र पारेको छ।
विश्व नै अमेरिका, क्यानाडा र मेक्सिकोमा केन्द्रित हुँदैछ, किनभने यी तीन देशले संयुक्त रूपमा फिफा विश्वकपको आयोजना गर्दैछन्।
खेल टोलीहरू र दर्शकहरू सबैका लागि यो कार्यक्रम सुरक्षित र व्यवस्थित बनाउन सीबीपीले महत्त्वपूर्ण भूमिका खेल्नेछ। यो कार्य अमेरिकी संघीय, राज्य र स्थानीय सुरक्षा निकायहरूसँग मात्र नभई, मेक्सिको र क्यानाडाका समकक्षी निकायहरूसँगको निकट समन्वयबाट सुरु हुन्छ।
“हामी विश्वकपका सबै यात्रु र सहभागीहरूलाई एक सहज र सुरक्षित अनुभव प्रदान गर्न प्रयासहरू समन्वय गरिरहेका छौं,” सीबीपीका अपरेसन सपोर्टका कार्यकारी सहायक आयुक्त र विश्वकप २०२६ का लागि वरिष्ठ जिम्मेवार अधिकारी केसी डर्स्टले भने, “पूरा प्रतियोगिता अवधिभर एकीकृत कमान्ड र द्रुत प्रतिक्रिया सुनिश्चित गर्न हामीले ‘सीबीपी वर्ल्ड कप टास्क फोर्स’ स्थापना गरेका छौं। यो संरचनाले सुरक्षा अपरेसनहरू समन्वय गर्ने, गतिविधिहरूको रिपोर्ट गर्ने र फिफा विश्वकप २०२६ का सबै आयोजक सहरहरूमा विशेष क्षमताहरू परिचालन गर्ने काम गर्दछ।”
सीबीपीले अमेरिकी विदेश मन्त्रालय (डिपार्टमेन्ट अफ स्टेट) सँग मिलेर यस खेलकुद मेलामा आउने अनुमानित ६० लाखभन्दा बढी अन्तर्राष्ट्रिय दर्शकहरूको भिसा आवेदन स्वीकृत गर्ने काममा समन्वय गरिसकेको छ। यसका साथै, बाह्य उद्योगका सरोकारवालाहरूसँग नियमित रूपमा संलग्न रहने अमेरिकी न्याय र वाणिज्य मन्त्रालयहरूसँग पनि समन्वय गरिएको छ।
अक्टोबर १, २०२५ देखि अप्रिल ३०, २०२६ सम्मको अवधिमा मात्रै, सीबीपीले ५० लाखभन्दा बढी इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथेन्टिकेसन (इएसटीए) आवेदनहरू प्रशोधन र स्वीकृत गरिसकेको छ। साथै, फिफा विश्वकपको तयारीकै भागको रूपमा सुरक्षित र प्रभावकारी यात्रा सुनिश्चित गर्न ट्रस्टेड ट्राभलर प्रोग्रामहरूलाई थप सुदृढ बनाएको छ।
सोही अवधिमा सीबीपीले ग्लोबल इन्ट्री, सिक्योर इलेक्ट्रोनिक नेटवर्क फर ट्राभलर्स र्यापिड इन्स्पेक्स (सेन्ट्रि) र नेक्ससका लागि १.६ मिलियन भन्दा बढी आवेदनहरू प्रशोधन गरेको छ, जसले पूर्व-जाँच गरिएका यात्रुहरूलाई अमेरिका र क्यानाडा प्रवेश गर्दा द्रुत प्रक्रियाको सुविधा दिन्छ।
