भारतमा नेपाली विद्यार्थी सुरक्षित रहेको दाबी, सन्दीप विश्वविद्यालयमा ८ करोड को छात्रवृत्ति
काठमाडौँ । नेपाली विद्यार्थीहरूका लागि भारतीय विश्वविद्यालयहरू संवेदनशील रहेको र उनीहरूको सुरक्षाका लागि सतर्क रहेको प्रतिनिधिले बताएका छन् ।
सन्दीप विश्वविद्यालय महाराष्ट्रले बिहीबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आठ करोड नेरु बराबरको छात्रवृत्ति घोषणासमेत गरेको हो ।
सो विद्यालयका व्यवस्थापक आरएन झाले अन्य देशका भन्दा भारतीय विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीलाई राम्रो व्यवहार हुने दाबी गरे ।
झाले विभिन्न समयमा भारतका अन्य क्याम्पसहरूमा नेपाली छात्राहरूमाथि भएको हत्या तथा दुर्व्यवहारप्रति खेद प्रकट गर्दै भने,‘नेपाली छात्राहरूमाथि घटनाले हामीलाई स्तब्ध तुल्याएको छ । घटनाको छानबिन गरी पीडितलाई न्याय र पीडकहरूलाई कारबाहीको दायरामा ल्याउन भारत सरकारले नै छानबिन गर्दै छ ।’
‘अन्य विद्यालय विशेषप्रति म कुनै टिप्पणी त गर्न चाहन्न तर सन्दीप युनिभर्सिटीमा भने विद्यार्थीरतको सुरक्षा तथा पठनपाठनका लागि विशेष व्यवस्था रहेको छ,’ झाले थपे ।
सन्दीप विश्वविद्यालय महाराष्ट्रस्थित नाशिक र विहार मधुवनी गरेर दुई ठाउँमा रहेको र ती दुवै प्रातमा नेपाली विद्यार्थीहरूका लागि ८ करोड भारु तथा नेरु करिब १३ करोड बढीको छात्रवृत्तिको व्यवस्था गरेको झाले जानकारी दिए ।
उनले आर्थिक रूपले विपन्न तथा अब्बल नेपाली विद्यार्थीहरूका लागि सो छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए ।
आफ्नो विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीहरू निर्धक्क भएर आउनु अनुरोधसमेत झाले अनुरोध गरेका छन् । पछिल्लो समयमा नेपाली समाजमा भारतीय विद्यालयहरूप्रति नकारात्मक धारणा बन्दै गएकाले आफूहरू नेपालमै आएर सो विषयमा प्रष्ट पार्न पत्रकार भेटघाट कार्यक्रम राखेको बताए ।
विश्वविद्यालयका अर्का प्रतिनिधि अमित यादवले नेपाल र भारतबिचको भाषा, संस्कृति र रहनसहनले सदियौँदेखि असल र मित्रता रहेकोले आफूहरूको मुख्य ध्यान तथा लगाव नेपाली विद्यार्थीमा रहेको बताए ।
यादवले महाराष्ट्रस्थित सन्दीप युनिभर्सिटीमा २० हजार र बिहार मधुवानीमा ५ हजार विद्यार्थीहरू अध्ययनरत रहेको र दुवै विद्यालयमा २ सय बढी नेपाली विद्यार्थी अध्ययनरत रहेकोसमेत जानकारी दिए ।