ह्वाइट हाउस नजिक तीनवटा बन्दुकसहित भेनेजुएलाका नागरिक पक्राउ
वासिङ्टन डीसी / राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने धम्की दिएको आरोपमा ह्वाइट हाउस नजिकै तीनवटा बन्दुक र दर्जनौँ गोलीसहित एक भेनेजुएलाका नागरिक पक्राउ परेका छन्।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटी (डीएचएस) का अनुसार नोभेम्बर ५ बिहीबार साँझ अमेरिकी सिक्रेट सर्भिसका अधिकारीहरूले कन्स्टिच्युसन एभिन्युमा पार्किङ गरिएको एउटा कारभित्र शङ्कास्पद गतिविधि देखेपछि चालकलाई सोधपुछ गरेका थिए।
त्यस क्रममा ती व्यक्तिले आफ्नो टाउकोभित्रबाट आवाज आएको र राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न वासिङ्टन डीसी आउन निर्देशन दिएको बताएका थिए।
अधिकारीहरूले जाँच गर्दा उक्त गाडी चोरी भएको पाइएको थियो। गाडीभित्र हतियार रहेको कुरा पनि उनले स्वीकार गरेका थिए। त्यसपछि प्रहरीले गाडीबाट तीनवटा बन्दुक र दर्जनौँ राउन्ड गोली बरामद गरेको थियो।
बरामद हतियारमा एआर–१५ शैलीको राइफल, म्याक–१० र ग्लक ४३एक्स पेस्तोल रहेका छन्।
डीएचएसले पक्राउ परेका व्यक्तिको नाम रोनी योड्रिक्स गुआनिपा क्रिनोस रहेको जनाएको छ। उनी भेनेजुएलाका नागरिक हुन्।
क्रिनोसविरुद्ध घर वा व्यवसायबाहिर राइफल बोकेको, अनुमति बिना बन्दुक ओसारपसार गरेको तीनवटा अभियोग, दर्ता नगरिएका तीनवटा हतियार राखेको, दर्ता नगरिएको गोलीगोठा राखेको, प्रतिबन्धित हतियार राखेको, लाइसेन्सबिना पेस्तोल बोकेको, सवारीसाधन अनधिकृत रूपमा प्रयोग गरेको, चोरी गरेको र चोरीको सामान प्राप्त गरेको लगायतका अभियोग लगाइएको छ।
पक्राउपछि अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले उनीविरुद्ध अमेरिकी मार्शल सर्भिसमा हिरासतसम्बन्धी अनुरोध (डिटेनर) दर्ता गरेको छ। उनी हाल अमेरिकी मार्शल सर्भिसको हिरासतमा छन्।
होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनले सिक्रेट सर्भिसका अधिकारीहरूको सतर्कताका कारण कुनै क्षति हुनुअघि नै उनलाई पक्राउ गर्न सम्भव भएको बताएका छन्।
उनले भनेका छन्, “ह्वाइट हाउस नजिकै आफ्नो गाडीमा तीनवटा बन्दुक बोकेका यी व्यक्तिलाई कसैलाई हानि पुर्याउनुअघि नै पक्राउ गरिएको छ।”
मुलिनले क्रिनोस भेनेजुएलाका नागरिक भएको र अमेरिकामा बस्न पाउने कानुनी आधार नभएको दाबी गर्दै सिक्रेट सर्भिसका अधिकारीहरूको कामको प्रशंसा गरेका छन्।
सिक्रेट सर्भिसका निर्देशक सन करनले घटनालाई राष्ट्रपति तथा अन्य संरक्षित व्यक्तिहरूका लागि तत्काल खतरा उत्पन्न हुन सक्ने अवस्थाका रूपमा व्याख्या गरेका छन्। उनले पछिल्लो समय हतियारसहित ह्वाइट हाउस परिसर आसपास पुग्ने व्यक्तिहरूको सङ्ख्या र सुरक्षासम्बन्धी धम्कीका घटनामा वृद्धि भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
डीएचएसका अनुसार क्रिनोस सन् २०२४ मार्चमा टेक्सासको बाटो हुँदै अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए। त्यस क्रममा अमेरिकी बोर्डर पेट्रोलले उनलाई पक्राउ गरेको थियो। तर तत्कालीन राष्ट्रपति जो बाइडेनको प्रशासनले उनलाई हिरासतबाट रिहा गरी अमेरिकामै बस्न दिएको डीएचएसको दाबी छ।


