“सीबीपी फिफा विश्वकप २०२६ मा आउने सबै आगन्तुकहरूको सुरक्षित र कानुनी यात्रा सुनिश्चित गर्न प्रतिबद्ध छ,” सीबीपीको अफिस अफ फिल्ड अपरेसनका एडमिसिबिलिटी एन्ड प्यासेन्जर प्रोग्राम्सका कार्यकारी निर्देशक म्याथ्यू डेभिसले भने, “हाम्रो ट्रस्टेड ट्राभलर प्रोग्राम र इएसटीएमा सहभागिता विस्तार गरेर, हामी यात्रुहरूलाई लामो लाइनमा बस्ने समय घटाउन र संयुक्त राज्य अमेरिकामा उनीहरूको अनुभवको आनन्द लिन बढी समय दिन मद्दत गर्दैछौं, साथै बलियो सीमा सुरक्षालाई पनि कायम राखिरहेका छौं।”

यसका साथै, सीबीपीको अफिस अफ फिल्ड अपरेसन (जसका निलो पोसाकधारी अधिकारीहरूले राहदानी जाँच र यात्रुहरूको व्यवस्थापन गर्छन्, साथै अमेरिका भित्रिने सबै सामानको निरीक्षण गर्छन्) ले सीमापार आवतजावतलाई सुरक्षित गर्न स्थानीय सुरक्षा निकायहरू र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको समन्वयलाई बढाएको छ।
विभिन्न परिस्थितिहरूको सामना गर्न साझेदार एजेन्सीहरूसँग मिलेर खेल अगावै नक्कली अभ्यास र ड्रिल्सहरू पनि सञ्चालन गरिएको छ। अन्तर्राष्ट्रिय आगमनको उच्च चापलाई व्यवस्थापन गर्न यस कार्यालयले अधिकारीहरूको संख्या थपेको छ, कार्य समय बढाएको छ, उन्नत स्क्रिनिङ प्रविधिहरू लागू गरेको छ र मुख्य बन्दरगाह तथा विमानस्थलहरूको लेआउटमा सुधार गरेको छ।
परिचयपत्र प्राप्त कर्मचारीहरूका लागि समर्पित प्रक्रिया, बहुभाषिक सहायता र विस्तृत यात्रु पहुँच कार्यक्रमले कुशल र सुरक्षित प्रक्रिया सुनिश्चित गर्न मद्दत गर्नेछ।
सीबीपीले अमेरिकी कृषि मन्त्रालय, रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी), र खाद्य तथा औषधि प्रशासन लगायतका साझेदार सरकारी एजेन्सीहरूसँग मिलेर फिफा विश्वकप २०२६ का लागि देशमा भित्रिने कृषिजन्य सामान र जैविक सामग्रीहरूको निरीक्षण गर्न निकटताका साथ काम गरिरहेको छ।
यी सहकार्यात्मक प्रयासहरूले आयातित सबै उत्पादनहरूले कडा सुरक्षा र स्वास्थ्य मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्दछ, जसले हानिकारक कीरा, रोग र दूषित पदार्थहरू भित्रिनबाट रोक्न मद्दत गर्दछ।
सीबीपीलाई सुपर बोल जस्ता उच्च-प्रोफाइल कार्यक्रमहरूको सुरक्षामा सहयोग गर्ने पुरानो अनुभव छ। एजेन्सीले हरेक वर्ष सुपर बोलको सुरक्षा उपायहरूमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। स्टेडियम क्षेत्रमा जाने सबै सामान र विक्रेताहरूको उन्नत एक्सरे सञ्चालनका लागि थप कर्मचारीहरू उपलब्ध गराउनुका साथै स्टेडियम वरपर नो-फ्लाई जोन (उडान निषेधित क्षेत्र) कायम गर्ने र प्रतियोगिताका लागि आयात गरिएका सामानहरूमा बौद्धिक सम्पत्ति अधिकारको निरीक्षण गर्ने काम गर्दछ, ताकि उपभोक्ताहरूले अनजानमा नक्कली सामानहरू खरिद नगरून्।
