भर्जिनियामा पटाकाको कारण घरमा आगलागी, ६ लाख ५० हजार डलरको क्षति
लाउडन, भर्जिनिया / भर्जिनियाको लाउडन काउन्टीस्थित च्यान्टिलीमा पटाकाको अवशेष फोहोर फाल्ने डस्टबिनमा राख्दा घरमा आगलागी भएको छ।
लाउडन काउन्टी फायर एन्ड रेस्क्युका अनुसार आइतबार राति भएको उक्त घटनामा करिब ६ लाख ५० हजार डलर बराबरको क्षति भएको अनुमान छ ।
राति ८ बजेर ९ मिनेटमा च्यान्टिलीस्थित इक्वाइन ट्रेल कोर्टको ४२००० ब्लकमा रहेको घरमा आगलागी भएको भन्दै आपत्कालीन सेवा केन्द्रमा एकैपटक धेरै फोन आएका थिए।
सूचना पाएलगत्तै साउथ राइडिङ, किर्कप्याट्रिक फार्म्स तथा प्रिन्स विलियम र फेयरफ्याक्स काउन्टीका अग्नि नियन्त्रक टोली घटनास्थल पुगेका थिए।
दुई तले एकल परिवारको घरको ग्यारेजसहित पहिलो र दोस्रो तलाबाट धुवाँ र आगो निस्किरहेको अवस्थामा अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणका लागि विभिन्न दिशाबाट पानीको पाइप प्रयोग गरी तत्काल कारबाही थालेका थिए। करिब २० मिनेटभित्र आगो नियन्त्रणमा लिइएको थियो।
लाउडन काउन्टी फायर एन्ड रेस्क्युको अग्नि अनुसन्धान कार्यालयले आगलागी दुर्घटनावश भएको र घरको कुनानजिक राखिएको फोहोर फाल्ने डस्टबिनमा कानुनी रूपमा खरिद गरिएका पटाकाका अवशेष उचित तरिकाले ननिभाई फालिएका कारण आगो लागेको निष्कर्ष निकालेको छ।
घर कसको हो भन्ने खुलाइएको छैन तर आगलागीका कारण तीन वयस्क र दुई बालबालिकासहित पाँच जना तथा परिवारको एउटा कुकुर घरबाट विस्थापित भएका छन्। उनीहरू स्थानीय क्षेत्रमा आफन्तको घरमा बसिरहेका छन्। घरमा जडान गरिएका धुवाँ पत्ता लगाउने अलार्मले समयमै काम गरेपछि परिवारलाई आगलागीबारे जानकारी भएको थियो।
कुल क्षतिमध्ये घरको संरचनामा पाँच लाख डलर, घरभित्रका सामग्रीमा एक लाख १० हजार डलर र सवारीसाधनमा ४० हजार डलर बराबरको क्षति भएको अनुमान गरिएको छ।
घटनामा दुई अग्नि नियन्त्रकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। दुवै जना परीक्षणपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
लाउडन काउन्टी फायर एन्ड रेस्क्युका सिस्टमवाइड फायर चिफ जेम्स एस. विलियम्सले पटाका निभिसकेको जस्तो देखिए पनि त्यसका अवशेषबाट आगलागीको जोखिम रहिरहने बताए।
उनले भने, “अनुचित तरिकाले फालिएका पटाकाले सजिलै आगो सल्काउन सक्छन् र छोटो समयमै ठूलो क्षति निम्त्याउन सक्छन्।”
पटाका प्रयोगपछि अपनाउनुपर्ने सावधानी
अग्नि नियन्त्रक कार्यालयले घरमा कानुनी पटाका प्रयोग गर्नेहरूलाई केही सावधानी अपनाउन आग्रह गरेको छ।
अनुमति प्राप्त बिक्री केन्द्रबाट खरिद गरिएका कानुनी पटाका मात्र प्रयोग गर्ने। घर, वनस्पति र ज्वलनशील वस्तुबाट टाढा खुला ठाउँमा मात्र पटाका पड्काउने।
नजिकै पानीको पाइप वा पानी भरिएको बाल्टिन राख्ने। पटाका बलियो र स्थिर सतहमा राखेर प्रयोग गर्ने। प्रयोग भइसकेका पटाकाका अवशेष पानीमा राम्ररी भिजाएर भवनबाट टाढा बाहिर राखिएको आगो प्रतिरोधी भाँडोमा मात्र फाल्ने।
नपड्किएका वा बिग्रिएका पटाकालाई पुनः बाल्ने प्रयास नगर्ने।
प्रयोग नगरेका पटाका सुरक्षित रूपमा बुझाउन वा विसर्जन गर्नुपर्ने भए लाउडन काउन्टी फायर एन्ड रेस्क्युको अग्नि अनुसन्धान कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
लाउडन काउन्टी फायर एन्ड रेस्क्युको फेसबुक पेजबाट


















