पेन्सिल्भेनिया डाउपिन काउन्टीको २२० मिलियन डलरको बजेट पारित, घरजग्गा कर नबढाउने
ह्यारिसबर्ग,पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको डाउपिन काउन्टीले घरजग्गा कर नबढ्ने गरि सन् २०२७ का लागि २२० मिलियन डलरको बजेट सर्वसम्मतिले पारित गरेका छन्।
काउन्टीद्वारा जारी विज्ञप्ति अनुसार कमिस्नरहरूको बुधबार बैठकले बजेट पारित गरेको हो ।
काउन्टीले सुरुमा २८ मिलियन डलरभन्दा बढी बजेट घाटा हुने अनुमान गरेको थियो। कोरोना महामारीका बेला विशेष परियोजनाका लागि प्राप्त ८.६ मिलियन डलरको कोषको अवधि समाप्त हुनु र कर्मचारीको स्वास्थ्य बिमा, अवकाश सुविधा, मुद्रास्फीति तथा श्रम सम्झौतासम्बन्धी अनिश्चितताका कारण खर्च बढ्ने अनुमान गरिएपछि घाटा देखिएको थियो।
बजेट घाटा व्यवस्थापन गर्न काउन्टीले विभिन्न विभागका बजेट प्रस्ताव र सन् २०२६ को अनुमानित वास्तविक खर्चको विस्तृत समीक्षा गरेको थियो। त्यस क्रममा विभागहरूले सुरुमा माग गरेको बजेटबाट करिब १३ मिलियन डलर खर्च कटौती गरिएको छ।
यसअघि सन् २०२६ को अनुमानित वास्तविक खर्चको तुलनामा सन् २०२७ मा १०.३५ प्रतिशत खर्च वृद्धि हुने अनुमान गरिएको थियो। तर खर्च कटौतीपछि वृद्धि दर ४.८६ प्रतिशतमा सीमित हुने काउन्टीले जनाएको छ।
त्यसैगरी, काउन्टीले थप ६.६ मिलियन डलर राजस्व जुटाउने स्रोत पहिचान गरेको छ। यसमा रिभरफ्रन्ट अफिस सेन्टरबाट प्राप्त हुने ७५० हजार डलर, पार्किङसम्बन्धी ऋण भुक्तानीमा यसअघि गरिएको खर्चबापत पेन्सिल्भेनिया राज्य सरकारबाट प्राप्त हुने १.३ मिलियन डलर र शेरिफ कार्यालय, प्रोथोनोटरी कार्यालय तथा क्लर्क अफ कोर्ट्सबाट प्राप्त हुने थप ७२२ हजार डलर समावेश छन्।
यसका अतिरिक्त, बन्डबाट प्राप्त रकममध्ये योग्य पूर्वाधार तथा पुँजीगत परियोजनामा यसअघि गरिएको खर्चको शोधभर्नाका लागि एकपटक ३ मिलियन डलर बजेटमा समावेश गरिएको छ।
खर्च कटौती र थप राजस्वको व्यवस्था गरेपछि पनि बाँकी रहेको घाटा पूर्ति गर्न काउन्टीले गेमिङबाट प्राप्त अप्रतिबन्धित कोषबाट एकपटकका लागि १०.६ मिलियन डलर जनरल फन्डमा स्थानान्तरण गर्ने भएको छ।
स्वीकृत बजेटअनुसार सन् २०२७ को अन्त्यसम्म काउन्टीको जनरल फन्डमा करिब २०.७ मिलियन डलर सञ्चिति रहने अनुमान गरिएको छ।
नयाँ बजेटले सम्पत्ति कर नबढाई काउन्टीका अत्यावश्यक सार्वजनिक सेवा सञ्चालनलाई निरन्तरता दिने लक्ष्य राखेको छ।
फोटो : काउन्टीको फेसबुक पेज



