नक्कली सामानहरू प्रायः असामान्य रूपमा कम मूल्यमा बिक्री गरिन्छ, जसले उपभोक्ताहरूलाई आकर्षित गर्न सक्छ। यद्यपि, तिनीहरूले वास्तविक सुरक्षा खतराहरू निम्त्याउन सक्छन्। सीबीपी फिफाका प्रशंसकहरू र सबै अमेरिकीहरूलाई यी खतराहरूबाट जोगाउन कडा मिहिनेत गरिरहेको छ।
अमेरिकी सीमामा आइपुग्ने नक्कली र प्रतिलिपि अधिकार उल्लंघन गरिएका सामानहरू नियन्त्रणमा लिने, जफत गर्ने र अन्ततः नष्ट गर्ने अधिकार सीबीपी सँग छ। आर्थिक वर्ष २०२५ मा, सीबीपीले १.८ मिलियन भन्दा बढी नक्कली कपडा र जुत्ताका सामानहरू जफत गरेको थियो, जसको वास्तविक मूल्य दुई सय ४७ मिलियन भन्दा बढी हुन्थ्यो।
यस प्रवृत्तिलाई रोक्न सीबीपीले आफ्नो बौद्धिक सम्पत्ति अधिकार प्रवर्तन प्रशिक्षण प्रयासहरूलाई तीव्र बनाएको छ, ताकि सीबीपी अधिकारीहरू र व्यापार विशेषज्ञहरू नक्कली फिफा विश्वकपका सामानहरू पत्ता लगाउन र रोक्नको लागि नवीनतम जानकारीले सुसज्जित हुन सकून्।
नक्कली सामानहरू वैध सामानहरू जस्तै मापदण्डमा उत्पादन गरिँदैनन् र यसैले प्रायः हानिकारक सामग्री र कम गुणस्तरका पार्टपुर्जाहरू प्रयोग गरेर बनाइन्छन्। सीबीपीको नक्कली विरोधी जनचेतना अभियान, ‘द ट्रुथ बिहाइन्ड काउन्टरफेट्स’ (नक्कली पछाडिको सत्यता) ले फिफाका उत्पादनहरू लगायतका नक्कली सामानहरूको खरिदसँग जोडिएका नकारात्मक प्रभावहरूबाट बच्न जनतालाई स्मार्ट तरिकाले किनमेल गर्न प्रोत्साहित गर्दछ।
“यदि तपाईंको मनपर्ने टोलीको जर्सीको मूल्य पत्याउनै नसकिने गरी कम छ भने, यो सम्भवतः नक्कली नै हो,” सीबीपीको अफिस अफ ट्रेडकी कार्यकारी सहायक आयुक्त सुसान एस थॉमसले भने, “सीबीपीले देशमा नक्कली सामानहरू भित्रिन नदिन काम गर्दछ, ताकि २०२६ फिफा विश्वकपको समयमा फुटबल प्रशंसकहरू सुरक्षित रहून्।”
विश्वकपको समयमा अमेरिकाको सुरक्षा आकाशबाट पनि गरिनेछ, किनभने सीबीपीको एयर एन्ड मरीन अपरेसनले हवाई कभर र नो-फ्लाई जोन कार्यान्वयनमा मद्दत गर्नेछ। यो कार्य उनीहरूले हरेक वर्ष सुपर बोलको समयमा गर्ने कार्य जस्तै हो, तर यस पटक अमेरिकाभर दर्जनौं फुटबल म्याचहरू हुने भएकाले यो धेरै पटक र धेरै स्थानमा गरिनेछ।
“यसको ठूलो फाइदा भनेको हामीसँग भएका उच्च-माग र विशिष्ट स्रोतहरू हुन्,” एयर एन्ड मरीन अपरेसनका डेपुटी एक्जिक्युटिभ असिस्टेन्ट कमिश्नर कीथ जोन्सले भने. “हामी त्यस्ता कार्यहरू गर्न सक्छौं जुन अधिकांश एजेन्सीहरू—स्थानीय र राज्य स्तरका एजेन्सीहरूले पनि गर्न सक्दैनन्। हाम्रा क्षमताहरू जहाँ आवश्यक पर्छन्, त्यहाँ परिचालन हुन र अपरेसनहरू सञ्चालन गर्न हामी पूर्ण रूपमा तयार रहनेछौं।”
