भर्जिनिया अदालतमा नरेश भट्टले श्रीमतीको शव आराले काटेको स्वीकारे
भर्जिनियामा ममता काफ्ले भट्टको हत्या मुद्दा : शव लुकाउन काटेको र फोहोरमा फालेको तर हत्या भने नगरेको नरेशको बयान
भर्जिनिया / अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या अभियोग लागेका उनका पति नरेश भट्टले श्रीमतीको शव आराले काटेको अदालतमा स्वीकार गरेका छन्। तर उनले ममताको हत्या गरेको भने अस्वीकार गर्दै आफूले उनलाई मृत अवस्थामा फेला पारेपछि शव व्यवस्थापन गर्न यस्तो गरेको दाबी गरेका छन्।
भर्जिनियाको प्रिन्स विलियम काउन्टीस्थित अदालतमा मुद्दाको पाँचौँ सातामा बिहीबार नरेश आफैँ प्रतिरक्षा पक्षको पहिलो साक्षीका रूपमा अदालतमा उपस्थित भएका थिए। दोभाषेको सहयोगमा बयान दिएका उनले ममताको शव काट्न रयोबी कम्पनीको रेसिप्रोकेटिङ आरा प्रयोग गरेको स्वीकार गरे। अभियोजन पक्षले अदालतमा देखाएको आरालाई उनले आफूले प्रयोग गरेको आराका रूपमा पहिचान गरेका थिए।
नरेशका अनुसार, सन् २०२४ जुलाई ३० को बिहान करिब ४ बजे उनी छोरीको हेरचाह गर्न उठेका थिए। त्यस क्रममा बेड रुमको ढोकानजिक ममता अचेत अवस्थामा भुइँमा लडिरहेको देखेको उनको भनाइ छ। ममताको घाँटी र भुइँमा बान्ता देखिएको तथा त्यहाँ चक्की, रगत, क्याप्सुल र खानाका कणहरू रहेको उनले बयानमा बताएका छन्। उनले कोठामा विषादी सेल्फोसको खुला प्याकेट पनि देखेको दाबी गरे।
ममतालाई बचाउन आफूले करिब ४५ मिनेटदेखि एक घण्टासम्म मुखबाट सास दिने र पानी खुवाउने प्रयास गरेको तर प्रहरी वा आकस्मिक सेवामा फोन नगरेको उनले बताए। आफू आत्तिएको र घटनाका लागि आफैँलाई दोषी ठहर्याइने डरले फोन नगरेको उनको जिकिर थियो। ममताले विषादी सेवन गरेर आत्महत्या गरेको हुन सक्ने उनको दाबी छ।
उनले ममताको शव लुकाउने उपाय खोज्दै होम डिपो र वालमार्ट गएको, होम डिपोबाट पञ्जा किनेको र सुरुमा शव पोटोम्याक नदीमा फाल्ने विचार गरेको बताए। शव फोहोर राख्ने डस्टबिनमा अटाउन नसकेपछि आराले काट्न थालेको उनको भनाइ थियो। उनले शवको खुट्टा शरीरबाट अलग गरेको र त्यसपछि मानसिक तथा शारीरिक रूपमा कमजोर भएकाले थप काट्न नसकेको बयान दिए।
नरेशले शवलाई करिब तीनवटा भान्सामा प्रयोग हुने फोहोरका झोलामा राखेर ग्यारेजको फोहोर राख्ने कन्टेनरमा राखेको र फोहोर उठाउने क्रममा शव पनि लगिने आफूलाई थाहा भएको स्वीकार गरे। अभियोजन पक्षका वकिलले शव फेला नपरोस् भनेर काटेर फोहोरमा राखेको हो भनी सोध्दा उनले ‘हो’ भन्ने जवाफ दिएका थिए।
बिहीबारको बयानमा नरेशले ममतामाथि आफूले कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरे। ममताका दाजु महेश काफ्लेले नरेशका आमाबुबाले ममतालाई मन नपराउने गरेको ममताले बताएको भनी अदालतमा दिएको बयान पनि उनले अस्वीकार गरे।
वैवाहिक सम्बन्ध राम्रो नरहेको र सम्बन्ध विच्छेदबारे कुरा हुँदा ममता आत्तिने गरेको उनको भनाइ छ। आफूहरूबिच यौन सम्बन्धसम्बन्धी स्वास्थ्य समस्या रहेको र त्यसबारे विवाहअघि नै ममतालाई जानकारी भएको पनि उनले बताए।


