३९ दिनमा ३९ वटा सहरका ११ वटा अमेरिकी खेल मैदानहरूमा ७८ वटा विश्वकप खेलहरू हुनेछन् (मेक्सिको र क्यानाडामा हुने खेलहरू बाहेक)। त्यसैले यो प्रयास सुपर बोल भन्दा धेरै ठूलो र व्यापक हुनेछ।
“यसमा हामीले पूरा अवधिभर ठूलो संख्यामा जनशक्ति र स्रोतहरू प्रयोग गर्नेछौं; प्रशंसकहरू संसारभरबाट आउँदैछन्,” अपरेसन सपोर्टका वरिष्ठ सल्लाहकार र विश्वकप २०२६ का लागि सीबीपी कम्पोनेन्ट एक्सन अफिसर कीथ गिलानले भने, “यस प्रकारको कार्यक्रमको लागि सीबीपी सँग एक अद्वितीय उपकरण र सीपको सेट छ। यो हामीले पहिले कहिल्यै नगरेको जस्तो विशाल कार्य हुनेछ।”
यस सफलताको मुख्य कडी भनेको अन्य संघीय, राज्य र स्थानीय अधिकारीहरूसँगको निकट समन्वय नै हो। र त्यो जिम्मेवारी एजेन्सीको ‘सीबीपी वाच’ को कार्यक्षेत्रमा पर्दछ, जुन सुरक्षाको कुरा आउँदा सबै निकायहरू एकै ठाउँमा छन् भनी सुनिश्चित गर्ने एक केन्द्रीय समन्वय एकाइ हो।
“हामी शक्तिको गुणाकार हौं,” सीबीपी अफिस अफ अपरेसन सपोर्ट इन्सिडेन्ट म्यानेजमेन्ट ब्रान्चका प्रमुख एन्जेल साल्गाडोले भने, “हामी यहाँ सञ्चारलाई अधिकतम बनाउन र सीबीपी उद्यमका लागि मात्र नभई अन्य स्थानीय, राज्य र संघीय साझेदारहरूसँगको सूचना प्रवाहमा बाधा पुर्याउने कुनै पनि अवरोधहरूलाई कम गर्न यहाँ छौं। नामले संकेत गरेझैं, हामी यहाँ सुरक्षा र निगरानी कायम राख्न उपस्थित छौं।”
प्रतियोगिता अवधिभरको एकीकृत कमान्ड र द्रुत प्रतिक्रिया अघि उल्लेख गरिएको ‘सीबीपी वर्ल्ड कप टास्क फोर्स’ द्वारा सम्भव भएको हो। यसले फिफा विश्वकप २०२६ का सबै आयोजक सहरहरूमा सुरक्षा अपरेसनहरूको समन्वय, रिपोर्टिङ र विशेष क्षमताहरूको परिचालनमा एक असाधारण भूमिका निर्वाह गरिरहेको छ।
“यो अभूतपूर्व विश्वकपले ल्याउने ठूलो जिम्मेवारीका लागि टास्क फोर्स पूर्ण रूपमा तयार छ, र हामी एक सुरक्षित र व्यवस्थित कार्यक्रमको लागि सबै कुरालाई एकसाथ ल्याउनेछौं,” डर्स्टले भने।
“हाम्रो ठूलो काम भनेको सीबीपी भित्रका सबै कार्यालयहरू र युएस होमल्याण्ड सेक्युरीटी (डीएचएस) तथा यसमा संलग्न अन्य सबै साझेदारहरूसँगको निकट समन्वयमा सबै पक्षहरूलाई एकै ठाउँमा मिलाउनु हो। यो साँच्चै नै एक ऐतिहासिक र भव्य कार्यक्रम हुनेछ!” गिलानले भने ।
(सीबीपीद्वारा प्रेसित सामाग्रको नेपालीमा अनुवाद । तस्बिर जेफ अन्डरवुड )

















